कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

विनोद एक्सप्रेस

पूर्व क्रिकेट कप्तानको करिअर
विनाेद पाण्डे

दुई साताअघि राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरिएयता विनोद दास एकैखाले प्रश्नहरूले घेरिएका छन, 'के अब खेलाडी जीवन त्याग्नु भएको हो ? फेरि खेल्नु हुन्न ?' यसको ठ्याक्कै उत्तर उनीसँग छैन ।

विनोद एक्सप्रेस
किनकी उनी आफैं पनि १७ वर्ष खेलाडी जीवन कसरी टुंगाउने भन्ने अन्यौलमा छन् ।
विनोद मैदानमा खेलाडीको रुपमा नदेखिएकै धेरै भइसकेको छ । २०१२ को एसिसी ट्रफीयता उनले राष्ट्रिय टोलीबाट खेलेका छैनन् । उनको क्षेत्रको टोली वीरगन्जले गत वर्ष खेलेको पछिल्लो राष्ट्रिय प्रतियोगितामा पनि विनोद थिएनन् । यसले विनोदको खेल जीवनको पूर्णविराम लिइसकेको बुझ्न सकिन्छ । तर सबैको प्रश्न एउटै जस्तो छ, 'आखिर विनोद दासले आधिकारिक सन्न्यास कहिले लिन्छन् ?'
विनोद भने सेफ ल्यान्डिङ खोजिरहेका छन् । 'एउटा प्लेटर्फमबाट खेल्न छाडेको घोषणा गरौं भन्ने मात्र हो,' उनी भन्छन्, 'मैदान भित्रबाटै घोषणा गर्न पाउने हो भने सबैलाई थाहा पाउँछन् । म १६-१७ वर्षदेखि खेलिरहेको छु, त्यसलाई अँध्यारो कोठामा टुंग्याउन चाहन्नँ ।' छोटकरीमा भन्दा उनी चाहन्छन्- नेपालको जर्सी लगाएर खेलेको कुनै ठूलो प्रतियोगितामा सन्न्यासको घोषणा होस् ।
एक समय यस्तो थियो विनोद दास नेपाली क्रिकेटको पर्यायजस्तै थिए । तर, जब उनको खेल सुस्तायो, नेपाली क्रिकेट उकालो लाग्यो । नेपाली क्रिकेटको यही उकाली यात्राले ट्वान्टी-२० विश्वकप यात्रा पनि पुरा गर्‍यो । अहिले नेपालसँग ट्वान्टी-२० अन्तर्राष्ट्रियको मान्यता पनि छ । विनोद यी दृश्यबाट टाढा छन् ।
गत वर्ष विश्व ट्वान्टी-२० छनोटको हङकङसँगको खेल मैले विनोदसँगै हेरेको थिएँ । त्यो खेल जितेमा नेपाल विश्वकप पुग्थ्यो । अन्तिम बलको तनावसँगै शरद भेषावकरले १ रन लिएपछि नेपाल विश्वकपमा छनोट भयो । मैले उनीतिर हेर्दा उनले आँशु पुछिसकेका थिए । उनको आँशुमा नेपालले विश्वकपको सपना पुरा गरेको खुशी प्रस्ट छल्किएको थियो ।
विनोद खेल्न सुरु गर्दा ट्वान्टी-२० आइसकेको थिएन । उनले एक दिन माथिल्लो क्रिकेट खेल्ने चाहाना बनाएका थिए । जुन हरेक क्रिकेट खेलाडीको हुन्छ । ट्वान्टी-२० का रुपमा नेपालसँग अहिले त्यही माथिल्लो स्तरको मान्यता छ । त्यसमा आफ्नो नाम जोडेर खेलाडी जीवनबाट विदाई हुने विनोदको एउटा चाहना हो ।
नेपालको ट्वान्टी-२० अन्तर्राष्ट्रियमा जोडिनुबाहेक विनोद कसैले उनको खेल जीवन टुंगाउन ठुलै निर्णय लियोस भन्ने झिनो आशा यस्तो छ, 'नेपालका फुटबल खेलाडीले सन्न्यासको घोषणा गर्दा कारको साँचो, फ्ल्याटको डमी लिएर निस्किन्छन्, मैले पनि देशबाट यत्रो खेले, केही हुन्छ की भनेर चमत्कारी निर्णय कुरेर बसेको छु ।' नेपाली क्रिकेटमा यस्तो आशा पुरा हुन गाह्रो हुने उनले पनि बुझेका छन् । जसरी एउटा खेलाडी मैदानमा छिरेपछि अन्तिम बलसम्म डटिरहेको हुन्छ । विनोद पनि डटिरहेका छन् । 'आशा त बाँकी छ, अरु के छ र !'
