कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिण अफ्रिका भ्रमण छोटिने

विनोद पाण्डे

काठमाडौ — भिसा समस्याका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीको दक्षिण अफ्रिका भ्रमण एक सातालाई पछाडि सर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पछिल्लो स्थितिपछि दक्षिण अफ्रिका भ्रमणको नयाँ तालिका बनाउने भएको छ ।


नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन-२ को तयारीका लागि नेपालको दक्षिण अफ्रिका भ्रमण तय भएको थियो । डिभिजन-२ जनवरी १७ देखि २४ सम्म आयोजना हुँदै छ । नेपाल जनवरी १ मा दक्षिण अफ्रिका जाने कार्यक्रम थियो । तर, श्रीलंकामा रहेको दक्षिण अफ्रिकी दूतावासले मंगलबारसम्म नेपाली क्रिकेट टोलीलाई भिसा प्रदान गरेको छैन । नयाँ वर्षको बिदाका कारण दूतावास सोमबार मात्र खुल्ने हुनाले नेपाल आफ्नो तालिकाअनुसार दक्षिण अफ्रिका नउड्ने पक्का भएको हो ।
'हामीले समयमै भिसा आवदेन गरेका हौं, तर क्रिसमस र नयाँ वर्षका कारण भिसा समस्या भयो,' नेपाल क्रिकेट संघका कार्यबाहक महासचिव उत्तम कर्माचार्यले भने, 'श्रीलंकामा रहेको दक्षिण अफ्रिकी दूतावासले जनवरी ५ वा ६ मा भिसा दिने भनेको छ । त्योअनुसार हामीले दक्षिण अफ्रिका भ्रमणको नयाँ तालिका बनाउन लागेका छौं ।'
उनले नेपाली टोली जनवरी ८ मा दक्षिण अफ्रिका उड्ने सम्भावना रहेको जनाए । 'अहिलेको स्थितिमा हामीले दक्षिण अफ्रिकामा अझै तीन अभ्यास खेल्ने छौं र केही अभ्यास सत्र हुनेछ,' कर्माचार्यले भने । यसअघिको तालिकाअनुसार नेपालले दक्षिण अफ्रिकामा चार अभ्यास खेल खेल्ने र पाँच दिन नेटमा अभ्यास गर्ने कार्यक्रम थियो ।
कर्माचार्यका अनुसार दिल्लीमा नामिबियाको भिसा लिएपछि दक्षिण अफ्रिकाको भिसा लिन श्रीलंका गएको थियो । नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिस्ट रमन सिवाकोटी दिल्लीमा नामिबियाको भिसा लिँदै दक्षिण अफ्रिकाको भिसा लिन श्रीलंका पुगेका थिए । श्रीलंकामा नेपालले डिसेम्बर २२ मा दक्षिण अफ्रिकाको भिसा आवेदन भरेको थियो । तर, क्रिसमस र नयाँ वर्षका कारण नेपाली टोलीले समयमै भिसा पाउन नसकेको बताइएको छ ।
यसअघिको निर्धारित तालिकाअनुसार दक्षिण अफ्रिकाको बेनोनीमा नेपालले जनवरी ५ मा इस्टर्न सेमी, ७ मा नर्थन सेमी, ८ मा गाउटेङ सेमी र १२ मा एकेडेमी टोलीसँग अभ्यास खेल खेली जनवरी १३ मा नामिबिया जाने कार्यक्रम थियो । डिभिजन-२ मा नेपालले घरेलु टोली नामिबियासँगै केन्या, नेदरल्यान्ड, क्यानाडा र युगान्डासँग प्रतिस्पर्धा गर्दै छ ।

 

प्रकाशित : पुस १६, २०७१ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?