मतदान गर्न एक रात बास

डडेलधुरा — परशुराम नगरपालिका–७ मलास बतासेका विनोद बोहराको परिवार बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न बुधबार साँझै आफ्नो वडाको मतदान केन्द्र रहेको सादनी गाउँ आइपुगेको छ । बोहरा परिवारसँगै बतासे गाउँका अधिकांश मतदाता बुधबारै सादनी गाउँ आइपुगेर बास बसेका छन् ।

‘केही पुरुष मतदाता भोलि बिहानै आउँछन् होला,’ बोहराले भने, ‘महिला र बूढापाका सबै आजै आइसकेका छन् ।’ उनले मतदानकै दिन बिहान आउने मतदाता मतदान गरेर त्यही दिन फर्कन मुस्किल पर्ने पनि सुनाए । उनका अनुसार मतदान केन्द्र रहेको स्थलबाट बतासे गाउँ पुग्न करिब ७ घण्टा लाग्छ । उक्त क्षेत्रबाट बरु कञ्चनपुरको महेन्द्रनगर २ घण्टामै पुग्न सकिन्छ ।

नगरपालिकाको ७ नम्बर वडाको एउटा बतासे गाउँ मात्र होइन, एक दर्जनभन्दा बढी गाउँ विकट छन् । वडाध्यक्ष केशवसिंह बोहराका अनुसार मलास, बड्डिमलास, कसान, पीपलकोट, तालीगाडा, भुमिथाला, जामिरगाड, बस्नौटा र ददिगैरका मतदाता भोट हाल्न बास बस्ने गरी एक दिन पहिल्यै आउने गरेका छन् ।

‘यी गाउँका बासिन्दालाई मतदान गर्न मात्रै होइन, अन्य सेवासुविधाका लागि समेत वडा सदरमुकाम आएर फर्कन बास बस्नैपर्छ,’ बोहराले भने, ‘नगरपालिकाको सदरमुकाम जोगबुढा आउनुपर्दा त कम्तीमा ३ दिन खर्च हुन्छ ।’ मतदानका लागि अघिल्लो दिनको साँझ पुग्ने मतदाताहरू आफन्तको घरमा बास बसेका छन् । बोहराका अनुसार बतासेमा मात्रै अढाई सय मतदाता छन् ।

‘भोट हाल्न ६/७ घण्टा पैदल हिँडेर आउँछौं, चुनावपछि गाउँठाउँको विकास होला भनेर,’ बड्डिमलासका धनबहादुर धामीले भने, ‘तर हाम्रा दु:ख जसाका तसै रहन्छन् ।’ खानेपानी र बाटोघाटोलगायत विभिन्न योजना पुर्‍याउने नेताका प्रतिबद्धता विश्वास गरी बास बसेर भोट हाल्न आएको कसानका हरिलाल धामीले बताए ।

परशुराम नगरपालिका–८ को साइसन र घुम्तेगडाका बासिन्दाले पनि मतदानका लागि कम्तीमा ५/७ घण्टा हिँड्नुपर्छ । वडा नम्बर ११ का सिमलबन्डा, पलकाडी, पेउलीबन्दा, सुवाखान र पातलीका मतदाता पनि बुधबारै वडा सदरमुकाम वरपरका गाउँ आइपुगेका छन् ।

प्रकाशित : मंसिर २१, २०७४ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?