.....................
कलैयाको एउटा क्रिकेट माहोल थियो । शुशील चौंगाईको प्रयासमा बनेको यो माहोलले विनोद दासलाई नेपाली क्रिकेटको पहिलो रोल मोडल बनायो । विनोदसँगै शक्ति गौचन, महबुब आलमलगायतले नेपाली क्रिकेटमा ग्लायमर भित्राए । नेपाली खेलकुदमै सुपरस्टार छवि बनाइसकेका क्रिकेटका वर्तमान कप्तान पारस खड्का आफु विनोद दासलाई रोल मोडल मानेर क्रिकेटमा लागेको बताउने गर्छन् ।
विनोद दास १३ वर्षकै उमेरमै बारा जिल्लाको मुख्य टोलीमा परिसकेका थिए । १४ वर्षको उमेरमा उनले २०५४ को भैरहवा राष्ट्रिय क्रिकेटमा बाँकेविरुद्ध हृयाटि्रक नै गरे । त्यसपछि विनोदको खेल उनको बलिङको गति झै अगाडि बढिरह्यो । १५ वर्षमै उनी नेपालको यु-१९ टोलीमा परिसकेका थिए । २००० देखि राष्ट्रिय टोलीबाट खेलिरहेका छन् ।
२००१ मा काठमाडौंमा भएको एसिसी यु-१९ कपमा नेपाल विनोदकै नेतृत्वमा ओर्लियो । रोय डायसको प्रशिक्षणमा पहिलोपटक उत्रेको नेपाललाई कसैले चुनौती दिन सकेनँ । नेपाल च्याम्पियन भयो । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको ५ वर्षपछि नै नेपालले पहिलो उपाधि जित्यो । नेपाललाई उपाधि दिलाउने विनोद पहिलो कप्तान भए । उपाधिसँगै नेपाल लगातार दोस्रोपटक आइसीसी यु-१९ विश्वकपमा छनोट भएपछि अन्तर्राष्ट्रिय क्रिकेटको नजरमा बल्ल पर्न लाग्यो ।
दशक अगाडिसम्म क्रिकेटप्रति स्थानीय स्तरमा जुन लगाव थियो त्यही कारण नेपाली क्रिकेट यो स्थितिमा आइपुगेको उनी मान्छन् । 'हामी हुँदा कलैयामा जुन संस्कार थियो, त्यो अहिले देखिन्दैन् । अहिले कलैयाको जुन टिम छ, हामी खेल्दा त्यो 'सी' टोलीका लागि पनि पर्याप्त हुदैन्थ्यो,' विनोद यसमा आफ्नै कमजोरी पनि देख्छन् । कलैयाबाट अगाडी बढदै पवन अग्रवाल र विनोदले राष्ट्रिय टोली एवंम कनिष्क चौंगाईले नेपाली यु-१९ टोलीको नेतृत्व गरे । एक समय राष्ट्रिय टोलीमा विनोद, सञ्जम रेग्मी, कनिष्क र विकास दली गरी कलैयका चार खेलाडी हुन्थे । 'कलैयाबाट खेलिसकेका हामी सिनियर खेलाडीले आफ्नो भुमिका निभाउन नसकेको बुझेका छौं, कुनै न कुनै दिन कलैयालाई पुरानै स्वरुपमा उभ्याउन प्रयास गर्नेछु,' विनोदको गृहनगर प्रति उतिकै मोह राख्छन् ।
