कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिभरपुल दोस्रो चरणमा

च्याम्पियन्स लिग
एएफपी

पेरिस — फिलिप कोउटिन्होको ह्याट्रिकसँगै लिभरपुलले स्पार्टाक मस्कोलाई पराजित गर्दै च्याम्पियन्स लिग फुटबलको दोस्रो चरण सुरक्षित गरेको छ । बुधबारको खेलमा ७–० को जित पाएको लिभरपुलसँगै सेभिया, साख्तर डोनेस्क र एफसी पोर्टोले पनि अन्तिम १६ मा स्थान बनाए ।


फर्ममा रहेको लिभरपुल च्याम्पियन्स लिगमा दोस्रोपल्ट ७–० को जित दर्ता गर्दै समूहको शीर्षस्थानमा रहँदै दोस्रो चरण पुग्यो । योर्गन क्लोपको टोलीले १९ मिनेटभित्रै ३–० को अग्रता बनाएको थियो । उसका लागि आक्रमणमा खेल्ने चारै खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । कोउटिन्होले ह्याट्रिक प्रहार गर्दा साडियो मानेले दुई तथा मोहमद सलाह र रोबर्टो फिर्मिनोले १–१ गोल गरे ।
नौ वर्षपछि अन्तिम १६ मा स्थान बनाएको लिभरपुलका प्रशिक्षक क्लोपले टोलीको प्रदर्शनबाट निकै खुसी रहेको बताए । लिभरपुल छनोट भएसँगै च्याम्पियन्स लिगको अन्तिम १६ मा पहिलोपल्ट पाँच टोलीको सहभागिता रहने पक्का भएको छ । यद्यपि यी टोलीले अन्तिम १६ को खेलमा एक आपसमा भिड्नुपर्ने छैन ।
स्पार्टाकको पराजयले सेभियाको दोस्रो चरणको ढोका खुल्यो । अन्तिम चरणमा मारिबोरसँग १–१ को बराबरी खेले पनि उसले अन्तिम १६ मा स्थान बनायो । मारिबोरले कप्तान मार्कोस टाभारेसको गोलमा अग्रता लिए पनि वैकल्पिक खेलाडी पाउलो हेनिरके गान्सोले सेभियाका लागि बराबरी गोल फर्काए । स्पार्टाकले युरोपा लिग खेल्नेछ ।
म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गर्दै साख्तरले समूह ‘एफ’ को उपविजेता बन्यो । घरेलु मैदानमा युक्रेनी टोलीका लागि बर्नार्डले अग्रता दिलाए । गोलरक्षक एडरसनको गल्तीको फाइदा उठाउँदै स्मायलीले अग्रता दोब्बर पारे । सर्जियो अगुइरोले खेलको अन्तिम मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए पनि सिटीले सिजनको पहिलो हार टार्न सकेन । समूहको अर्को खेलमा नेपोलीले अग्रता लिए पनि फेयेनुर्डलाई नतिजा सुम्पियो । घरेलु लिगमा राम्रो प्रदर्शन गरेको नेपालीका लागि च्याम्पियन्स लिग भने बिर्सनलायक रह्यो । पिटोर जिलेन्स्कीको गोलमा अगाडि बढेको नेपोलीलाई निकोलाई जोर्गेन्सनले बराबरीमा ल्याए । फेयेनुर्डका जेरेमी जुस्तेले खेलको अन्त्यतिर गोल गर्दै टोलीलाई २–१ को जित दिलाए । सिटी र साख्तर क्रमश: समूह विजेता र उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरे । नेपोलीले तेस्रो स्थानमा रहँदै युरोपा लिगको अन्तिम ३२ मा स्थान बनायो । 
समूह ‘जी’ मा दुईपल्टको विजेता पोर्टोले मोनाकोलाई ५–२ ले हराएर अन्तिम १६ मा स्थान बनायो । पोर्चुगिज क्लबको जितमा भिन्सेन्ट अबुबकारले दुई तथा यासिन ब्राहिमी, एलेक्स टेल्लेस र फ्रान्सिस्को सोआरेसले १–१ गोल गरे । मोनाकोका कामिल जिल्क र राडामेल फाल्काओले गोल गरे । पहिलो हाफमा भनाभन गरेपछि रेफ्रीले पोर्टोका फिलिपे र मोनाकोका घेज्जाललाई रातो कार्ड देखाए । जर्मन क्लब आरबी लाइप्जिग तेस्रो स्थानमा रहँदै युरोपा लिगमा झर्‍यो । समूह विजेता बेसिक्टासले लाइप्जिगलाई २–१ ले हरायो । अल्भारो नेग्रेडोले दिलाएको अग्रता लाइप्जिगका नाबी केइटाले बराबरी गरेका थिए । अन्तिम मिनेटमा टालिस्काले विजयी गोल गरेपछि बेसिक्टास अपराजित रह्यो ।
रियल म्याड्रिडले समूह ‘एच’ मा बोरुसिया डर्टमन्डलाई ३–२ ले पराजित गर्‍यो । बोर्जा मायोरालको गोलमा अगाडि बढेको म्याड्रिडका लागि क्रिस्टियानो रोनाल्डोले अग्रता दोब्बर पारे । पिएर–एमेरिक औबामेयाङले लगातार दुई गोल गर्दै खेल बराबरीमा ल्याए । लुकास भाज्केजले खेलको अन्तिम समयमा गोल गरेपछि रियलले जित पक्का गर्‍यो । तेस्रो स्थानको डर्टमन्डले युरोपा लिगको अन्तिम ३२ मा खेल्नेछ । समूहको अर्को खेलमा टोटेनहम हट्स्परले एपोइएललाई ३–० ले हरायो । उसको जितमा फर्नान्डो लोरेन्टे, सन ह्युङ–मिन र जर्जेस–केभिन एन’कुडुले गोल गरेका थिए ।


रोनाल्डोको कीर्तिमान
रियल म्याड्रिडले बुधबार बोरुसिया डर्टमन्डलाई ३–२ ले पराजित गर्ने क्रममा रोनाल्डोले टोलीको दोस्रो गोल गरे । यो उनको जारी प्रतियोगिताको नवौं गोल थियो । यसक्रममा रोनाल्डो च्याम्पियन्स लिगको समूह चरणका सबै ६ खेलमा गोल गर्ने पहिलो खेलाडी बने । यस दुर्लभ कीर्तिमानसँगै उनले च्याम्पियन्स लिगको समूह चरणमा सर्वाधिक ६० गोल गरेका बार्सिलोनाका लियोनल मेसीको कीर्तिमान पनि बराबरी गरे ।

प्रकाशित : मंसिर २२, २०७४ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?