थापाविरुद्ध मानहानि मुद्दा

काठमाडौ — अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा र महासचिव धीरेन्द्र प्रधानविरुद्ध फ्रेन्ड्स क्लबले अदालतको अवहेलना गरेको दाबी गर्दै पुनरावेदन अदालतमा शुक्रबार मुद्दा दर्ता गरेको छ।

थापा र प्रधानले अदालतमा विचाराधीन मुद्दा प्रभाव पार्ने काम गरेको भन्दै मुद्दा हालेको हो।
सहिद समारक 'ए' डिभिजन लिगमा गत वर्ष माघ १५ गते थ्री-स्टारविरुद्ध भएको खेलको घटनापछि प|mेन्ड्सका पदाधिकारीलाई गरिएको कारबाहीबारे परेको एन्फाविरुद्धको मुद्दा पाटन अदालतमा विचाराधीन अवस्थामा छ। तर, एन्फा अध्यक्ष थापाले 'अदालत जाने तिमीहरू को हौ? मलाई के गर्न सक्छौ? मुद्दा तुरुन्त झिक नत्र देखाइदिन्छु' भनेर धम्क्याएको दाबी गर्दै प|mेन्ड्सका उपाध्यक्ष दीपक थापा, अफिसियल विश्वासविक्रम शाह र टिम म्यानेजर अरविन्द सिंहले अदालतको अवहेलनामा कारबाही गरी पाउ“m भनी मुद्दा दर्ता गरेका हुन्।
अदालतको अवहेलना भएको प्रमाणित भएमा एन्फा अध्यक्ष थापा र महासचिव प्रधानलाई ५ हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्छ।
सरस्वतीमा दुई पक्ष
आन्दोलनरत चार क्लबले बनाएको क्लब समन्वय समितिका संयोजक शिक्षित पराजुली अध्यक्ष रहेको सरस्वती युवा क्लबका नौ पदाधिकारीले कुनै पनि समन्वय समितिमा आबद्ध नभएको बिहीबार एन्फालाई जानकारी दिएका छन्।
सचिव भुवन पराजुलीको अध्यक्षमा बसेको बैठकले यस वर्ष एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागी नगराउने गरी गरेको कारबाहीबारे ध्यानाकर्षण भएको जनाउँदै एन्फालाई पत्र पठाएको थियो। यसले सरस्वतीका पदाधिकारी दुई समूहमा विभाजित भएका छन्।

 

प्रकाशित : भाद्र १४, २०७१ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

माक्र्सवाद, नवमाक्र्सवाद र मानवतावाद

नवमाक्र्सवाद समाजवाद निर्माणको नाममा हुने सर्वहारा दमनलाई अस्वीकार गर्छ। यसको अर्थ नवमाक्र्सवादीहरूका लागि नोकरशाही समाजवाद र पुँजीवाद दुवै उस्तै खतरनाक हुन्।
केशव दाहाल

स्पेनका दार्शनिक ओटेगा ई गैसेट भन्छन्, 'समकालीन युगको सबैभन्दा महत्त्वपूर्ण कुरा जनसमुदायको उदय हो'।

यो माक्र्सवादीहरूको प्रस्तावभन्दा निकै अलग भनाइ हो। यसको अर्थ जनसमुदायको अस्तित्वले वर्गको अस्तित्वलाई विस्थापित गर्छ। गैसेटका अनुसार जनसमुदाय आफैंमा समाज सञ्चालनको महत्त्वपूर्ण अस्तित्व हो। यो वर्गभन्दा शक्तिशाली हुन्छ। यसर्थ अबका दिनमा जनसमुदायलाई इन्कार गर्न सकिंँदैन। नवमाक्र्सवादीहरूले गैसेटको यो भनाइलाई स्वीकार गर्छन्। यही बुझाइबाट परम्परागत माक्र्सवाद र नयाँ माक्र्सवादको फरक सुरु हुन्छ। परम्परागत माक्र्सवाद वर्गलाई महत्त्वपूर्ण मान्छ। नवमाक्र्सवाद जनसमुदायलाई मुख्य ठान्छ।
