कसले गराइरहेछ विस्फोट ?

जनकराज सापकोटा

काठमाडौं — प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचन हुने राजधानीलगायत विभिन्न जिल्लामा पटक–पटक विस्फोट भइरहँदा पनि सरकार (गृह मन्त्रालय) ले घटना कसले गराइरहेछ भनेर बताउन सकेको छैन ।

कसले गराइरहेछ विस्फोट ?

विस्फोट र बम रहेको हल्ला फैलाउने समूहलाई ‘निर्वाचनविरोधी तत्त्व’ का रूपमा परिभाषित गरे पनि त्यस्तो तत्त्व को हो र कसले सन्त्रास फैलाइरहेछ भनेर आधिकारिक धारणा सार्वजनिक गरिएको छैन ।
शनिबार गृह मन्त्रालयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित केन्द्रीय कमान्ड पोस्टको बैठक बस्यो । बैठकलगत्तै गृह प्रवक्ता नारायण शर्मा दुवाडीले विस्फोट गराउने समूहको पहिचान भइसकेको बताए पनि त्यस्तो समूहबारे खुलासा गरेनन् । ‘कुन समूहले, कुन झन्डा र ब्यानरमा विस्फोटलगायत गतिविधि गर्‍यो भन्दा पनि कसले गर्‍यो भन्ने महत्त्वपूर्ण कुरा हो,’ उनले भने ।
उच्च सुरक्षा अधिकारीका अनुसार गृहले विस्फोटका घटनालाई सामूहिक कामको उपजभन्दा पनि व्यक्ति केन्द्रित घटनाका रूपमा हेर्न सुरक्षा निकायलाई सुझाइरहेको छ । ती अधिकारीले विप्लव माओवादीलाई हेर्ने गृहको स्पष्ट नीतिको अभावमा विस्फोटका घटना भइरहेको बताए । गृहको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढीस्थित विमानस्थलमा शनिबार पत्रकार सम्मेलनमा बोल्दै ‘निर्वाचन केन्द्रित अराजक तत्त्व’ ले देशका विभिन्न स्थानमा गराइरहेका विस्फोटका घटना निन्दनीय रहेको बताए । 
प्रधानमन्त्रीले पनि विस्फोटका घटनामा विप्लव माओवादीको संलग्नताबारे केही बोलेनन् । उच्च सुरक्षा अधिकारीका अनुसार बैठकमा विप्लव माओवादीका ठूला नेता कहाँ छन् भन्नेबारे पनि प्रसंग उठेको थियो । 
स्रोतका अनुसार त्यस्तो प्रसंगमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले विप्लवका नेता भूमिगत भएको 
बताएका थिए । घटनाबारे विप्लव नेतृत्वले जिम्मा नलिएसम्म उक्त पार्टीलाई मुछ्ने तयारीमा गृह 
मन्त्रालय देखिन्न ।
विप्लव नेतृत्वको नेकपा माओवादीले एकपछि अर्को विस्फोटका घटना गराइरहेको बारे सुरक्षा निकाय जानकार नभएको होइन । तर प्रधानमन्त्रीको नेतृत्वमा रहेको गृहले विप्लव माओवादीलाई कसरी हेर्ने भन्नेबारे सुरक्षा निकायलाई कुनै निर्देशन दिएको छैन । गृह (प्रधान) मन्त्रीको प्रत्यक्ष नीति र निर्देशन अभाव मन्त्रालयले खप्नुपरेको प्रमाणका रूपमा शृंखलाबद्ध विस्फोटका घटनापछि पनि मन्त्रालयको कार्यशैलीमा कुनै बदलाब नआउनुको तथ्यलाई अघि सार्छन् । मन्त्रालयमा सुरक्षा समिति र केन्द्रीय कमान्ड पोस्टको निरन्तर बैठक बसी रहेछ, तर त्यस्ता बैठकले घटनाको समीक्षाबाहेक कुनै नयाँ रणनीति तय गर्न सकेको देखिँदैन ।
शनिबारको बैठकपछि गृह प्रवक्ता दुवाडीले निर्वाचनविरोधी गतिविधि नियन्त्रण गर्न कडा सुरक्षा प्रबन्ध गरिएको दाबी गरे । गृह सचिव मोहनकृष्ण सापकोटाले पनि साताअघिको पत्रकार सम्मेलनमा दुवाडीले जस्तै सुरक्षा व्यवस्था कडा पारिएको दाबी गरेका थिए । गृह सचिवको त्यस्तो दाबीलगत्तै एक सातामा करिब दुई दर्जन विस्फोट भइसकेका छन् । दाङमा प्रधानमन्त्री शेरबहादुर देउवा लक्षित विस्फोटमा एक म्यादी प्रहरीको मृत्युपछि पनि गृहले सुरक्षा कडा पारिएको शब्दावली समेटेर गत बुधबार विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा समेत निर्वाचनविरोधी आपराधिक गतिवधि भन्ने शब्द प्रयोग गरिए पनि त्यस्तो गतिविधि गर्ने को थिए र कसको निर्देशनमा भइरहेको छ भन्नेबारे केही उल्लेख गरिएन । 
प्रहरीले लगातारजसो विप्लव माओवादीले घटना गराएको बताइरहँदा पनि गृहले यसबारे मुख खोलेको छैन । नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल विस्फोटका घटना कसले र किन घटाइरहेको छ भन्नेबारे सरकारको प्रस्ट धारणाको खाँचो देख्छन् । ‘गृहले प्रस्ट धारणा सार्वजनिक नगर्दा सुरक्षा निकायलाई आवश्यक कारबाही गर्न अप्ठ्यारो पर्न सक्छ,’ उनले भने, ‘यतिका धेरै विस्फोट हुँदा पनि मन्त्रालयले भन्न हिचकिचाइरहेको छ ।’
एकपछि अर्को विस्फोट भइरहँदा पनि संलग्नको पहिचान र पक्राउ गर्न सुरक्षा निकाय चुकिरहेको छ । शुक्रबार साँझ कुपन्डोल क्षेत्रमा भएको विस्फोट कस्तो प्रकृतिको थियो र त्यसमा संलग्न को थियो भन्नेबारे प्रहरीसँग कुनै स्पष्ट सूचना छैन । प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी गणेश ऐरका अनुसार कस्तो प्रकृतिको विस्फोट भन्नेबारे केही यकिन गर्न सकिएको छैन । एसएसपी ऐर घटनामा संलग्नबारे केही सुराकी नमिले पनि विस्फोट विप्लव माओवादीले नै गरेको हुन सक्ने बताउन भने चुक्दैनन् ।
शुक्रबार राति बूढानीलकण्ठस्थित प्रधानमन्त्री निवासकै कम्पाउन्ड बाहिर भएको प्रेसरकुकर बम विस्फोटको घटनामा संलग्नताबारे पनि प्रहरी प्रशासन ‘अनभिज्ञ’ छ । घटनाको चौबिस घण्टासम्म पनि प्रहरीले प्रेसरकुकर कसले राखेको थियो भन्नेबारे मेसो पाउन सकेको छैन । सशस्त्र प्रहरीका १५ जनाको चौबिसै घण्टा सुरक्षा रहने क्षेत्रमा भएको विस्फोट कसले गरायो भन्नेबारे प्रहरीसँग ‘अज्ञात समूहले’ भन्नेबाहेक उत्तर छैन । महाराजगन्ज प्रहरी वृत्तका डीएसपी योगेन्द्र थापाले घटनासँग सम्बन्धित कोही पक्राउ नपरेको बताए । ‘कसले गरायो भन्नेबारे यकिन भन्न सकिने अवस्था छैन,’ उनको जवाफ थियो ।

