कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

धोनीद्वारा टेस्टबाट संन्यास

नयाँदिल्ली (एएफपी) — भारतका विश्वकप विजेता कप्तान महेन्द्रसिंह धोनीले मंगलबार टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । विदेशीभूमिमा अर्को टेस्ट शृंखलामा भारत पराजित भएलगत्तै धोनीले टेस्ट क्रिकेटबाट अलग हुने निर्णय सार्वजनिक गरे ।

धोनीद्वारा टेस्टबाट संन्यास

भारतीय क्रिकेट बोर्डले तत्काल लागू हुने गरी धोनीले टेस्ट क्रिकेट त्यागेको जनाएको थियो । विश्व खेलकुदमै सर्वाधिक आम्दानी गर्नेमध्येका एक धोनीले अब आफू ५० ओभर र ट्वान्टी-ट्वान्टीमा केन्दि्रत हुन चाहेको बताएका छन् ।
धोनी भारतका सबैभन्दा सफल टेस्ट कप्तान हुन् । भारतका पूर्व महान् खेलाडी सचिन तेन्दुलकरसहितले टेस्ट संन्यासमा धोनीको खेल जीवनको प्रशंसा गरेका छन् । एकदिवसीय विश्वकप नजिकिँदै जाँदा धोनीले पाँचदिने खेल टुंग्याउने घोषणा गरेका हुन् । धोनीकै कप्तानीमा भारतले सन् २०११ मा आफ्नै भूमिमा एकदिवसीय जितेको थियो ।
धोनीको नेतृत्वमा उपकप्तान रहेका विराट कोहलीले अस्ट्रेलियाविरुद्धको चौथो तथा अन्तिम टेस्टमा भारतको नेतृत्व गर्ने छन् । जुन सिड्नीमा ६ जनवरीबाट सुरु हुनेछ । मंगलबार भारतले तेस्रो टेस्ट बराबरीमा टुंग्याए पनि अस्ट्रेलियाले बोर्डर-गावस्कर ट्रफी हात पार्‍यो । लगत्तै धोनीको अप्रत्यासित घोषणा आएको थियो । धोनीले अस्ट्रेलियासँगको चौथो खेलपछि टेस्ट क्रिकेट टुंग्याउने अनुमान गरिएको थियो ।
भारतीय टोलीका विकेटकिपर पनि रहेका ३३ वर्षीय धोनी २००८ मा टेस्ट कप्तान बनेका थिए । एकदिवसीय र ट्वान्टी-ट्वान्टीको सफल नेतृत्वपछि उनलाई टेस्टको कप्तानी पनि सुम्पिएको थियो । धोनीले आफ्नो पहिलो कप्तानीमै २००७ मा भारतलाई ट्वान्टी-ट्वान्टी विश्वकप दिलाएका थिए । धोनीको कप्तानीमा भारत २००९ मा विश्व नम्बर एक टेस्ट टोली बनेको थियो ।
तर, विदेशीभूमिमा भारतले हालैका वर्षमा टेस्टमा निकै कमजोर प्रदर्शन गर्दै आएको थियो । २०११ मा इंग्ल्यान्ड र अस्ट्रेलियासँग समान ४-० को हार बेहोरेको भारत यसै वर्षको सुरुवातमा विदेशी भूमिको टेस्ट शृंखलामा ३-१ ले पराजित भएको थियो ।
त्यसका बाबजुद पनि धोनी भारतको सबैभन्दा सफल टेस्ट कप्तान हुन् । धोनीको कप्तानीमा भारतले ६० टेस्टमा २७ मा विजय हात पारेको थियो । १५ बराबरीमा टुंगिएका थिए भने १८ मा भारत पराजित भएको थियो । ९० टेस्टमा भारतले ३८.०९ को औसतमा ४ हजार ८ सय ७६ रन बनाएका छन् ।
सबै तीन संरचनाको क्रिकेटमा कप्तान, ब्याट्सम्यान र विकेटकिपरको भूमिकाले गर्दा धोनीलाई अप्ठयारो परेको थियो । टेस्टमा उनको रक्षात्मक शैलीको पनि आलोचना हुन लागेको थियो ।
अस्ट्रेलियालाई बोर्डर-गावस्कर ट्रफी मेलबर्न- अस्ट्रेलियाले बोर्डर-गावास्कर ट्रफी जितेको छ । भारतले मंगलबार तेस्रो टेस्ट
बराबरीमा टुंगाए पनि त्यो अस्ट्रेलियालाई शृंखला विजय रोक्न पर्याप्त भएन ।
अस्ट्रेलियाले भोजनअघि ३१८-९ मा इनिङ समाप्तिको घोषणा गर्‍यो । भारतले त्यसपछि ७० ओभरमा ३ सय ८४ रन बनाउनुपर्ने विशाल लक्ष्य पायो । ९ ओभरभित्र १९ रन बनाउँदा ३ विकेट गुमाइसकेको स्थितिलाई सम्हाल्दै भारतले टेस्ट बराबरीमा टुंगाउन सफल भयो ।
४ ओभर बाँकी रहँदा टेस्ट बराबरीमा टुंगाउन दुवै कप्तान राजी भए । त्यसबेला भारतको स्कोर १७४-६ थियो । कप्तान महेन्द्रसिंह धोनी २४ र रविचन्द्रन आश्विन ८ रनमा नटआउट रहे । मेलबर्नमा टेस्ट बराबरीमा टुंगिएको १७ वर्षमा यो पहिलो हो । भारतले मेलबर्न क्रिकेट मैदानमा टेस्ट जित्न नसकेको ३३ वर्ष भएको छ ।
एडिलेड र बि्रसवेनको पहिलो दुई टेस्ट जितेको अस्ट्रेलियाले २-० को अग्रतासँगैं शृंखला हात पारेको हो । 'भारतको टोलीमा केही राम्रा ब्याट्सम्यान छन्, विकेट पनि निकै राम्रा थिए, त्यसैले हामीले भारतलाई अवसर नछाडेका हौं,' अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले आफूले इनिङ घोषणाको बचाउ गर्दै भने ।
शिखर धवन शून्य, लोकेश राहुल १ र मुरली विजय ११ रनमै आउट भए । विराट कोहलीले ५४ र अजिन्क्या रहानेले ४८ रन बनाउँदै भारतलाई सुरक्षित स्थितिमा पुर्‍याए । छैटौं नम्बरमा खेलेका चेतेश्वर पुजाराले २१ रन जोडे । अस्ट्रेलियाका मिचेल जोन्सन, रायन हयारिस र जोस हेजलउडले २/२ विकेट लिए ।
अस्ट्रेलियाले २६१-७ बाट पाँचौं तथा अन्तिम दिनको खेल सुरु गरेको थियो । सन मार्स ९९ रनमा रनआउट भए । उनले व्यक्तिगत ६४ रनबाट दिनको खेल प्रारम्भ गरेका थिए । रायन हयारिस २१ रनमा मोहम्मद सामीको बलमा आउट भए ।
स्मिथको १ सय ९२ रनमा अस्ट्रेलियाले पहिलो इनिङमा ५ सय ३० रन बनाएको थियो । कोहली र रहानेले २ सय ६२ रनको साझेदारी गरेपछि भारतले जवाफमा ४ सय ६५ रन बनाएको थियो । कोहलीले १ सय ६९ र रहानेले १ सय ४७ रन बनाएका थिए ।
म्यान अफ द म्याचमा भने हयारिस चुनिए । पहिलो इनिङमा ७४ रन बनाएका हयारिसले टेस्टमा कुल ६ विकेट पनि लिए ।

 

प्रकाशित : पुस १६, २०७१ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?