के हो नवमाक्र्सवाद? हामीकहाँ नवमाक्र्सवादमाथि धेरै टिकाटिप्पणी र विश्लेषण छैन। कट्टर माक्र्सवादीहरू यो विचारमाथि सकारात्मक देखिंँदैनन्। किनभने यी दुई विचारमाथि गम्भीर टकराव छ। नवमाक्र्सवाद समाजवाद निर्माणको नाममा हुने सर्वहारा दमनलाई अस्वीकार गर्छ। यसको अर्थ नवमाक्र्सवादीहरूका लागि नोकरशाही समाजवाद र पुँजीवाद दुवै उस्तै खतरनाक हुन्। नवमाक्र्सवादीहरूको मान्यता छ कि सबै प्रकारका शोषणको विरोध आवश्यक छ। उनीहरूलाई न समाजवादका नाममा सर्वहाराको अधिनायकत्व स्वीकार्य हुन्छ, नत पुँजीवादका नाममा सर्वहारामाथि निरन्तर र नियोजित शोषण स्वीकार्न सकिन्छ। माक्र्सवादीहरू सर्वहारा जीवनलाई महत्त्वपूर्ण मान्छन्, यता नववामपन्थीहरू हरेक जीवन महत्त्वपूर्ण ठान्छन्। जीवनभन्दा माथि न राज्य हुन्छ, नत वर्ग, न सम्पत्ति नै। मानव समाजमा सिर्जनशीलता, प्रेम, ज्ञान, एकता र आनन्दको महत्त्वलाई माक्र्सवादले कहिल्यै प्राथमिकतामा राखेन। तर नववामपन्थीहरू यी सबै महत्त्वपूर्ण छ भन्ने स्वीकार गर्छन्। मान्छेको सार्वभौमिकतालाई स्वीकार गर्नु तथा यसको अस्तित्वलाई रक्षा गर्नु उनीहरूको मुख्य ध्येय हो।
हिजो माक्र्सले दरित्र सर्वहारा वर्ग देखे। यसर्थ उनीहरूको मुक्ति महत्त्वपूर्ण थियो। तर आज औद्योगिक देशमा मजदुर दरिद्रता र भोकको समस्यामा छैन। ऊ आर्थिक रूपमा निराश पनि देखिँदैन। उसका लागि आज खानाभन्दा महत्त्वपूर्ण विषय निजी स्वतन्त्रता बनेको छ। मार्कोविक भन्छन्, 'नववामपन्थ पुरातन वामपन्थको तुलनामा धेरै सुसंस्कृत रीतिको पक्षपोषण गर्छ।' हबर्ट माक्र्युज 'जवान हेगेल' र 'जवान माक्र्सका' विषयमा अध्ययन गर्ने दार्शनिक हुन्। उनी रोजा लक्जेम्बर्गको आन्दोलनमा समेत सहभागी थिए। उनको मत छ, हेगेलको द्वन्द्ववाद आदर्शवाद हो। माक्र्सको द्वन्द्ववाद भौतिकवाद हो। तर जीवनका लागि यी दुई पक्षमात्र महत्त्वपूर्ण हुँदैनन्। व्यक्तिको आनन्द सर्वाधिक महत्त्वपूर्ण र निर्णायक हुन्छ। उनी भन्छन्, 'द्वन्द्ववादलाई खण्डन गर्न सकिँदैन। तर यसले मात्र समस्याहरूको निदान गर्दैन।' शोषणरहित आनन्द आजको महत्त्वपूर्ण अपेक्षा हो।
