३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अस्पताल निर्माणमा ढिलाइ

पर्सा — श्रमिक अस्पताल निर्माणमा ढिलाइ भएको छ । पर्सा–बारा औद्योगिक करिडोरको राजेश मेटल उद्योगको पछाडि रहेको ८ बिघा ४ कट्ठा ऐलानी जग्गामा अस्पताल निर्माणको प्रस्ताव गरिएको छ । श्रम कार्यालय वीरगन्जका प्रमुख राधेश्याम झाका अनुसार जग्गाको नाप–नक्सासहितको सर्भे गरी २ महिनाअघि नै कागजात केन्द्रमा पठाइसकिएको छ ।


यसबीचमा जितपुर–सिमरा उपमहानगरपालिकाका निर्वाचित जनप्रतिनिधि तथा अन्य सरोकारवालासँग पनि अन्तक्र्रिया गरिएको उनले बताए । केन्द्रको टोली पनि अनुगमन गरी फर्किएको छ । ‘त्यसयता अस्पतालको काम कारबाही अघि बढेको छैन,’ झाले भने, ‘चुनावकै कारण अवरुद्ध भएको रहेछ भने सम्भवत: अब कामले गति लेला ।’
यहाँस्थित मजदुर संगठनहरूले लामो समयदेखि करिडोरमा श्रमिक अस्पतालको माग गर्दै आएका छन् । करिडोरका उद्योगमा नियमितजसो साना–ठूला दुर्घटना भइरहन्छन् । समयमै उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउँछन् । करिब २५ किमि लामो करिडोरका कुनै उद्योगमा यस्तो दुर्घटना भए पीडित मजदुरलाई तत्कालै उपचारका लागि वीरगन्ज ल्याउनुपर्ने बाध्यता छ ।
श्रम मन्त्रालयले यो करिडोरमा अस्पताल स्थापना गर्ने गृहकार्य थालेको थियो । मन्त्रालयले तत्काललाई पर्सा–बारा औद्योगिक करिडोर र पूर्वमा मोरङ–सुनसरी औद्योगिक करिडोरको सुनसरीमा  अस्पताल बनाउने योजना बनाएको थियो । मन्त्रालयअन्तर्गतको राष्ट्रियस्तरको कल्याणकारी कोषमा मजदुरका लागि अस्पताल, उनीहरूका लागि चमेनागृहलगायत अन्य सुविधा उपलब्ध गराउने प्रयोजनले जम्मा गरिएको रकम १४ खर्ब पुगेको छ । 
श्रम ऐनअनुसार उद्योगहरूले आफ्नो उद्योगको मुनाफाबाट कर्मचारी र मजदुरलाई बोनस वितरण गर्न छुट्याएको रकमबाट जोगिएको रकमको ७० प्रतिशत रकम प्रतिष्ठान स्तरको कल्याणकारी कोषमा र ३० प्रतिशत रकम सरकारी कल्याणकारी कोषमा जम्मा हुन्छ । कोषको रकम हालसम्म उपयोगमा आउन नसकेको झा बताउँछन् ।

 

प्रकाशित : पुस ४, २०७४ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?