बैंक स्थापना हुँदै

भीमफेदी, बकैया, बागमती र मनहरी गाउँपालिकामा वाणिज्य बैंकहरू स्थापना भइसकेका छन्
प्रताप विष्ट

हेटौंडा — मकवानपुरका स्थानीय तहका अधिकारीले गाउँमा वित्तीय संस्थालाई पूर्ण रूपमा सुरक्षा दिन सक्ने बताएका छन् । मकवानपुरमा रहेको एक उपमहानगर, एक नगरपालिका र ८ वटै गाउँपालिकाले सुरक्षाको प्रत्याभूति दिन सक्ने बताएका हुन् ।


मुलुकको पुनर्संरचनापछि स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरू विस्तार गर्नुपर्ने सरकारको नीतिअनुसार मकवानपुरका ग्रामीण क्षेत्रमा पनि बैंकको शाखा विस्तार हुन सुरु भएको छ । मकवानपुरको भीमफेदी, बकैया, बागमती र मनहरी गाउँपालिकामा वाणिज्य बैंकहरू स्थापना भइसकेका छन् । राक्सिराङ, कैलाश र इन्द्रसरोवर गाउँपालिकामा भने वाणिज्य बैंकहरू स्थापना हुन सकेका छैनन् । ती गाउँपालिकाहरूमा वित्तीय संस्थाहरू स्थापनाका विषयमा गाउँपालिकासँग परामर्श भइरहेको बताएको छ । मकवानपुरको भीमफेदी गाउँपालिकामा साताअघि मात्रै एनआईसी एसिया बैंक स्थापना भएको छ ।
मकवानपुरको बागमती गाउँपालिका–६, फापरबारीमा ज्योति विकास बैंकले गत असोज २७ गतेबाट वित्तीय सेवा प्रदान गरिरहेको छ । ज्योति विकास बैंकको फापरबारी शाखाका प्रबन्धक विमल सञ्जेलका अनुसार बैंकले ५ जना कर्मचारीसहित सेवा प्रदान गरिरहेको छ । शाखा प्रबन्धक सञ्जेलका अनुसार बागमती गाउँपालिकामा होटल, यातायात, व्यापार र कृषिमा बैंकले लगानी गर्न सक्ने बताए । बागमती गाउँपालिकाका कार्यकारी अधिकृत राजु अर्यालका अनुसार स्थानीय तहको कारोबार गर्न नेपाल सरकारले ‘क’ वर्गको बैंकलाई तोके तापनि बैंक गाउँमा नपुग्दा अझै सदरमुकाम धाउने समस्या भएको बताए ।
मकवानपुरको बकैया गाउँपालिकामा वाणिज्य बैंकको शाखा विस्तार भइसकेको छ । बकैया गाउँपालिका–३, हात्तीसुँडेमा सेञ्चुरी बैंकले शाखा विस्तार गरेको छ । यसअघि अल्पाइन विकास बैंकको शाखाका रूपमा सेवा प्रदान गर्दै आएकोमा मंसिर २४ गतेबाट सेञ्चुरी बैंक र अल्पाइन बैंक भएर वाणिज्य बैंक बनेको छ । सेञ्चुरी विकास बैंकको बकैया शाखाका प्रबन्धक लालबहादुर महतराले हालसम्म ८ करोड रुपैयाँ ऋण लगानी गरिसकेको बताए । बकैयामा साना लगानी, सवारी साधन, व्यापार, व्यवसायका लागि ऋण प्रवाह भइरहेको छ, उनले भने । बागमती र बकैया दुबै गाउँपालिकामा विस्तार भएका बैंकमा बचतभन्दा पनि रेमिट्यान्स सेवा लिनेको संख्या उच्च रहेको छ । बकैया गाउँपालिकास्थित सेञ्चुरी बैंकका शाखा प्रबन्धक महतराका अनुसार दैनिक
७० देखि ८० जनाले रेमिट्यान्स सेवा लिने र मासिक करिब १ करोड रुपैयाँ रेमिट्यान्स
भित्रिने गरेको छ ।
मनहरी गाउँपालिकाका कार्यकारी अधिकृत किसान न्यौपानेका अनुसार मनहरी गाउँपालिकामा पनि ‘क’ वर्गको सांग्रिला विकास बैंक खुलिसकेको छ । त्यस्तै महालक्ष्मी विकास बैंक र प्रभु विकास बैंक पनि स्थापना भएका छन् । मकवानपुरगढी गाउँपालिकामा एक महिनाभित्रमा नेपाल बंगलादेश बैंकले शाखा विस्तार गर्ने तयारी गरिरहेको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत रोशन पुनका अनुसार गाउँपालिकामा बैंक अफ काठमाडौंले निरीक्षण गरे तापनि शाखा भने विस्तार गरेको छैन ।
केही समयपछि गर्ने जनाएको छ । कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानका अनुसार अरू गाउँपालिका भन्दा कैलाश गाउँपालिका विकट रहेकाले बैंक तथा वित्तीय कारोवार गर्न स्थानीयवासीलाई समस्या भएको छ । ‘बैंक आउन तयार भएमा सुरक्षा र भवनको व्यवस्था छ,’ अध्यक्ष मोक्तानले भने ।
मकवानपुरको अर्को दुर्गम राक्सिराङ गाउँपालिकामा बंैक स्थापना भएको छैन । राक्सिराङ गाउँपालिकामा मुक्तिनाथ विकास बैंकलाई अनुमति दिएको छ । गाउँपालिकाको केन्द्रमा सुरक्षाका कारणले बैंक स्थापना गर्न सकेको छैन । मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले सबै स्थानमा प्रहरीको स्थायी युनिट नभए तापनि सुरक्षा थ्रेट भएमा प्रहरीले जुनसुकै हालतमा सुरक्षा दिन तयार भएको बताए । ‘बैंक तथा वित्तीय संस्थालाई स्थानीय तहसँग समन्वय गरेर सुरक्षा दिन तयार छांै,’ उनले भने ।

प्रकाशित : पुस ५, २०७४ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?