हामीले कम चर्चा गर्ने गरेको अर्को विचार छ, अस्तित्ववाद। अस्तित्ववाद नववामपन्थको महत्त्वपूर्ण आधार हो। यसको अर्थ व्यक्तिको अस्तित्वलाई स्वीकार गर्नु हो। यसमा ज्या पाँल सार्त्र, अलवेयर कामु, सिमो द बुए र फ्रैज फैनन लगायतले निकै महत्त्वपूर्ण दार्शनिक योगदान गरेका छन्। कामुको जन्म अल्जेरियामा सन् १९१३ मा भयो। १९६० मा उनको कार दुर्घटनामा मृत्यु भयो। कामुले माक्र्स, लेनिन र स्टालिनको अलोचना गरे। उनका महत्त्वपूर्ण कृतिहरू प्लेग १९४८, द रिबेल १९५२ र द फाल १९५६ आदि प्रकाशित छन्। कामु आफूलाई एक विद्रोही मान्छन्। तर उनको विद्रोह अस्तित्वका लागि हो। यसर्थ उनी सर्वसत्तावाद, व्यवस्थित हिंसा, उपनिवेशवाद, मानव दुःखको विपक्षमा निरन्तर विद्रोहमा रहे। सार्त्र मान्छन्, मान्छे स्वतन्त्र छ। उनी अगाडि भन्छन्, 'मान्छे मेसिनको पुर्जा हैन, स्थिति वा नियतिको प्राणी पनि हैन, नत कठपुतली नै हो।' सबै खाले अधिनायकत्व विरुद्ध यो उनको सशक्त अभिव्यक्ति हो। सार्त्रको स्वतन्त्र र सौहार्दपूर्ण प्रेम सम्बन्ध सिमोन द बुएसंँग रह्यो। बुए आफै पनि चर्चित लेखिका र अभियन्ता थिइन्। उनीहरूको चर्चित प्रेम प्रसंगलाई निजत्वकै अभिव्यक्ति मान्न सकिन्छ।
सार्त्र आफ्नो कृति 'क्रिटिक अफ डायलेक्टिकल रिजन'मा माक्र्सवाद र अस्तित्ववादलाई जोड्ने मजवुत प्रयत्न गर्छन्। सार्त्रले सम्प्रेषण गर्न चाहेको सन्देश हो, 'मान्छेले संसारलाई फेर्न सक्छ। तर मान्छेको अस्तित्व अमूर्त छैन।' मान्छे वर्गभन्दा माथि छ। उनको यही आशयले अस्तित्ववादलाई शक्तिशाली बनाउँछ। कम्युनिष्टहरू हेलेगको द्वन्द्ववादलाई माक्र्सले सुल्ट्याएको मान्छन्। माक्र्स आफैंले हेगेलको टाउकोले टेकेको द्वन्द्ववादलाई खुट्टाले टेकाएको भनी उल्लेख गरेका थिए। ठीक यस्तै अस्तित्ववादीहरू माक्र्सवादलाई सार्त्रले मानवीय अनुहार दिएको ठान्छन्।
यता फ्रैज फैनन नवमाक्र्सवादी थिए। एक मनोचिकित्सक तथा क्रान्तिकारी थिए। फैननको खास विशेषता के भने उनी पुरातन माक्र्सवादीहरूझंै अन्तर्राष्ट्रियतावादी थिएनन्। उनले माक्र्सवादको स्थानीयकरण गरे। आआफ्नो परिवेश र विवेकबाट माक्र्सवादको स्थानीयकरण उनको विचारको मुख्य भावधारा हो। सार्त्र, अलवेयर कामु र फैननका लागि फ्रान्स साधना केन्द्र थियो। सार्त्र फ्रान्सका नागरिक थिए, तर कामु र फैनन अल्जेरियाई। यिनीहरूले व्यक्तिको अस्तित्व, महत्त्व र सार्वभौमिकतालाई जुन तहबाट स्थापित गरे, त्यो निकै महत्त्वपूर्ण योगदान हो। यद्यपि यो बहस अलग धारमै रह्यो। यसले कहिल्यै मूलधारमा प्रवेश पाउन सकेन।

मण्डेलाको मानवतावाद

दक्षिण अफ्रिका कुनै 'मोड्युल' देश होइन। तर त्यो नेलसन मण्डेलाको देश हो। त्यहाँको अश्वेत मुक्ति आन्दोलन, मण्डेला आफै र शान्ति स्थापनाका प्रयासहरू अनुकरणीय छन्। मण्डेलालाई यो शताब्दीकै महामानव मानिन्छ। यद्यपि उनी न चलनचल्तीका माक्र्सवादी थिए, नत चलनचल्तीका पुँजीवादी। उनी न अश्वेतवादी नै थिए। उनी थिए, विशुद्ध मानवतावादी। उनी साँच्चीकै ऋषि मानव थिए।
