हटेन हलिया पेसा

खगेन्द्र अवस्थी

बैतडी — दशरथचन्द नगरपालिका ८ सिमल्लेकका दुखाराम महर ५८ वर्षका भए । १४ वर्षकै उमेरमा साहुको हलो जोत्न सुरु गरेका उनले अझै छाडेका छैनन् ।

सिमल्लेकै कृपाराम महरले २२ वर्षदेखि साहुको हलो जोतिरहेका छन् । घोडा किन्न लिएको २५ हजार ऋण नतिरेर उनी ब्याजको रकमबापत हली बसेका हुन् । उनका छिमेकी किसनराम महर अर्को गाउँका ३ जना ‘मालिक’ को खेत पालैपालो जोत्छन् । ‘छोरीको बिहेमा १ जनाबाट १० हजार भारु लिएको तिर्न नसक्दा हलो जोत्छु, काम नगरी ५ छोराछोरीसहितको परिवार कसरी पाल्नु ?’ किसनरामले भने, ‘जोतेको दिनको ज्याला ब्याजमा घट्छ, अन्य काम गरे दैनिक ५ सय पाउँछु ।’ उनी १३ वर्षसम्म भारतको मजदुरीबाट फर्केर हलो जोत्न थालेका हुन् । २ जना साहुबाट बुवाले लिएको ऋण भए पनि हलो जोत्दै आएको उनले बताए ।
सरकारले हलिया मुक्त भएको घोषणा गरे पनि आम्दानीको बैकल्पिक व्यवस्था नदिँदा गुजारा गर्न समस्या भएको उनीहरू बताउँछन् । घर व्यवहार र सामाजिक सम्बन्ध कायम राख्न हलिया बस्न नछाडेको उनी बताउँछन् । ०६५ मा सरकारले ‘मालिक’ को ऋण तिर्न नपर्ने र हलो जोत्ने काममा लगाउन नपाउने निर्णय गर्दै मुक्त गरेको थियो । मुक्त हलियाको पुनस्र्थापनाका विभिन्न प्याकेज आए पनि पर्याप्त नहुँदा झन् समस्या भएको उनीले बताए । केहीको मुक्तिपछि मालिकसितको सम्बन्ध बिग्रिएर असहज भएको मुक्त हलियाहरूको गुनासो छ । गाउँमा मजदुरीसमेत नपाइने भएकाले हलो जोत्नुपर्ने बाध्यताबारे मुख खोल्न सकेका छैनन् ।
त्यसो त दुखाराम कहिलेकाहीं मुक्त हलिया समूहको बैठकमा जान्छन् । हलिया अधिकार र सरकारी सुविधाबारे छलफलमा सहभागी हुन्छन् । परिवारमा आम्दानीको विकल्प नहुँदा ४४ वर्षदेखि गर्दै आएको पेसा छाड्न नसकेको उनी बताउँछन् । ‘घर हालेर तरकारी लगाउने जग्गासमेत छैन, काम नगरी के खाने ?’ उनले भने, ‘सानैदेखि हलो जोतेर गुजारा गरेँ, घर खर्च र ऋण चाहिँदा पनि उनकै घर जानुपर्छ, साहु र हलियाको सम्बन्ध छैन सबै व्यवहार राम्रो चलेकाले जोत्न छाड्न सकिन ।’
७२ परिवार दलित समुदाय बसोबास रहेको सिमल्लेकका सबैजसो हलिया छन् । तीमध्ये १३ जनाले मात्रै मुक्त हलियाको परिचयपत्रका लागि निवेदन दिएका थिए । ४ जना बाहेक सूचीकृत भएको छैन । आर्थिक, पारिवारिक र सामाजिक बाध्यताले मुक्त हुँदाहुँदै पनि हलो जोत्न बाध्य भएको उनीहरू बताउँछन् । ‘हलिया मुक्त भएको थाहा छ, साहुको डरले जोतेका पनि हैनौं,’ स्थानीय नन्दराम महरले भने, ‘छिमेकीसित रिसाएर कसरी समाजमा बस्ने, मुक्त भएर नत सरकारी सुविधा पायौं न रोजगारी । केही सुविधा नभए कसरी बाँच्ने ?’
प्रदेश नं. ७, ६ र ५ का १२ जिल्लाका १९ हजारभन्दा बढी हलियालाई ०६५ मै मुक्त गरेपछि बैतडीमा २ हजार २२ मात्रै प्रमाणीकरणमा परेका थिए । तीमध्ये १ हजार ६ सयले परिचयपत्र पाएका छन् । परिचयपत्रमा घरजग्गा दुवै नभएका, घर भएका जग्गा नभएका, दुवै भएका गरी ४ तहमा वर्गीकरण गरिएको छ । वर्गीकरणमा परेकामध्ये करिब ९ सयलाई पुनस्र्थापना प्याकेज दिइएको हलिया मुक्ति समाज बैतडीले जनाएको छ । प्याकेज पाएकाले समेत आम्दानीको स्रोत नहुँदा गुजारा चलाउन समस्या भएको सुनाए ।
हलियासित भएको परम्परागत सीपलाई व्यावसायिक बनाउन सकिने सम्भावना भए पनि यसतर्फ कसैको ध्यान जान नसक्दा अवस्थामा सुधार आउन नसकेको मुक्त हलियाका अगुवा स्वीकार्छन् । ‘हलियासित हलो बनाउनेदेखि काठ, घर, जुत्ता बनाउने सीप छन्,’ हलिया मुक्ति समाज बैतडी अध्यक्ष डम्बर टमटाले भने, ‘सीप प्रयोग गरी उत्पादनमूलक बनाउने काममा ध्यान दिन सकेका छैनौं ।’

