२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

समस्या सुल्झाउन महिलाको पहल

सामूहिक छलफल गर्न थालेपछि बस्तीका मुसहर महिलामा चेतनाको विकास
विनोद भण्डारी

विराटनगर — महानगरपालिका १९ को सिसबनी र खाप टोलको मुसहर बस्तीका ३ सय परिवार बाढीको प्रकोपपछि फर्केको तीन महिनामा पनि घर बन्न सकेको छैन । केही परिवार अझै त्रिपालमुनि गुजारा चलाइरहेका छन् ।


कतैबाट भरपर्दो सहयोग नपाएपछि आफ्नो संकट र सुरक्षाका लागि त्यहाँका महिला आफैं सक्रिय हुन थालेका हुन् । सामूहिक रूपमा बिपत्तिको असुरक्षा भोगेका उनीहरू आफ्नो सुरक्षाका लागि महिला समूह गठन गरेर समाधान खोज्ने पहलमा लागेका छन् । १ सय ५० परिवार बसोबास गर्ने सिसबनी टोलमा अगुवा महिला चमरु ऋषिदेवको अध्यक्षतामा ११ सदस्यीय महिला समूह बनेको छ । त्यति नै परिवारको बसोबास भएको उत्तरतर्फको खाप टोलमा चमेली ऋषिदेव नेतृत्वमा ९ सदस्यीय समूह सक्रिय छ ।
अलगअलग समूहका उनीहरू नारी विकास संघले तयार गरेको बेग्लाबेग्लै सामुदायिक भवनमा दिनहुँ जम्मा भई आपसी समस्याबारे छलफल गरेर समाधानका उपाय खोज्छन् । घरझगडा कसरी न्यून गर्ने, मदिरा नियन्त्रण कसरी गर्ने, विद्यालय नजाने बालबालिकालाई कसरी पठाउने, आर्थिक बचत कसरी गर्ने, गाउँको सरसफाइमा ध्यान कसरी दिने, गर्भवती र प्रसूतिको सुरक्षा जोखिम कसरी कम गर्ने भन्ने उनीहरूको छलफलका विषय हुन्छन् ।
सामूहिक छलफल गर्न थालेपछि बस्तीका मुसहर महिलामा चेतनाको विकास हुन थालेको छ । सिसबनी टोल समूहकी अध्यक्ष चमरुले भनिन्, ‘अहिले उनीहरूलाई बाढी, आगजनी र हुरीबतास आउँदा आफू र परिवार कसरी जोगिने र जोगाउने भन्नेबारे ज्ञान बढेको छ ।’
समूहमा आवद्ध ऋषिदेव महिलाका अनुसार सधैं रक्सी खाएर घर आउने श्रीमान्लाई उनीहरूले रक्सी सेवन नगर्न दबाब दिन थालेका छन् । यसपछि घरेलु झगडा कम हुन थालेको छ । यसैगरी संकट अवस्थाको जोखिमबारे बुझेपछि बालबालिकामा हुने हिंसाबारे उनीहरू सचेत छन् । घरगाउँ सफा राख्नुपर्छ र सबैले शौचालयमा दिसापिसाब गर्नुपर्छ भन्ने उनीहरूले बुझेका छन् । अधिकार कसरी माग्ने, ठूलासँग कसरी कुरा गर्ने भन्नेमात्र होइन, समूहमा आबद्ध भएपछि महिला किन एक हुनुपर्ने रहेछ र पछाडि किन परेका रहेछौं भन्ने पनि बुझ्न थालेको खाप टोलकी सतनी ऋषिदेवले बताइन् । उनको बुझाइमा समूहमा एकता भएपछि फाइदै फाइदा भएको छ ।
खाप र सिसबनी टोलमा बस्ने ऋषिदेव (मुसहर) हरू दलित समुदायका हुन् । उनीहरू सबै भूमिहीनमात्र छैनन्, शिक्षा, स्वास्थ्य, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सबैखाले अवसरबाट वञ्चित छन् । दैनिक मजदुरी गरेर जीवनयापन गर्ने उनीहरू विराटनगर सिंघिया खोलाको किनारको ऐलानी जमिनमा बसोबास गर्दै आएका छन् । झुप्रे घर बनाएर असुरक्षित बसोबास गरिरहेका उनीहरूले साउन अन्तिम साताको बाढीले बस्ती बगाएपछि बढी कष्ट भोगेका हुन् । त्यो बेला कैयौं साता भोकभोकै एउटै पालमुनि कोचिएर बस्नुपर्दा उनीहरूले धेरै असुरक्षा भोगे । खाप टोल समूहकी अध्यक्ष चमेलीले भनिन्, ‘अब त्यस्तो विपत्ति आइपर्दा आफ्नो सुरक्षा आफैं गर्न सक्षम भएका छौं ।’

 

प्रकाशित : पुस ४, २०७४ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?