१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बोक्सी प्रथाविरुद्व फिल्म, गीत र कविता

काठमाडौँ — कैलालीकी राधा चौधरीलाई बोक्सीको आरोपमा घण्टौं कुटपिट गरेको खबरले धेरैलाई स्तब्ध बनायो । पछि उनलाई आफ्नै गाउँ देउकलियामा अभिनन्दन गरियो ।

जिल्ला प्रशासन कार्यालय, ओरेक नेपाल र मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले आयोजना गरेको अभिनन्दन कार्यक्रममा उनी धुरुधुरु रोइन् ।


हामीकहाँ बोक्सीको आरोपमा निर्घात कुट्ने, मलमूत्र कोच्याउनेजस्ता नीच क्रियाकलाप हुँदै आएका छन् । यस्ता कुप्रथा र अन्धविश्वासको जरो उखेल्ने उद्देश्य लिएको ‘मान्छे बोक्सी हुन्न’ प्रतिष्ठानले विभिन्न रचानात्मक कार्यक्रम गरी चेतना फैलाउन खोज्दै छ । राधाको गाउँमा पनि बोक्सी प्रथाविरुद्धको फिल्म ‘अग्निदहन’ देखाएको थियो ।


त्यो हेरेपछि कतिपय स्थानीयले आफूहरूको आँखा खुलेको प्रतिक्रिया दिएको जागरणका अध्यक्ष कोविदशरण उपाध्यायले बताए । ‘शिक्षा र चेतनाको अभावले यस्ता कुरीति बाँचिरहेका छन्,’ उनले भने, ‘नीलडाम के कारणले हुन्छ ? किन महिलाहरू काम्छन् ? यसको उत्तर अस्पताल मात्र दिन सक्छ । धामी–झाँक्रीले होइन ।’


उपाध्यायले आफूहरूले अनेक तरिकाले जनचेतना फैलाउन खोजिरहेको बताए । लेखकसमेत रहेका उनी पछिल्लो समय आफ्ना सारा काम यही अभियानकेन्द्रित बनाइरहेका छन् । वि.सं. २०७० मा उनले ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ शीर्षकको कविता संग्रह निकालेका थिए ।


समान शीर्षकमा गीति संग्रह तयार पारे । त्यसमा अञ्जु पन्त, सत्य/स्वरूप आचार्य, प्रमोद खरेल, सिन्धु मल्ल लगायतको स्वर थियो, शब्द सबै उपाध्यायकै । विभिन्न गाउँमा बोक्सी प्रथाविरुद्ध जानकारी बाँड्ने हेतुले कविता गोष्ठी, निबन्ध प्रतियोगिता, वक्तृत्वकला आदि गराउँदै आएका छन् । ‘सिर्जनात्मक काम अलि प्रभावकारी हुन्छ ठानेर यस्तो गरिरहरेका हौं,’ उनले भने, ‘तर, यो सबै गर्न सहज छैन, आर्थिक समस्यासँग जुध्नुपर्छ ।’


पोखरामा रहेको उनको संस्थाले २०७४ मा बनाएको ‘अग्निदहन’ फिल्म राष्ट्रपति भवन, शीतलनिवासमा प्रिमियर गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले हेरेकी थिइन् । ‘अबको इच्छा प्रधानमन्त्रीलाई देखाउनु हो,’ उपाध्यायले भने, ‘सरकारसँग बजेट छ, हामीसँग इच्छाशक्ति र भिजन । एकअर्कासँग सहकार्य गरेर बोक्सी प्रथाको अन्त्य गर्नु हाम्रो लक्ष्य हो ।’ उनले १५ वर्षभित्र देशबाट यो कुरीति हटाइछाड्ने अठोट लिएका छन् ।

प्रकाशित : चैत्र १४, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?