विनोदको बुवा, आमा अहिले पनि कलैयामै छन् । २-३ महिनाको फरकमा काठमाडौं आउँछन् । विनोद दसैं, छठ, होलीलगायत पर्वमा कलैया जान्छन् । गएको समयमा क्लबमा पुर्नमिलन गराउन प्रयास गर्छन् । क्लबलाई व्यवस्थित रुपमा चलाउन नसकेको, नेतृत्वको अभावले पनि खेलाडी निस्किन गाह्रो भएको उनले देखेका छन् । काठमाडौंमा बसाइ सरेको १० वर्ष भयो उनको । यसक्रममा उनले एउटा के बुझेका छन भने तराईमा हुँदा जति अभ्यास गर्थे त्यो काठमाडौंमा गएपछि भएन् । मैदान अभाव एउटा पाटो होला, उनको मोह कलैयामा जस्तो भएन् ।
विनोदको कप्तानीमा नेपालले एउटा 'बेन्च मार्क' बनाए पनि निणर्ायक खेलमा हारिरहयो । पाँच प्रमुख प्रतियोगिताको सेमिफाइनलमा रोकियो । एउटा कप्तानको रुपमा विनोद एसीसी ट्रफी जित्न चाहन्थे । डिभिजन २ मा नेपाललाई पुर्‍याउन चाहन्थे । एसीसी ट्रफीमा दुईपटक नेपाल सेमिफाइनलमा चुक्यो । डिभिजन २ मा पनि त्यही दोहरियो । अहिले उनलाई आफ्नो कप्तानीमा निश्चित ठाउँमा राम्रो गर्न नसकेको अनुभव हुन्छ । 'एउटा स्तरमा मैले आफ्नो प्रदर्शन दिएको छु, त्यसमा म खुशी छु । मेरो समयमै नेपाली टोली अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित भयो,' विनोद गर्व पनि गर्छन् । उनको कप्तानीमा नेपालले विशेष गरी तीनदिवसीय खेलमा ठुलो प्रभाव देखायो । उनकै कप्तानीमा २००५ मा जितेको एसीसी फास्ट ट्रयाक कन्टिज तीनदिवसीय नेपालको पहिलो प्रमुख प्रतियोगिता पनि हो ।

होटल क्राउन प्लाजाबाट कीर्तिपुर अभ्यास गर्न र खेल्न जाँदा विनोदले आफ्नो खेल जीवनलाई मात्र अगाडी बढाएनन्, जीवन नै बसाले । नक्सालको क्राउन प्लाजा होटल अगाडी घर भएकी करुणा केसीसँग उनको ६ वर्ष अगाडी प्रेम विवाह भयो । अहिले ५ वर्षकी छोरी विदिशा र १८ महिनाका छोरा सन्नी छन् । नक्शालमा बसेको प्रेमका कारण उनीसँगै खेलेका खेलाडी विनोदलाई अहिले पनि 'नक्शाल एक्सप्रेस' भनेर बोलाउँछन् ।
विनोद खुलेर बोल्छन् । उनका केही भनाइ वाणी जसरी स्थापित छन् । नेपालले २००२ मा न्युजिल्यान्डको विश्वकपमा लगातार ६ खेल जित्यो । त्यसमा विनोदले दिएको प्रतिक्रिया थियो, 'हाम्रा खेलाडीलाई जित्ने बानी परिसकेको छ ।' ७ वर्ष अगाडी उनी वर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका थिए । उनले भने, 'मनोनयनमा पर्नु नै पुरस्कार जित्नु हो, पुरस्कार नै जित्नु बोनस हो ।'