दक्षिण अफ्रिकामा नेलसन मण्डेलाको एउटा भनाइ निकै प्रचारित छ। मण्डेलालाई पृष्ठभूमिमा राखेर 'सबैका लागि समृद्ध जीवन' लेखिएका सामग्रीहरू खास-खास ठाउँमा भेटिन्छन्। दक्षिण अफ्रिकामा लामो रंगभेद विरुद्धको आन्दोलन चल्यो। काला र गोरा जातिबीच चलेको यो आन्दोलन विश्वकै ठूलो रंगभेद विरुद्धको आन्दोलन हो। जसले अनेकौं उतार-चढावहरू देख्यो। धेरैले जेल, नेल, यातना र मृत्यु भोगे। जसै आन्दोलनले विजय हासिल गर्‍यो, तब आन्दोलनको सफलतामा रमाएका अश्वेतहरूबाट गोराहरूमाथि प्रतिशोधको सम्भावना थियो। त्यसैले विजयसभामा मण्डेलाले भने, हामी मिलेर देश बनाउँछौं। यो देश कालाहरूको मात्र हैन, गोराहरूको पनि हो। हामीलाई कालाहरूको समृद्धिले मात्र पुग्दैन। हामीलाई गोराहरूको पनि उत्तिकै माया छ। उनी साधारण नेता भएको भए भन्ने थिए, 'अश्वेतहरूका लागि समृद्ध जीवन।' उनी महान नेता थिए, त्यसैले भने, सबैका लागि समृद्ध जीवन।
१९१८ जुलाई १८ मा जन्मिएका नेलसन मण्डेला दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति बने। थम्बु आदिवासी समुदायका उनी उदार लोकतान्त्रिक नेता थिए। युद्धोत्तर समाजमा आपसी सद्भावको सुन्दर वातावरण बनाउन मण्डेलाको अनुकरणीय योगदान छ। यसर्थ नै मण्डेला सम्पूर्ण दक्षिण अफ्रिका र विश्वका आदरणीय नेता र पिता बने। हामीले राजनीति र राज्यसत्तालाई वर्गीय हुन्छ भन्ने बुझेका थियौं। त्यसैले यात हाम्रो राजनीतिक स्कुलमा सर्वहारा वर्गको समृद्ध जीवन पढाइयो अथवा अर्को वर्गको। पछिल्लो कालमा हामी खास जाति, वर्ग र लिंगको समृद्धिको कुरा गरिरहेका छांै। तर मण्डेलाले भने, सबैलाई समृद्ध जीवन। सबैलाई न्याय। सबैलाई लोकतन्त्र। उनी मानव समृद्धिका अभियन्ता थिए।

विद्रोही चारु मजुमदार
२०७० माघ महिना चारु मजुमदारका छोरा अभिजित मजुमदारसंँग भेटघाट भयो। उनै चारु मजुमदार जसले भारतको नक्सलबारीमा किसान विद्रोहको नेतृत्व गरे। उनको प्रभावले झापाली युवाहरू विद्रोहमा उठे। चारु मजुमदार एक समय दक्षिण एसियाकै नाम चलेका विद्रोही नेता थिए।
सन् १९६० मा जन्मिएका चारुपुत्र अभिजितसंँग आफ्ना पिताको धमिलो सम्झनामात्र छ। अभिजितले नक्सलवादी आन्दोलनका बारेमा धेरै कुरा पछिमात्र थाहा पाए। १९७२ जुलाईमा चारु मजुमदारको हत्या हुँदा उनी १२ वर्षका थिए। त्यो समय उनका लागि पनि चारु मजुमदार किंवदन्तीका नायक थिए। तर आज अभिजितले धेरै कुरा बुझे। त्यसैले उनी पनि माक्र्सवादी भए। तर उनको माक्र्सवाद अलग छ। उनी भन्छन्, 'आजको माक्र्सवाद चारुको समयको भन्दा अलग छ। किनभने माक्र्सवाद गतिशील हुन्छ। उही कुरा कालान्तरसम्म समाएर बस्नु माक्र्सवाद होइन। बरु समयअनुसार समाज रूपान्तरणको विज्ञानलाई बुझ्नु नै माक्र्सवाद हो।'
