कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

छावा फुटबलमा टान तेस्रो

विमल खतिवडा

सौराहा — बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा जारी ११ औं हात्ती महोत्सवअन्तर्गत सोमबार छावाहरूबीच तेस्रो स्थानका लागि भएको फुटबल खेलमा ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) विजयी भएको छ ।

छावा फुटबलमा टान तेस्रो

सिजी फुड्सलाई ३-१ को गोल अन्तरले पराजित गर्दै टानले तेस्रो स्थान पक्का गरेको हो । टानका लागि अमलटारी गजले २ र सिमसिम कलीले १ गोल गरेका थिए । सिजीका लागि सरस्वती कलीले एक गोल मात्र फर्कायो । पहिलो हाफको तेस्रो मिनेटमै अमलटारी गजको गोलबाट टानले अग्रता लिएको थियो ।
खेलको १४ औं मिनेटमा टानका तर्फबाट अर्को गोल थपिएसँगै जितका लागि अग्रता मिल्यो । दोस्रो हाफको दुई मिनेटमा पुनः टानका तर्फबाट गोल भएपछि जित सुनिश्चित भएको थियो । दोस्रो हाफको पाँचौं मिनेटमा सिजी सान्त्वना गोल फर्काउन सफल भयो । ३० मिनेटको खेल प्रतिस्पर्धात्मक बन्दा दर्शक रमाए । यसअघि सिजी फुड्स प्रभु बैंकसँग र टान ग्रान्डी इन्टरनेसनल हस्पिटल काठमाडौंसँग पराजित भएका थिए । मंगलबार प्रभु बैंक र ग्रान्डी हस्पिटलबीच फाइनल प्रतिस्पर्धा हुँदैछ ।
उता सोमबार नै भएको हात्ती दौडको सेमिफाइनलबाट ३ वटा हात्ती फाइनलमा प्रवेश गरेका छन् । समूह 'बी' अन्तर्गत १ सय ५० मिटरको दौडमा बुबो ट्राभल्सको ब्युटी कली, आउट साइन एडभेन्चरको लक्की कली र होटल ल्यान्डमार्क पोखराको लक्ष्मी कली 'ए' फाइनलमा प्रवेश गरेका छन् । बुबो ट्राभल्स हात्ती दौडमा सुरुदेखि नै सहभागी भए पनि पहिलो पटक फाइनल प्रवेश गर्न सफल भएको हो । ६ वटा हात्तीबीच मंगलबार फाइनल प्रतिस्पर्धा हुने नतिजा प्रकाशन समितिका संयोजक ऋषि तिवारीले बताए ।
त्यस्तै गाडा दौड र टाँगा दौड प्रतियोगिताको फाइनल प्रतिस्पर्धा भएको छ । टाँगा दौड प्रतियोगितामा पारदर्शी दैनिक प्रथम, शुभलक्ष्मी मेडिकल हल द्वितीय र विजय एफएम तृतीय भए ।

 

प्रकाशित : पुस १५, २०७१ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?