गोरखामा भट्टराईको ‘ह्याट्रिक’

‘संविधान कार्यान्वयन र अपूर्ण कामलाई पूर्णता दिन्छु’
सुदीप कैनी

गोरखा — पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई ६ हजार ८ सय ७४ मतान्तरसहित गोरखा २ बाट विजयी भएका छन् ।

गोरखामा भट्टराईको ‘ह्याट्रिक’

उनले ३१ हजार ८ सय ७ मत पाएका हुन् । प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार माओवादी नेता नारायणकाजी श्रेष्ठले २४ हजार ९ सय ३३ मत प्राप्त गरे । भट्टराईले पूर्वसहयोद्धा श्रेष्ठविरुद्ध गोरखाबाट ह्याट्रिक गरेका हुन् । यसअघि उनी ०६४ सालको संविधानसभा निर्वाचनमा क्षेत्र २ र ०७० मा क्षेत्र १ बाट विजयी भएका थिए । 
 विजयलगत्तै उनी मतदाता भेटघाट र विजय जुलुसका लागि गोरखा आइपुगेका छन् । ‘तेस्रोपटक गोरखाबाट विजयी हुन पाउँदा गौरवान्वित भएको छु,’ उनले भने, ‘संविधान कार्यान्वयन र अपूर्ण कामलाई पूर्णता दिन्छु ।’ 
जनताको मत लिएर सधैं जनताको सेवक हुने उनको भनाइ थियो । क्षेत्र २ मा ६० हजार १ सय १७ मत खसेको थियो । त्यसमध्ये २ हजार ६ सय ३८ मत बदर भएको निर्वाचन अधिकृत एकनारायण लम्सालले बताए । पूर्वसहयोद्धाबीच चुनावी प्रतिस्पर्धाले निर्वाचन र मतगणना प्रक्रिया रोचक बनेको थियो । कडा प्रतिस्पर्धा हुने पूर्वअनुमान गरिए पनि भट्टराईले फराकिलो मतान्तरले विजयी हासिल गरेका हुन् । उनी कांग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार थिए ।
क्षेत्र २ को प्रदेश (क) र (ख) मा क्रमश: नयाँ शक्तिका हरिशरण आचार्य र कांग्रेसका प्रकाशचन्द्र दवाडी विजयी भएका छन् । 
आचार्यले १५ हजार ३ सय ४३ मत पाए भने प्रतिद्वन्द्वी कमला नहर्कीले १२ हजार ६५ मत प्राप्त गरिन् । 
दवाडीले १५ हजार ८ सय ५३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी उम्मेदवार अमर तमुले १३ हजार ४ सय ११ मत प्राप्त गरेका छन् । 

 

गोरखा १ मा वाम गठबन्धन
गोरखा १ मा माओवादीका हरिराज अधिकारी विजयी भएका छन् । ३ हजार २ सय १७ मतान्तरसहित उनी विजयी भएका हुन् । उनले २९ हजार ८ सय ६० मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार चीनकाजी श्रेष्ठले २६ हजार ६ सय ४३ मत प्राप्त गरे । ६३ हजार ६ सय १९ मत खसेकामा ४ हजार ३ सय ३५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
स्नातक गरेका ४९ वर्षीय अधिकारी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठलाई नयाँ शक्तिसहित लोकतान्त्रिक गठबन्धनले सघाएको थियो । 
माओवादी केन्द्रका प्रदेश ४ इन्चार्ज उनको गण्डकी गाउँपालिका दर्बुङ जन्मथलो हो । उनी खरो र प्रस्ट वक्ताका रूपमा परिचित छन् । त्यस्तै क्षेत्र १ को प्रदेश (क) र (ख) प्रदेशमा वाम गठबन्धनका उम्मेदवार लेखबहादुर थापा र रामशरण बस्नेत विजयी भएका छन् । थापाले १६ हजार ५ सय ५८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी धीरन थापाले १४ हजार १९ मत पाए । 
माओवादी जिल्ला अध्यक्षसमेत रहेका ४२ वर्षीय थापा गोरखा नगरपालिका ताप्ले निवासी हुन् । प्रदेश (ख) मा एमाले वैकल्पिक केन्द्रीय सदस्य बस्नेत विजयी भएका हुन् । उनले १६ हजार ६ सय ५६ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार राजेन्द्र बजगाईंले १३ हजार एक मत पाए । अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका उनी स्थानीय निकायको पूर्वप्रतिनिधि र एमालेको पूर्वजिल्ला अध्यक्षसमेत हुन् । उनको जन्मथलो प्रदेश (क) को गोरखा नगरपालिका नारेश्वर भए पनि (ख) बाट विजयी भएका हुन् ।

प्रकाशित : मंसिर २४, २०७४ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?