चारु मजुमदारले बुर्जुवा शिक्षा बहिस्कार गरे। तर छोरा अभिजित सिलिगुडी कलेजमा अंग्रेजी साहित्य पढाउँछन्। त्यसैले उनी पूर्णकालीन माक्र्सवादी कार्यकर्ता होइनन्। उनी त माक्र्सवादी राजनीतिको पक्षमा क्रियाशील बुद्धिजीवीमात्र हुन्। पार्टीमा आउँछन्, काम गर्छन्। सघाउँछन्। भन्छन्, 'मेरा लागि यो काम आफ्ना पिताजीको सार्थक सम्झना र जनताको परिवर्तनप्रतिको ऐक्यबद्धता हो।' सहरभित्रको सानो गल्ली छिचोल्दै झुप्रोजस्तो घरको सानो कोठामा भाकपा (माले, लिवरेसन) को सिलिगुडी कार्यालय छ। अभिजित फुर्सदमा त्यही कार्यालय पुग्छन्। चारु मजुमदार, विनोद मिश्र, नागभूषण पटनायकका तस्वीरहरू कार्यालयको भित्तामा लहरै सजिएका छन्। बस्नका लागि सानो टेबल, एउटा बेन्च र ४ वटा प्लाष्टिकका कुर्सी राखिएका छन्। आफ्नो कार्यालयका बारेमा उनले भने, 'यो कम्युनिष्ट पार्टीको अफिस हो। त्यसैले सानो छ। यसलाई गतिलो बनाउन हामीसँंग पैसा छैन।' 'नेपालका कम्युनिष्टहरू नयाँ दरबारमा बस्छन्', मैले यसो भनिरहँदा उनी हाँसेमात्रै।
अभिजित भन्छन्, 'नक्सलवादीहरूलाई आजको समयबाट हेर्दा कमजोरीहरू देखिन्छन्। निश्चय नै नक्सलबारीमा गरिबी थियो। तर सानो ठाउँमा क्रान्ति जोगाउन सक्ने अवस्था थिएन। जनतामाथि शोषण थियो र प्रतिरोध भयो। तर प्रतिरोधलाई बचाउने सामथ्र्य भएन। अन्तरपार्टी विभाजन र आन्तरिक धोकाधडी नक्सलबारीको अर्को कमजोरी हो। आज गाउँमा रोड बनेको छ। प्रहरीहरूको आवत-जावत बढेको छ। अरु पार्टीका गुलिया वाचाहरू पनि गाउँ पुगेका छन्। गाउँमा अस्पताल छ। स्कुल छ। कलेज छ। पढेलेखेका मध्यम वर्गको विकास हुँदै गएको छ। सञ्चार सुविधा छ। हिजोको जस्तो मजदुरहरूको अवस्था छैन। यो परिवर्तनलाई कम्युनिष्टहरूले बुझ्नुपर्छ। कम्युनिष्टहरूले इतिहासबाट सिक्नुपर्छ।'
उनी भन्दै थिए, नक्सलबारीमा चारुकै समयको विद्रोह अब असम्भव छ। अभिजितको भनाइ, राजनीतिमा विद्रोहको न पुरानै परम्परा पछ्याउन चाहनेहरूलाई काम लाग्ला। अब न लेनिनको अक्टोबर क्रान्तिलाई जस्ताको तस्तै दोहोर्‍याउन सकिन्छ, नत माओको लम्बे अभियानलाई। समय फेरियो। यसर्थ क्रान्तिका मोडलहरू पनि फेरिन्छन्। अभिजितले भने, 'सायद राजनीति गर्नेहरूका लागि इतिहास सबैभन्दा शक्तिशाली विद्यालय हो।' अभिजितको भनाइले क्रान्तिको नक्कल गर्न चाहने नेपाली क्रान्तिकारीहरूलाई गतिलो सन्देश दिन्छ। क्रान्ति नक्कल गर्ने विषय होइन। यो त रचना गर्ने विषय हो।
