१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रत्यक्षको सबै परिणाम, समानुपातिक जारी

राजेश मिश्र

काठमाडौं — प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको सबै परिणाम आइसक्दा दुवै सभामा वाम गठबन्धनको वर्चस्व कायम भएको छ । मतदान भएको ७ दिनभित्र प्रत्यक्षतर्फको सबै परिणाम आएको हो । समानुपातिकको गणना जारी छ ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभाको कुल १६५ सिटमा वाम गठबन्धनले ११८ ल्याएको छ । वाम गठबन्धनभित्रका एमालेले ८०, माओवादी केन्द्रले ३६, राष्ट्रिय जनमोर्चाले १ र राप्रपाले १ सिट ल्याएका हुन् ।
प्रत्यक्षतर्फको परिणाममा कांग्रेसको २३, राष्ट्रिय जनता पार्टीको ११ र संघीय समाजवादी फोरम नेपालको १० आएको छ । यी दुई पार्टी गठबन्धन बनाएर चुनाव लडेका थिए । दुवै पार्टीले जितेको २१ सिटमध्ये १९ सिट प्रदेश २ बाट जितेका हुन् । बाँकी २ सिटमा फोरमले १ सिट बाँकेबाट र राजपाले १ सिट कैलालीबाट जितेको हो । त्यसबाहेक नयाँ शक्ति पार्टी, नेपाल मजदुर किसान पार्टीले १/१ सिट तथा स्वतन्त्रका उम्मेदवारले १ सिट जितेका छन् ।
निर्वाचन आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले मंसिर २९ गतेभित्र समानुपातिकको पनि परिणाम आइसक्ने बताए । खसेको मतको ६० प्रतिशतभन्दा बढी मतगणना भइसकेको छ । आयोगका अनुसार देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ मत खसेको थियो । बुधबार राति १० बजेसम्ममा ६९ लाख ६० हजार ८ सय ८२ मत गणना भएको छ । जसमा सबैभन्दा बढी एमालेले २३ लाख ९३ हजार ९ सय ५१ मत ल्याएको छ । यस्तै कांग्रेसले २३ लाख ७ हजार ६ सय ३१ र माओवादी केन्द्रले ९ लाख ४२ हजार ६३ मत ल्याएका छन् । संघीय समाजवादी फोरमले ३ लाख ३७ हजार ७ सय ९४, राजपाले २ लाख ६० हजार ७ सय ३५, विवेकशील साझा पार्टीले १ लाख ५७ हजार ५५, राप्रपाले १ लाख ५६ हजार ७ सय ७, नयाँ शक्ति पार्टीले ६४ हजार ५ सय १२, राप्रपा (प्रजातान्त्रिक) ले ५७ हजार २ सय ५८ र राष्ट्रिय जनमोर्चाले ३८ हजार ७ सय ३५ मत ल्याएका छन् । र, अन्यको २ लाख ४४ हजार ४ सय ४१ मत आएको छ ।
६ वटा प्रदेशमा एमाले पहिलो पार्टी
सातवटै प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये एमालेले आधाभन्दा बढी सिटमा जित हात पारेको छ । एमाले एक्लैले १६८ सिट जितेको छ । वाम गठबन्धनको अर्को प्रमुख घटक माओवादीले ७३ सिट जितेको छ । नेपाली कांग्रेसले ४१, संघीय समाजवादी फोरम नेपालले २४, राजपाले १६, स्वतन्त्र ३, नयाँ शक्ति पार्टी नेपालले २, राष्ट्रिय जनमोर्चाले २ र नेमकिपाले १ सिट जितेको छ । प्रदेश नम्बर २ बाहेक बाँकी ६ वटै प्रदेशको प्रत्यक्षतर्फको चुनावमा एमाले नै पहिलो पार्टी बनेको छ ।
प्रत्यक्षतर्फ प्रदेश नम्बर १ को प्रदेशसभाको ५६ निर्वाचन क्षेत्रमध्ये एमालेले ३६, माओवादीले १०, कांग्रेसले ८, संघीय समाजवादी फोरमले १ र स्वतन्त्रले १ सिट जितेका छन् । प्रदेश नम्बर २ को ६४ सिटमा संघीय समाजवादी फोरमले २०, राजपाले १५, एमालेले १४, कांग्रेसले ८, माओवादीले ६ र अन्यले १ सिट जितेका छन् । प्रदेश नम्बर ३ को ६६ सिटमा एमालेले ४२, माओवादीले १५, कांग्रेसले ७, नयाँ शक्ति पार्टीले १ र नेमकिपाले १ सिट जितेका छन् ।
प्रदेश नम्बर ४ को ३६ सिटमा एमालेले १७, माओवादीले ९, कांग्रेसले ६, राष्ट्रिय जनमोर्चाले २ र नयाँ शक्ति पार्टीले १ सिट जितेका छन् । प्रदेश नम्बर ५ को ५२ सिटमा एमालेले २८, माओवादीले १४, नेपाली कांग्रेसले ७, फोरमले ३ सिट जितेका छन् । त्यस्तै २४ सिट रहेको प्रदेश नम्बर ६ मा एमालेले १४, माओवादीले ९ र कांग्रेसले १ सिट जितेको छ । प्रदेश नम्बर ७ को ३२ सिटमा एमालेले १७, माओवादीले १०, कांग्रेसले ४ र राजपाले १ सिटमा जित हात पारेको छ । प्रदेशतर्फको समानुपातिक मतको गणना पनि जारी छ ।

प्रकाशित : मंसिर २८, २०७४ ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?