१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

एउटै विद्यालयका ३ पूर्वविद्यार्थी बने सांसद

भीमबहादुर सिंह

जाजरकोट — भेरी नगरपालिका–१ कालेगाउँका शक्तिबहादुर बस्नेत त्रिभुवन मावि खलंगाका पूर्वविद्यार्थी हुन् । बस्नेतले त्यहाँबाट २०४३ का एसएलसी गरेका थिए । उनले सोही विद्यालयमा ७ वर्षसम्म अध्ययन गरे । त्रिवेणी नलगाड नगरपालिका–५ ऐरारीका गणेशप्रसाद सिंह मावि खलंगाकै पूर्वविद्यार्थी हुन् ।

एउटै विद्यालयका ३ पूर्वविद्यार्थी बने सांसद

मावि खलंगामा ६ वर्षसम्म अध्ययन गरेका सिंह २०४० का एसएलसी उत्तीर्ण हुन् । त्यस्तै शिवालय गाउँपालिका(७ भिउसका करवीर शाही पनि त्रिभुवन मावि खलंगाका पूर्वविद्यार्थी हुन् । २०४२ मा उक्त विद्यालयमा प्रवेश गरेका शाहीले २०४५ मा एसएलसी उत्तीर्ण गरेका थिए ।
मावि खलंगाका पूर्वविद्यार्थी बस्नेत, सिंह र शाहीलाई २०७४ को निर्वाचनबाट एकै पटक सांसद बन्ने संयोग नै जुट्यो । कांग्रेसका उम्मेदवारलाई पछि पार्दै वाम गठबन्धनबाट उनीहरू सांसद निर्वाचित भए । पूर्वगृहमन्त्रीसमेत रहेका बस्नेत प्रतिनिधिसभा, सिंह प्रदेशसभा ‘क’ र शाही प्रदेशसभा ‘ख’ बाट सांसद निर्वाचित बनेका हुन् । दोस्रो पटक सांसद बनेका बस्नेत माओवादी केन्द्रका स्थायी समिति सदस्य हुन् । सिंह माओवादी केन्द्रकै पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज हुन् भने शाही एमालेका जिल्ला अध्यक्ष हुन् । जाजरकोटका लागि एउटै विद्यालयका तीन पूर्वविद्यार्थी एकैसाथ सांसद निर्वाचित भएको पहिलो उदाहरण पनि हो । एउटै चुनावबाट ३ जना पूर्वविद्यार्थी सांसद निर्वाचित भएपछि विद्यालय परिवारले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । विद्यालयले नवनिर्वाचित सांसदहरूको स्वागतमा विभिन्न कार्यक्रमसहित शुक्रबार खुसियाली मनायो । खुसियालीमा विद्यालय परिवारले उनीहरूलाई फूलमाला र अबिरको भारी नै बोकाए । पूर्वविद्यार्थी देशको बागडोर समाल्न पुग्दा विद्यालयको गौरव बढेको प्रधानाध्यापक हेरम्बबहादुर शाहले बताए । प्रधानाध्यापक शाहले नवनिर्वाचित सांसदहरूलाई जिल्लाको सुशासन, विकास र समृद्धिका लागि निरन्तर अग्रसर हुन सुझाए । जाजरकोटको पछ्यौटेपन अन्त्य र समृद्धिका लागि प्रतिनिधि र प्रदेशसभा सदस्यको अहं भूमिका रहेको उनले बताए । विद्यालयमा अध्ययनका क्रममा देखाएको उत्कृष्ट क्षमतालाई जिल्लाको समृद्धि कसरी गर्ने ? भन्नेमा बदल्ने मौका आएको शाहले बताए । पूर्वगृहमन्त्री एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य बस्नेतले जाजरकोटको विकासको अभिभारा बोक्न सक्षम बनाउन मावि खलंगाको महत्त्वपूर्ण योगदान रहेको बताए । जिल्लाको समृद्धिका लागि गुणस्तरीय शिक्षाको विकास र पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बस्नेतले बताए । जाजरकोटको शिक्षा क्षेत्रको जेठो विद्यालय त्रिभुवन मावि खलंगाको चौतर्फी विकासमा अग्रसरता देखाउने उनले बताए । दक्ष जनशक्ति उत्पादनमा मावि 
खलंगा अब्बल भएको बस्नेतको भनाइ छ । 
यसैगरी प्रत्यक्ष निर्वाचनतर्फको मतपरिणाम सार्वजनिक भएको साता बितेको छ । यस अवधिमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई थाप्न भने भ्याइ नभ्याइ छ । नवनिर्वाचित सांसदलाई विद्यालय, क्याम्पस, कर्मचारी संघ(संगठन, उद्योग वाणिज्य संघ, नागरिक संगठन, स्थानीय बासिन्दा लगायतले स्वागत र बधाई तथा शुभकामना कार्यक्रममा बोलाउन थालेपछि भ्याइ नभ्याइ भएको हो । उनीहरू स्वागत, बधाई, अबिरजात्रा र विजयसभामै व्यस्त छन् । प्रतिनिधि र प्रदेससभामा निर्वाचित भएलगत्तै वाम गठबन्धनले सदरमुकाम खलंगा, थहबजार र दल्लीमा विजयसभा गरेको छ । ‘जनताले स्वागत गर्न र बधाई दिन बोलाउँदा भ्याउँदिन भन्न मिलेन,’ प्रदेशसभा सदस्य शाहीले भने, ‘भोट हाल्ने जनताले एकपटक आइदिनुपर्‍यो भनेपछि कसरी हुन्न भन्नु ?’ अबको दुई/तीन दिनमै राजधानी सुर्खेत पुगेर जनताका कामकाजमा खट्ने उनले बताए ।

 

प्रकाशित : पुस १, २०७४ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?