सिमान्तकृत काउत्स्की, ट्रटस्की र रोजा लेनिन, स्टालिन, कार्ल काउत्स्की, ट्रटस्की र रोजा लक्जेम्बर्गहरूबीच भएका बहसहरू विश्व कम्युनिष्ट आन्दोलनका चिर्चित बहसहरू हुन्। हामीले लेनिन र स्टालिनका तर्कहरू सुनेका छौं। तर सिमान्तकृत बनाइएका कार्ल काउत्स्की, ट्रटस्की र रोजा लक्जेम्बर्गहरू पनि निकै शक्तिशाली देखिन्छन्। कम्युनिष्टहरूका लागि शान्तिपूर्ण संसदीय संघर्षको महत्त्वसम्बन्धी कार्ल काउत्स्कीका विचार, पार्टीमा शक्ति केन्द्रीकरणमाथि असहमत ट्रटस्कीका विचार र आत्मनिर्णयको अधिकारसम्बन्धी रोजाका विचारहरू आज हेर्दा निकै अर्थपूर्ण र सान्दर्भिक देखिन्छन्।
काउत्स्की कम्युनिष्टहरूका लागि बलप्रयोग अन्तिम र बाध्यात्मक अवस्थामात्र ठान्थे। उनी संसदीय संघर्षलाई स्वीकार गर्थे। हेर्दा लाग्छ, मदन भण्डारी काउत्स्कीबाट निकै प्रभावित छन्। यता ट्रटस्की महत्त्वपूर्ण बोल्सेभिक नेता थिए। बोल्सेभिक क्रान्तिका राजनीतिक नेता लेनिन थिए भने सशस्त्र संघर्षका अगुवा ट्रटस्की थिए। २४ अक्टोबर १९१७ मा बोल्सेभिक पार्टीका सशस्त्र कार्यकर्ताले पेत्रोगाद कब्जा गरे। ट्रटस्की पेत्रोगाद सोभियतको अध्यक्ष थिए। ट्रटस्कीकै सम्पूर्ण रेखदेख र अगुवाइमा उक्त सैन्य कारबाही भएको थियो। सन् १९२१ को क्रोन्सटाड विद्रोहलाई दमन गर्ने सैनिक नेता पनि ट्रटस्की नै थिए। तर ट्रटस्की स्टालिनको सर्वसत्तावाद र शक्ति केन्द्रीकरणको विपक्षमा थिए। कुरा सुन्दा आजका एमाओवादी नेता डा. बाबुराम भट्टराई उनीबाट प्रभावित हुनसक्छन्। ट्रटस्की जनवादलाई अझ बलियो बनाउन चाहन्थे। त्यसैले उनी पार्टीको एघारांै महाधिवेशनमा कारबाहीमा परे। उनलाई साइवेरिया पठाइयो। सन् १९४० मा मेक्सिकोको एउटा गाउँमा बस्दै गरेका उनलाई कसैले बन्चरो प्रहारबाट हत्या गर्‍यो। यो हत्यामा सोभियत गुप्तचरहरूको हात रहेको शंका गरिन्छ। त्यही समय बुखारिन र कामेनेभजस्ता नेताहरूको समेत हत्या भयो।
स्टालिनको जनवादी केन्द्रीयता कति त्रासद थियो, बुझ्नका लागि त्यो बेलाका केही सन्दर्भहरू काम लाग्छन्। सन् १९३४ देखि १९३९ को समयमा लगभग ५० लाख पार्टी सदस्यहरू विभिन्न राजनीतिक कारणले गिरफ्तार भए। ती मध्ये झन्डै ५ लाखको हत्या नै गरिएको अनुमान छ। रोचक प्रसंग के भने सन् १९३४ मा पार्टीको सत्रौं महाधिवेशनमा भाग लिन आएका १८२७ प्रतिनिधिमध्ये १९३९ को अठारौं महाधिवेशनमा ३७ जनामात्र बचेका थिए। यी सबै हत्यामा स्टालिनको संलग्नता रहेको आरोप लगाउने गरिन्छ। यस्तो आम कत्लेआमका लागि उनीहरूलाई पार्टी निर्णय र नेता विरोधी गतिविधि गरिएको नियोजित दोष लगाइन्थ्यो। भनिन्छ, सन् १९४१ देखि १९४५ सम्म ४ वर्ष पार्टी केन्द्रीय कमिटीको एउटा पनि बैठक बसेन। जे थिए, स्टालिन थिए। उनको अगाडि जनवादको 'ज' पनि थिएन। एउटा रोचक अन्योल के भने तिनै स्टालिनलाई नेपाली कम्युनिष्टहरूले अझै आफ्ना कार्यालयका भित्तामा गैरवका साथ सजाएका छन्।
