कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘प्रधानमन्त्री फेरि मै हुन्छु’

कञ्चनपुर — प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आउँदो चुनावमा आफ्नो पार्टीले जित्ने र फेरि आफैं प्रधानमन्त्री बन्ने बताएका छन् । यसअघि कांग्रेस महामन्त्री शशांक कोइरालाले चुनावपछि आफू प्रधानमन्त्री बन्ने दाबी गरेका थिए ।

 ‘प्रधानमन्त्री फेरि मै हुन्छु’


‘कांग्रेसले जिते फेरि प्रधानमन्त्री मै हुन्छु,’ शनिबार महेन्द्रनगरमा चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘यस ठाउँका लागि मैले गर्छु कि पूर्वका केपी ओली वा प्रचण्डले गर्लान् ? त्यसकारण यहाँका जनताले कांग्रेसलाई जिताउनु आवश्यक छ ।’
अहिलेको निर्वाचन लोकतान्त्रिक वा एकदलीय व्यवस्थाबीचको जनमतसंग्रह जस्तै भएको पनि उनले उल्लेख गरे । कम्युनिस्टहरू एकजुट भई आएकाले लोकतन्त्रमाथि खतरा भएको भन्दै आएका देउवाले उक्त कुरा यहाँ पनि दोहोर्‍याए । ‘वाम गठबन्धनले संविधान संशोधन गरेर राष्ट्रपति पद्धति ल्याउने र त्यसपछि कम्युनिस्ट शासन चलाउने भनिरहेको छ,’ उनले भने, ‘संविधान संशोधन गर्नु भनेको एकदलीय शासन ल्याउने तयारी हो ।’
एमाले अध्यक्ष ओलीले अहिले पनि चुनाव सरेको मात्रै देखिरहेको भन्दै उनले व्यंग्य गरे । ‘ओलीजी २१ गतेपछि पनि चुनाव सरेको देख्नुहुन्छ,’ देउवाले भने, ‘उहाँका लागि चुनाव सर्‍यासर्‍यै देखिन्छ ।’
कञ्चनपुर क्षेत्र नम्बर १ को बेलौरी र क्षेत्र २ को झलारीमा चुनावी सभालाई सम्बोधनपछि क्षेत्र ३ को महेन्द्रनगर पुगेका देउवाले लोकतन्त्र बलियो बनाउन र समावेशी संविधान जोगाउन कांग्रेसलाई जिताउनुपर्ने बताए ।
उनले आफू यही क्षेत्रको भएकाले पनि मतदाताले जिताए यस ठाउँको विकास गर्ने उल्लेख गरे । महाकालीमा हालै शिलान्यास भएको पक्की पुलको काम समयमै सक्ने र दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गरिने दाबी गरे । यसका साथै ब्रह्मदेवदेखि तिंकरसम्मको सडक महाकाली करिडोर निर्माण गरेर कञ्चनपुरलाई त्रिदेशीय नाकाका रूपमा विकास गरिने बताए । ‘महाकाली करिडोरमार्फत भारत र तिब्बतलाई जोडिनेछ,’ उनले भने, ‘मानसरोवर जाने यात्रीका लागि पनि उक्त बाटो सबैभन्दा छोटो पर्छ ।’
विगतमा पनि कांग्रेसले यस क्षेत्रको विकासका लागि थुप्रै काम गरेको र फेरि पनि थप योजना ल्याउने आश्वासन उनले दिए । ‘पञ्चेश्वर र पश्चिम सेतीको काम अगाडि बढेको छ,’ उनले भने, ‘यी दुई योजना बने प्रदेश ७ देशकै समृद्ध प्रदेश बन्छ ।’ उनले हालै पश्चिम सेती निर्माणका लागि चिनियाँ कम्पनीसँग सम्झौता भइसकेको बताए । यसैगरी भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पञ्चेश्वर र दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको सहमति भएको बताए ।
‘महाकालीको पानी बाँडफाँडको विषय पनि टुंगो लाग्ने चरणमा छ,’ देउवाले भने, ‘अबको ५ वर्षभित्र पञ्चेश्वर र पश्चिम सेती निर्माणको काम सम्पन्न गर्छ‘ ।’ उनले पश्चिमकै छोरो भएकाले यहाँका मतदाताको साथ र सहयोग पाउने आशा व्यक्त गरे ।
यसका साथै लामो समयदेखि बन्द रहेका मझगाउँ विमानस्थल सञ्चालन, महाकाली अञ्चल अस्पतालको स्तरोन्नतिलगायत काम पनि चाँडै गरिने उनले बताए । यस क्षेत्रको बेरोजगारी समस्या समाधानका लागि प्राविधिक शिक्षामा जोड दिइने उनले बताए । ‘कांग्रेसले जितेमा सामाजिक सुरक्षा भत्ता दोब्बर गरिनेछ,’ उनले भने, ‘बेरोजगारी भत्ताको पनि व्यवस्था गरिनेछ ।’ चुनावी सभालाई कञ्चनपुर ३ का उम्मेदवार रमेश लेखक, केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित : मंसिर १७, २०७४ ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?