१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हटेन हलिया पेसा

बैतडी — दशरथचन्द नगरपालिका ८ सिमल्लेकका दुखाराम महर ५८ वर्षका भए । १४ वर्षकै उमेरमा साहुको हलो जोत्न सुरु गरेका उनले अझै छाडेका छैनन् ।

हटेन हलिया पेसा

सिमल्लेकै कृपाराम महरले २२ वर्षदेखि साहुको हलो जोतिरहेका छन् । घोडा किन्न लिएको २५ हजार ऋण नतिरेर उनी ब्याजको रकमबापत हली बसेका हुन् । उनका छिमेकी किसनराम महर अर्को गाउँका ३ जना ‘मालिक’ को खेत पालैपालो जोत्छन् । ‘छोरीको बिहेमा १ जनाबाट १० हजार भारु लिएको तिर्न नसक्दा हलो जोत्छु, काम नगरी ५ छोराछोरीसहितको परिवार कसरी पाल्नु ?’ किसनरामले भने, ‘जोतेको दिनको ज्याला ब्याजमा घट्छ, अन्य काम गरे दैनिक ५ सय पाउँछु ।’ उनी १३ वर्षसम्म भारतको मजदुरीबाट फर्केर हलो जोत्न थालेका हुन् । २ जना साहुबाट बुवाले लिएको ऋण भए पनि हलो जोत्दै आएको उनले बताए ।
सरकारले हलिया मुक्त भएको घोषणा गरे पनि आम्दानीको बैकल्पिक व्यवस्था नदिँदा गुजारा गर्न समस्या भएको उनीहरू बताउँछन् । घर व्यवहार र सामाजिक सम्बन्ध कायम राख्न हलिया बस्न नछाडेको उनी बताउँछन् । ०६५ मा सरकारले ‘मालिक’ को ऋण तिर्न नपर्ने र हलो जोत्ने काममा लगाउन नपाउने निर्णय गर्दै मुक्त गरेको थियो । मुक्त हलियाको पुनस्र्थापनाका विभिन्न प्याकेज आए पनि पर्याप्त नहुँदा झन् समस्या भएको उनीले बताए । केहीको मुक्तिपछि मालिकसितको सम्बन्ध बिग्रिएर असहज भएको मुक्त हलियाहरूको गुनासो छ । गाउँमा मजदुरीसमेत नपाइने भएकाले हलो जोत्नुपर्ने बाध्यताबारे मुख खोल्न सकेका छैनन् ।
त्यसो त दुखाराम कहिलेकाहीं मुक्त हलिया समूहको बैठकमा जान्छन् । हलिया अधिकार र सरकारी सुविधाबारे छलफलमा सहभागी हुन्छन् । परिवारमा आम्दानीको विकल्प नहुँदा ४४ वर्षदेखि गर्दै आएको पेसा छाड्न नसकेको उनी बताउँछन् । ‘घर हालेर तरकारी लगाउने जग्गासमेत छैन, काम नगरी के खाने ?’ उनले भने, ‘सानैदेखि हलो जोतेर गुजारा गरेँ, घर खर्च र ऋण चाहिँदा पनि उनकै घर जानुपर्छ, साहु र हलियाको सम्बन्ध छैन सबै व्यवहार राम्रो चलेकाले जोत्न छाड्न सकिन ।’
७२ परिवार दलित समुदाय बसोबास रहेको सिमल्लेकका सबैजसो हलिया छन् । तीमध्ये १३ जनाले मात्रै मुक्त हलियाको परिचयपत्रका लागि निवेदन दिएका थिए । ४ जना बाहेक सूचीकृत भएको छैन । आर्थिक, पारिवारिक र सामाजिक बाध्यताले मुक्त हुँदाहुँदै पनि हलो जोत्न बाध्य भएको उनीहरू बताउँछन् । ‘हलिया मुक्त भएको थाहा छ, साहुको डरले जोतेका पनि हैनौं,’ स्थानीय नन्दराम महरले भने, ‘छिमेकीसित रिसाएर कसरी समाजमा बस्ने, मुक्त भएर नत सरकारी सुविधा पायौं न रोजगारी । केही सुविधा नभए कसरी बाँच्ने ?’
प्रदेश नं. ७, ६ र ५ का १२ जिल्लाका १९ हजारभन्दा बढी हलियालाई ०६५ मै मुक्त गरेपछि बैतडीमा २ हजार २२ मात्रै प्रमाणीकरणमा परेका थिए । तीमध्ये १ हजार ६ सयले परिचयपत्र पाएका छन् । परिचयपत्रमा घरजग्गा दुवै नभएका, घर भएका जग्गा नभएका, दुवै भएका गरी ४ तहमा वर्गीकरण गरिएको छ । वर्गीकरणमा परेकामध्ये करिब ९ सयलाई पुनस्र्थापना प्याकेज दिइएको हलिया मुक्ति समाज बैतडीले जनाएको छ । प्याकेज पाएकाले समेत आम्दानीको स्रोत नहुँदा गुजारा चलाउन समस्या भएको सुनाए ।
हलियासित भएको परम्परागत सीपलाई व्यावसायिक बनाउन सकिने सम्भावना भए पनि यसतर्फ कसैको ध्यान जान नसक्दा अवस्थामा सुधार आउन नसकेको मुक्त हलियाका अगुवा स्वीकार्छन् । ‘हलियासित हलो बनाउनेदेखि काठ, घर, जुत्ता बनाउने सीप छन्,’ हलिया मुक्ति समाज बैतडी अध्यक्ष डम्बर टमटाले भने, ‘सीप प्रयोग गरी उत्पादनमूलक बनाउने काममा ध्यान दिन सकेका छैनौं ।’

प्रकाशित : पुस ५, २०७४ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?