रोजा लक्जेम्बर्ग जर्मन कम्युनिष्ट पार्टीकी संस्थापक नेता हुन्। उनको संलग्नता जर्मनबाहेक पोलिस मजदुर आन्दोलनमा पनि थियो। रोजा कम्युनिष्ट अन्तर्राष्ट्रियकी नेता थिइन्। लेनिनसँंग उनको अनेकौं विषयमा विवाद थियो। मुख्यतः उनी लेनिनको आत्मनिर्णयको अधिकार, क्रान्तिको निर्यात गर्ने शैली र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा सोभियत हस्तक्षेपको विपक्षमा थिइन्। सन् १९१९ मा जर्मन विद्रोहमा रोजाको हत्या गरियो।
इतिहासको गर्तमा लुकेका र सोभियत संस्थापनको पूर्वाग्रहमा परेका अनेकौं विचार र बहसहरू संसारकै समाजवादी आन्दोलनमा सिमान्तकृत गरिएका छन्। सन् १९७० को दशकमा केही राजनीतिज्ञ र प्राज्ञहरूले विकसित पुँजीवादी समाजमा समाजवादको प्राप्ति सशस्त्र संघर्षबाट नभई वैधानिक संघर्षबाट पनि सम्भव छ भन्ने मान्यता राखेका थिए। उनीहरू मानवअधिकार, कानुनी शासन, वैधानिक हस्तक्षेप र सुधारजस्ता विषयहरूले राज्यको संरचना र चरित्रलाई फेर्न सकिने ठान्थे। ती विचारहरूको अध्ययन आजको समाजवाद निर्माण गर्न चाहनेहरूका लागि निकै महत्त्वपूर्ण काम हो।
माक्र्सले वर्गहरू बीचको द्वन्द्वको चर्चा गरे। तर द्वन्द्व वर्गहरूको मात्र नभई विपरीत मनोविज्ञानहरूबीच पनि रहन्छ। मनोविज्ञान निर्माणको आधार उत्पादन सम्बन्धमात्र हुँदैन। माक्र्स वा जोन लकले बजारलाई आआफ्नै विरोध र समर्थनका आधारबाट महत्त्व दिए। उनीहरूका लागि व्यक्ति गौण भयो। तर व्यक्तिलाई गौण मान्न सकिँदैन। व्यक्ति, यसको मनोविज्ञान र मनको वेग निकै महत्त्वपूर्ण कुरा हो। यसर्थ राज्यले वर्ग हैन, व्यक्तिको सार्वभौमिकताको रक्षा गर्नुपर्छ। मुख्य कुरा राज्यको जसरी रंग हँुदैन, धर्म र वर्ण हँुदैन, त्यसरी नै वर्गीय पक्षधरता पनि हुनुहुँदैन। राज्य सबैका लागि साझा र समान हुनुपर्छ। राज्यले मान्छेको हितलाई सर्वोपरी मान्नुपर्छ नकि वर्गको। किनभने मान्छे वर्गहरूभन्दा माथि छ। मान्छे सबैभन्दा उच्चतम सार्वभौम इकाइ हो। त्यसैले मान्छेको सार्वभौमिकताको रक्षा र समृद्धि नै राजनीतिको महानतम उद्देश्य हो।
राजनीतिक बहसमा सिमान्तकृत बनाइएका यी विचारहरूबाट हामीले फाइदा लिनसके त्यो निकै महत्त्वपूर्ण उपलब्धि हुनेछ।

प्रकाशित : भाद्र १४, २०७१ १०:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT