कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘प्रदेशसभाको परिणाम भोलिसम्म’

समानुपातिक सिट बाँडफाँट

काठमाडौं — निर्वाचन आयोगले समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले प्रदेशसभाको समानुपातिकतर्फको परिणाम निकाल्ने कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । सातवटै प्रदेशको समानुपातिकतर्फका सम्पूर्ण परिणामको प्रस्ताव बिहीबार साँझसम्म आयोगसमक्ष पेस गर्ने तयारी छ ।


समानुपातिकतर्फका निर्वाचन अधिकृतसमेत रहेका आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले प्रदेशको परिणाम निकाल्ने काम बिहीबारसम्म सकाउने लक्ष्य राखिएको बताए । ‘सकेसम्म बिहीबारै साँझ नभ्याइए शुक्रबार सबै प्रदेशका समानुपातिकतर्फका परिणाम आयोगसमक्ष पेस गर्नेछौं,’ उनले भने, ‘आयोगको निर्णयपछि थप प्रक्रिया अगाडि बढाइनेछ ।’ आयोगले निर्णय गरेपछि प्रदेशगत रूपमा कुन दलले कति सिट पाएको र त्यसमा समावेशी समूहबाट प्रतिनिधित्व गर्ने संख्या तोकेर दलहरूलाई पठाइनेछ । आयोगसमक्ष पेस गरिने प्रस्तावमा प्रदेशगत रूपमा कुन दलले कति मत पाए, कुल मतको डेढ प्रतिशत थ्रेसहोल्ड कटाएका मध्ये कुन दलले कति सिट पाउने, डेढ प्रतिशत मत नकटाएका दल र तिनले पाएको मतलगायत विवरण समेटिनेछन् । प्रतिनिधिसभातर्फ समानुपातिकको परिणाम दिन संवैधानिक र कानुनी जटिलता आएपछि आयोगले प्रदेशसभाको परिणाम पहिले सार्वजनिक गर्न लागेको हो । राष्ट्रिय सभाको निर्वाचन नभई समानुपातिक सूचीबाट कुन दलले कति महिला पठाउनुपर्ने यकिन संख्या तोक्न आयोगलाई समस्या भएको छ ।
संविधानमा संघीय संसद् (राष्ट्रिय सभा र प्रतिनिधिसभा) मा प्रतिनिधित्व प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने प्रावधान छ । प्रतिनिधिसभामा प्रत्यक्षबाट र राष्ट्रिय सभामा निर्वाचित हुने सदस्यहरूमध्येबाट कुनै दलको एक तिहाइ सदस्य महिला निर्वाचित हुन नसके त्यस्तो राजनीतिक दलले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीबाट सदस्य निर्वाचित गर्दा आफ्नो दलबाट संसद्मा निर्वाचित हुने कुल सदस्यको कम्तीमा एक तिहाइ महिला सदस्य हुने गरी निर्वाचित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रिय सभा गठनका लागि राष्ट्रपतिकहाँ पेस भएको अध्यादेशका सन्दर्भमा दलहरूबीच विवाद चलिरहेको र सहमति जुटे आयोगले प्रतिनिधिसभा निर्वाचन परिणाम दिनुभन्दा पहिले प्रदेशसभालाई प्राथमिकतामा राखेको देखिन्छ । प्रदेशसभातर्फका सम्पूर्ण परिणाम निकाल्न करिब दुई साता लाग्ने र त्यस अवधिमा दलहरूबीच राष्ट्रिय सभालाई लिएर सहमति जुट्ने आयोगले अपेक्षा राखेकाले पनि प्रदेशसभालाई पहिलो प्राथमिकता दिएर परिणाम दिन लागिएको हो । जब कि प्रत्यक्षतर्फको परिणाम निकाल्दा आयोगले प्रतिनिधिसभालाई पहिलो प्राथमिकता दिएको थियो ।
सचिव पौड्यालले समानुपातिकतर्फको परिणाम दिन आयोगका तर्फबाट कुनै ढिलासुस्ती नभएको बताए । ‘प्राविधिक रूपले जटिल हो, एक–एक डाटा भेरिफाई र म्याच गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘प्रत्येक निर्वाचन अधिकृतबाट आएको डाटालाई कम्प्युटर इन्ट्री र भेरिफिकेसन गर्दा समय लाग्छ नै । तर पनि हामीले द्रुत गतिमा काम गरिरहेका छौं ।’ उनले प्रदेशसभाको परिणामको प्रस्ताव आयोगमा बुझाएसँगै प्रतिनिधिसभाको काम थालिने बताए ।
प्रदेशसभामा ५३ वटा राजनीतिक दलले चुनावी प्रतिस्पर्धा गरेका छन् । प्रदेशअनुसार दलहरूको संख्या भने फरक छ । कुल सदर मतको डेढ प्रतिशत मत ल्याउने राजनीतिक दल मात्रै सम्बन्धित प्रदेशसभामा समानुपातिकतर्फबाट सिट पाउन योग्य मानिन्छन् । तर, डेढ प्रतिशत ल्याउँदैमा सिट पाउने ग्यारेन्टी हुन्न । आयोगले परिणाम स्वीकृत गरेसँगै समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले सिट पाउने दलहरूलाई उम्मेदवार छनोट गरेर पठाउन निश्चित अवधि तोकेर पत्राचार गर्नेछ । स्रोतका अनुसार आयोगले राजनीतिक दललाई ७ देखि १० दिनको अवधि तोक्ने तयारी छ ।

प्रकाशित : पुस ६, २०७४ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?