प्रकाशित : पुस ५, २०७४ ०७:२३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बालविवाह घटाउन मोबाइल र फेसबुक बाधक

खगेन्द्र अवस्थी

बैतडी — बालविवाह हुनेमा मुलुककै पाँचौं जिल्ला बैतडीमा आधुनिक सञ्चारका साधन र सामाजिक सञ्जालको दुरुपयोगले नियन्त्रणमा चुनौती थपिएको सरोकारवालाले बताएका छन् ।


किशोरकिशोरीमा मोबाइल, फेसबुकलगायत पहुँच र प्रयोग बढेसँगै भागेर बिहे गर्ने चलन बढेको बालविवाह न्यूनीकरण अभियानमा संलग्नहरू बताउँछन् । विद्यालय उमेरमा किशोरकिशोरीले मोबाइल दुरुपयोगका कारण बालविवाह न्यूनीकरणमा बाधक बनेको महिला तथा बालबालिका कार्यालय प्रमुख अनिता बुढाऐरले बताइन् । एक अध्ययनअनुसार जिल्लामा ५९ प्रतिशत किशोरीको १७ वर्ष नपुग्दै बिहे गरेको पाइएको छ । ५ वर्षअघि ‘बालिका दुलही होइनन्,’ नामक राष्ट्रिय सञ्जालले बैतडीका ४ गाविसमा गरेको अध्ययनमा उक्त तथ्यांक भेटिएको हो । सन् २०३० सम्म नेपाललाई बालविवाहमुक्त गर्ने लक्ष्य छ । २०२० भित्र बैतडीलाई मुक्त बनाउने स्थानीय तहका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । तर, अभियानमा संलग्न सरोकारवालालाई आधुनिक प्रविधिका साधनको उपयोगमा सजग हुनुपर्ने धारणा उनीहरूले राखे ।
फोन र फेसबुकको माध्यमबाट सम्पर्कपछि भागेर जाने समस्या बढ्न थालेको बालविवाहविरुद्ध अभियानमा सक्रिय किशोरी समूहका सदस्यले बताइन् । ‘दिनभर अभियानमा संलग्न किशोरी नै भागेर गएका घटना छन्,’ जिल्ला किशोरी सञ्जालकी सदस्य रेजिना टेलरले भनिन्, ‘प्रविधिको प्रयोगमा किशोरकिशोरी र अभिभावक दुवैले ध्यान दिन आवश्यक छ ।’
सञ्चारका साधन र सामाजिक सञ्जालको दुरुपयोगबारे अभिभावक र किशोरकिशोरीलाई चेतना जगाउन आवश्यक देखिएको छ । पछिल्लो समय जिल्लामा सञ्चारका साधन दुरुपयोगबाट बालविवाह नियन्त्रण गर्न कठिनाइ भएको संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (यूएनएफपीए) का अधिकृत गणेश शाहीले बताए । ‘अभिभावक छोराछोरीको विवाह २० वर्षपछि गर्न चाहन्छन् तर बालबालिका आफैं भागेर विवाह गर्छन्,’ उनले भने, ‘प्रविधि प्रयोगबारे चेतना नहुँदा दुरुपयोग भएको पाइन्छ ।’ बैतडी सिमाना झुलाघाटबाट गत साउनयता २४ किशोरकिशोरीको उद्धार गरेको प्रहरीले जनाएको छ । ती सबै भारत जाँदै थिए । धार्मिक मान्यताका कारण बालविवाह नियन्त्रणमा समस्या हुन थालेपछि सरोकारवाला निकायले धामीझाँक्रीलगायत समाजमा प्रतिष्ठित अगुवालाई संगठित गरेको छ । अभियानलाई प्रभावकारी बनाउन धामी, पुजारी र ज्योतिषीलगायतको सञ्जाल बनाई बालविवाह न्यूनीकरणको प्रयासमा रहेको प्रतिष्ठित धामी समूह पाटनका सचिव हरिप्रसाद जोशीले बताए । 
धार्मिक अगुवाले बालविवाह गर्दा हुने असर र कानुनी प्रावधान तथा सजायबारे ग्रामीण क्षेत्रमा जानकारी दिन थाले पनि सञ्चारका साधनको दुरुपयोग बढदा यो चुनौतीका रूपमा देखिएको छ ।

 

प्रकाशित : पुस ३, २०७४ ०८:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT