आयोगले देशव्यापी अनुगमन गर्ने

काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले दोस्रो चरणको निर्वाचनको देशव्यापी अनुगमन गर्न रणनीति तयार पारेको छ । त्यसका लागि ४५ वटै जिल्लामा अनुगमन टोली पठाइसकिएको आयोगले जनाएको छ । आयोगले बुधबार तीनवटै सुरक्षा निकायका प्रमुख र गृह सचिव मोहनकृष्ण सापकोटालाई कार्यालयमा बोलाएर निर्वाचन सुरक्षास्थितिबारे जानकारी लिएको थियो ।

‘उहाँहरूले सुरक्षाको उचित प्रबन्ध भएको र निर्वाचन बिथोल्ने कुनै गतिविधि देखेको, खबर पाउनेबित्तिकै सीडीओको मातहतमा टोली परिचालन गर्ने रणनीति भएको हामीलाई बताउनुभयो,’ आयोगका सदस्य प्रकाश वस्तीले भने । आयोगले अनुगमनमा खटिएका आफ्ना सयभन्दा बढी कर्मचारी र अन्य देशी/विदेशी पर्यवेक्षकको सुरक्षाको चिन्ता सुरक्षा निकायका प्रमुखहरूसँग राखेका थिए ।
‘पछिल्ला गतिविधिले अनुगमनमा जानेहरूको सुरक्षाको सवाल उठाएको छ र त्यसबारे आयोग सुरक्षा निकायबाट प्रस्ट रूपमा जवाफ चाहन्छ,’ सर्वाेच्च अदालतका पूर्वन्यायाधीशसमेत रहेका वस्तीले भने, ‘सुरक्षा संयन्त्र पूर्ण रूपमा निर्वाचनका लागि परिचालित भएको र पर्यवेक्षकहरू यसका लागि निर्धक्क भएर हिँड्न सक्ने अवस्था भएको उहाँहरूको विश्लेषण छ ।’ आयोगले निर्वाचनका बेला कर्मचारीले निष्पक्षतासाथ काम गरे/नगरेको पनि अनुगमन गर्नेछ । आयोगले हेल्प डेस्क स्थापना गरी देशी/विदेशी सबै अनुगमनकर्तासँग समन्वय गर्ने र सूचनाको आदानप्रदान गर्ने नीति पनि तय गरेको वस्तीले बताए । निर्वाचन अनुगमनमा युरोपियन युनियन, कार्टर सेन्टर र कूटनीतिक नियोगका अधिकारी पनि स्वतन्त्र रूपले परिचालित हुनेछन् ।

प्रकाशित : मंसिर २१, २०७४ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?