‘भाडाका मान्छे परिचालन’
स्रोतका अनुसार प्रहरीले विप्लव माओवादीका सक्रिय कार्यकर्ता समात्ने र निगरानी बढाउने गरेपछि ‘भाडाका मान्छेहरू’ परिचालन गरेर विस्फोटका घटना गराउन थालिएको छ । गृहमा शनिबार बसेको बैठकमा पनि यसबारे कुरा उठेको थियो । सुरक्षा निकायले निगरानी बढाएपछि विप्लव माओवादीले केही रकम दिएर भाडाका मान्छेलाई विस्फोट गराउने र त्रास फैलाउने काममा प्रयोग गरिरहेको सूचना प्रहरीले पाएको छ । तर संलग्नलाई पक्राउ गर्न सकेको छैन । 
विप्लव माओवादीलाई राजनीतिक शक्तिका रूपमा हेर्ने कि विद्रोही शक्तिका रूपमा हेर्ने भन्ने अन्योलका बीच नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले निर्वाचन सुरक्षालाई निरन्तरता दिइरहेका छन् । विप्लव माओवादीका केन्द्रीयस्तरका नेताहरू पक्राउ गर्न सकियो भने विस्फोटका घटनामा कमी हुने प्रहरीले आकलन गरे पनि गृहबाट स्पष्ट निर्देशन आउन नसक्दा उक्त रणनीति अघि बढ्न सकेको छैन । ‘गृहमन्त्रीको अभावमा सुरक्षा समितिको बैठकले विद्यमान सुरक्षा रणनीति फेरबदल गर्ने वा कडा सुरक्षा रणनीति अख्तियार गर्ने कामसमेत गर्न सकेको छैन,’ स्रोतले भन्यो । 
गृहले निरन्तर सुरक्षा व्यवस्था कडा पारिएको बताइरहँदा शुक्रबार राजधानी शृंखलाबद्ध विस्फोट र बम रहेको हल्लाले त्रसित बन्यो । यस्तो क्रम शनिबार पनि राजधानीलगायत देशका कैयौं जिल्लामा जारी रह्यो । शनिबार भक्तपुरको मध्यपुरथिमि नगरपालिका ४ मा बम भेटिएको हल्लाले घण्टौंसम्म वातावरण त्रस्त रह्यो । खतरा लेखेर राखिएको शंकास्पद पोकोभित्र बम रहेको आशंका गरिएको थियो, जसलाई नेपाली सेनाले चार घण्टा लगाएर डिस्पोज गरेको थियो । 
त्यस्तै ललितपुरको चापागाउँको प्याङगाउँमा पनि बम रहेको हल्ला चल्यो । पूर्वडीआईजी हेमन्त मल्लले परम्परागत हिसाबकै सुरक्षा नीतिलाई अख्तियार गरिरहँदा समस्या देखिएको बताए ।

प्रकाशित : मंसिर १७, २०७४ ०६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?