छिरिङ र सन्ध्या च्याम्पियन

काठमाडौ — टासी छिरिङ र सन्ध्या राईले मंगलबार पहिलो वेस्टर्न युनियन एनजीए राष्ट्रिय एमेच्योर ग्लफ च्याम्पियनसिप जितेका छन् । व्यक्तिगत स्पर्धामा पुरुषतर्फका विजेता छिरिङ गोकर्ण फरेस्ट गल्फ रिसोर्ट र सन्ध्या रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) का गल्फर हुन् ।


तीन दिन भिन्न तीन गल्फ कोर्समा भएको प्रतियोगितामा गोकर्णले तीन उपाधि कब्जा गर्‍यो । छिरिङसहित वान्चेन धेन्डुप, टासी लोब्साङ र राजेन्द्रकुमार प्रधान रहेको रहेको गोकर्ण
पुरुष टिम स्पर्धामा पनि विजेता बन्यो । गोकर्णकै पुष्पा राई र कोरियाली सोङको जोडीले महिला टिम स्पर्धामा पहिलो स्थान हासिल गर्‍यो ।
रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) का सञ्जय लामालाई नौ स्ट्रोकले पछि पार्दै ३३ वर्षे छिरिङले राष्ट्रिय एमेच्योर गल्फको पहिलो संस्करणमा उपाधि जितेका हुन् । उनको कुल
प्रदर्शन १६ ओभर २ सय २७ रह्यो । तेस्रो तथा अन्तिम दिन पार ६७ को आरएनजीसीमा उनले ४ ओभर ७१ स्कोर गरे ।
प|mन्ट नाइनमा ४ शट धेरै खेले पनि उनले ब्याक नाइनको खेल इभन पार ३४ मा टुंग्याए । 'अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि हात पारेको छु', छिरिङले भने, '५ स्ट्रोक अगाडि
रहेर खेल्दा निकै सजिलो अनुभव गरें ।'
प्रतियोगिता सुरु हुनु एक साताअघि अभ्यासको क्रममा बायाँ हातको नाडीमा लागेको चोटसँग संघर्ष गर्दै उनले उपाधि जितेका हुन् । चार दिन आराम गरेपछि उनी प्रतियोगितामा सहभागी भएका हुन् ।
'दुई दिन ब्यान्डेज लाएर खेल्दा निकै गाह्रो भयो,' उनले भने, 'ब्यान्डेज खोलेपछि फाइनल चरणमा सजिलो अनुभव गरे ।' पाँच वर्षयता निरन्तर गल्फ खेलिरहेका ३ ह्यान्डीक्यापका
उनले अब निरन्तर कडा मिहिनेत गरेर नेपालको नम्बर १ एमेच्योरको रूपमा रहिरहने प्रयास गर्ने बताए ।
पहिलो दिन गोकर्णमा ५ ओभर ७७ र दोस्रो दिन आर्मी अफिसर्स गल्फ क्लबमा ७ ओभर ७९ स्कोर गरेका थिए । उपविजेता भएका सञ्जयले ६ ओभर ७३ खेल्दै कुल स्कोर २५
ओभर २ सय ३६ बनाए । उनीसँग एक स्ट्रोक अन्तरमा गोकर्णका विकास बोगटी तेस्रो भए ।
पहिलो दिन शीर्षस्थानमा रहेका गोकर्णका समुद्र गिरी कुल २९ ओभर २ सय ४० स्कोर गर्दै चौथोमा रहे । स्ट्रोक प्लेको आधारमा महिलातर्फ भएको ३६ होलको खेलमा सन्ध्याले ६७
ओभर २ सय ६ स्कोर गरिन् । उनले आरएनजीसीमा २६ र गोकर्णमा ४१ ओभर खेलिन् ।
पुष्पालाई ५ स्ट्रोकले छाडेकी २५ ह्यान्डीक्यापकी अनुभवी गल्फरले भनिन्, 'खेल जित्नकै लागि खेलिन्छ । भाग्यले साथ दियो र उपाधि जिते ।' हिमालयन गल्फ क्लब पोखराकी
अम्बिका राणा कुल ७३ ओभर २ सय १२ स्कोरसहित तेस्रो भइन् ।
पुरुष टिम स्पर्धाका विजेता गोकर्णले ७ सय १३ अंक जोड्यो । दोस्रो भएको आर्मीको ७ सय ३६ अंक रह्यो । त्यसमा गजेन्द्र बहादुर लिम्बू, एनजे रायमाझी, पुष्कर राजवाहक र भुवन
पुडासैनी छन् । सञ्जय, रविन राणा, चार्ली गुरुङ र दीपबहादुर बस्नेतले ७ सय ४४ अंक जोडेपछि आरएनजीसी तेस्रो भयो ।
महिला टिम स्पर्धाका विजेता गोकर्णले ४ सय १२, उपविजेता आरएनजीसीले ४ सय २४ र तेस्रो भएको हिमालयनले ४ सय ३३ अंक जोडे । आरएनजीसीमा सन्ध्यासहित कल्पना
लिम्बू र उमा तिवारी थिए । हिमालयनको टिममा अम्बिकासँगै बिना थापा र टीका गुरुङ समावेश थिए ।
व्यक्तिगततर्फ शीर्ष दस (पुरुष): २२७-टासी छिरिङ, २३६-सञ्जय लामा, २३७-विकास बोगटी, २४०-समुद्र गिरी, २४१-भुवन पुडासैनी, २४२-नीरज राणा, २४६-वान्चेन धोन्डुप, २४७
-टासी घले, २४८-राजेन्द्रकुमार प्रधान, २४९-चार्ली गुरुङ ।व्यक्तिगततर्फ शीर्ष पाँच (महिला): २०६-सन्ध्या राई, २११-पुष्पा राई, २१२-अम्बिका राणा, २१८-कल्पना लिम्बू, २२२-टीका गुरुङ ।


 

प्रकाशित : पुस १४, २०६७ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?