विनोदको स्थानमा २००९ मा पारस कप्तान भए । त्यसयता नेपाली क्रिकेटले ठुलो छलाङ मार्‍यो । विनोदको एसिसी ट्रफी जित्ने चाहाना पारसकै कप्तानीमा पुरा भयो । विनोद त्यो टोलीका सदस्य थिए । अरुमा भने विनोद नेपाली क्रिकेटकै संरचना बाहिर जस्तो छन् । 'अहिलेको टोलीले त्यही एक खुटकिलो माथि पुर्‍याएको मात्र हो नेपाली क्रिकेटलाई,' उनी आफ्नो कप्तानीपछिको नेपाली क्रिकेटलाई यसरी तुलना गर्छन् । विनोदलाई लाग्छ नेपाली क्रिकेटले प्रदर्शनमा सुधार गरेको छ । मुख्य पक्ष 'लक फ्याक्टर' हो, जुन उनी आफ्नो पालामा नभएको मान्छन् । पालो सबैको आउँछ । विनोद पनि एक समय उत्कृष्टताको शिखरमा थिए । जतिखेर उनलाई इङ्ल्यान्डको काउन्टी क्रिकेटमा लैजान हङकङका वि्रटिश प्रशिक्षक अफ्ताब हबिबले धेरै प्रयास गरेका थिए । 'खेलाडीको उत्कृष्टता एउटा समयमा आउँछ, मैले आफ्नो टोलीबाट खेल्दा उत्कृष्टतामा ठिक्क समय बिताए । अहिले पारस त्यो उत्कृष्टतामा छ । सबैले अगाडी बढ्दै जानुपर्छ, मेरो प्रशिक्षण यात्रा पनि त्यही हो,' उनले भने ।
...................
विनोद भने अहिले यस्तो समयमा छन्, जहाँ धेरै बेर घोरिएर आफ्नो भविष्य बारे के निर्णय गर्ने भनेर सोचिरहेका हुन्छन् । हृवाइट हाउस कलेजमा मास्टर्स गरिरहेका उनी पहिला सोही कलेज र जेभियर इन्टरनेसनल कलेजमा क्रिकेट प्रशिक्षक थिए । यसैले उनको खर्च चलेको थियो । श्रीमती करुणा बुद्ध एयरमा जागिर गर्छिन् । विनोद प्रहरी जवान हुन् । अहिलेको घर खर्च यी दुईको तलबबाट चलेको छ ।
नेपाल प्रहरीले क्रिकेट टोली बनाउने भनेर ८ वर्ष अगाडी केही खेलाडी लिदा विनोद पनि थिए । ४ वर्ष अगाडी बल्ल प्रहरीको टोली बन्यो । एकदिवसीय राष्ट्रियमा फाइनलमा पुगेको प्रहरीले ट्वान्टी-२० राष्ट्रिय प्रतियोगिता नै जित्यो । त्यसपछि प्रहरी टोली फेरी क्रिकेट मैदानमा देखिएन । विनोदले प्रहरी जवानबाट माथि उठ्ने अवसर नै पाएनन् ।
विनोद नेसनल क्रिकेट एकेडेमीमा स्वंयम सेवक प्रशिक्षक हुन् । उनले २०१२ को अन्तमा एसिसी लेभल ३ को प्रशिक्षण कोर्ष गरेका थिए श्रीलंकामा । आफुभन्दा वरिष्ठ प्रशिक्षक जगत टमाटासँगै । यो नेपाली प्रशिक्षकले गरेको सबैभन्दा माथिल्लो कोर्ष हो । ८ महिनापछि उनले त्यसमा २५ जनालाई उछिन्दै पहिलो भएको खबर केही अघिमात्र पाए । त्यसैमा डिभिजन २ को सहयाक प्रशिक्षक बन्नु संयोगमात्र हो ।
नेपाली क्रिकेटमा राम्रो संरचना छैन । फेरी अर्को पटक प्रशिक्षक बन्न कहिले पालो आउने हो उनलाई थाहा छैन । यस्तोमा उनले सोच्दा हुन्, प्रहरीको जागिर छँदैछ । जय नेपाल साप भन्यो बस्यो ।

प्रकाशित : पुस १५, २०७१ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?