बैंकर्स संघद्वारा सम्मान कार्यक्रम

काठमाडौं — नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर राणा सम्मानित भएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैकर्स संघले राणालाई सम्मानित गरेको हो । ३१ औं वार्षिक साधारणसभाको अवसरमा बिहीबार आयोजित कार्यक्रममा संघले राणालाई सम्मान गरेको हो ।

वित्तीय क्षेत्रको विकास तथा विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै राणालाई सम्मान गरिएको हो । 
राणा संस्थापक गभर्नरका साथै नेपालका पहिलो अर्थ सचिव पनि हुन् । उनी करिब ६ दशकदेखि कुनै न कुनै रूपमा वित्तीय क्षेत्रसँग आबद्ध छन् । संघले गत वर्षदेखि वार्षिक रूपमा वित्तीय क्षेत्रमा योगदान पुर्‍याउने एकजनालाई सम्मान गर्दै आएको छ । 
साधारणसभाले संघको कार्यकारी सदस्यमा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याललाई चयन गरेको छ । कार्यकारी सदस्यमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था रहेकाले सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले उक्त पद छोडेका छन् । त्यही पदमा अर्याल निर्विरोध चुनिएका हुन् । 
संघले एक उपाध्यक्ष पद खारेज गरेको छ । यसअघि दुई उपाध्याक्ष रहने व्यवस्था थियो । यसअघि उपाध्यक्ष रहेका सिभिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत किशोर महर्जन बैंकबाट बाहिरिएपछि उक्त पद खाली थियो । विधानअनुसार उक्त साधारणसभाबाट उक्त पद पूर्ति गर्नुपथ्र्यो । तर, खाली पदमा कसैको पनि उम्मेदवारी नआएपछि एक उपाध्यक्ष पद खारेज गरिएको संघले जनाएको छ । 
संघले हरेक वर्ष निर्वाचन गर्दै आएको छ । जसमध्ये एक वर्ष अध्यक्ष र अर्को वर्ष उपाध्यक्षसहित सदस्यहरूको निर्वाचन हुन्छ । गत वर्ष अध्यक्षको निर्वाचन भएकाले यो वर्ष उपाध्यक्ष र सदस्यहरूको चुनाव गर्नुपर्ने थियो । विधानअनुसार एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न पाइँदैन । यसकारण कार्यकारी सदस्य दाहाल बाहिरिएका हुन् ।
संघमा निर्वाचित व्यक्ति सम्बन्धित बैंकको प्रतिनिधिका रूपमा रहन्छ । अर्को बैंकमा गएको अवस्थामा उक्त पद छोड्नुपर्छ । हालका अध्यक्ष अनीलकेशरी शाह मेगा बैंकबाट चुनिएका हुन् । उनी आउँदो पुस १७ देखि सेन्चुरी कमर्सियल बैंकमा जाँदै छन् । शाहले मेगा छोडेपछि अध्यक्ष पद खाली हुनेछ । उक्त पद खाली भएपछि विशेष साधारणसभा बोलाइने र त्यहीँबाटै नयाँ अध्यक्ष नियुक्त गरिने संघले जनाएको छ ।

 

प्रकाशित : मंसिर १६, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?