कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

क्यानाडामाथि नेपालको सानदार जित

विश्व क्रिकेट लिग डिभिजन-२

काठमाडौ — करण केसीको सानादार बलिङ र पारस खड्काको अलराउन्ड प्रदर्शनमा नेपालले विश्व क्रिकेट लिग डिभिजन-२ मा मंगलबार क्यानाडाविरुद्व ७ विकेटको सहज विजय हात पारेको छ ।

 क्यानाडामाथि नेपालको सानदार जित
करण केसीको सानदार बलिङ र पारस खड्काको अलराउन्ड प्रदर्शनमा नेपालले विश्व क्रिकेट लिग डिभिजन-२ मा मंगलबार क्यानडाविरुद्व ७ विकेटको सहज विजय हात पारेको छ।
करणले ५ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा ४९.२ ओभरमा ११४ रनमा अलआउट भयो। नामिबियामा भइरहेको प्रतियोगितामा नेपालले २३.१ ओभरमा लक्ष्य पूरा गरी डिभिजन-१ मा उक्लने सम्भावनालाई बलियो बनायो। यससँगै नेपालले गत वर्ष न्युजिल्यान्डको विश्वकप छनोटमा पाएको १२ रनको बदला पनि लिएको छ।
नेपालका प्रशिक्षक पुबुदु दासानायकेका लागि यो विजयले ठूलो अर्थ राख्छ। क्यानडाले सन् १९७९ मा पहिलोपटक विश्वकप खेलेको थियो। चारपटक विश्वकप सहभागिता जनाउने क्रममा २०११ मा दासानायकेले नै क्यानडालाई विश्वकपमा डोर्‍याएका थिए। त्यसपछि उनी नेपाल आएका थिए।
घरेलु टोली नामिबिया लगातार तीन खेल जिती शीर्ष स्थानमा छ। नेपालले तीनमध्ये दुई खेल जिती दोस्रो स्थानमा छ। यी दुई टोली बुधबार भिड्दै छन्। नामिबियाले मंगलबार प्रमुख दाबेदार मानिएको नेदरल्यान्डलाई १८८ रनले पराजित गर्‍यो। नेदरल्यान्डले दुई खेल हारिसकेको छ। केन्या, क्यानडा र युगान्डाको पनि यही स्थिति छ।
सोमपाल कामीले पहिलो ओभरमै नीतिश कुमारलाई खाता खोल्न नदिई पभेलियन फर्काएर नेपाललाई सानदार सुरुवात दिलाए। यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका करणले १० ओभरमा २ मेडन राख्दै २६ रन खर्चेर ५ विकेट लिए। खेलको दोस्रो तथा आफ्नो पहिलो ओभरमै रिजबान चिमाले करणलाई छक्का हानेका थिए। तर, करणले अर्को ओभरमा चिमा र रुविन्दु गुनासकेरालाई आउट गरे।
अघिल्लो दुई खेलमा विकेट लिन नसकेका तीव्र बलर करणले श्रीमान्थ विजेरत्नेलाई आउट गरे। करणले आफ्नो सानदार पहिलो स्पेलमा नविति धलिबाललाई २ रनमा आउट गरे। ४४औं ओभरमा निखिल दत्तालाई आउट गरी आफ्नो विकेट संख्या ५ पुर्‍याए। लिस्ट
'ए' मान्यता प्राप्त खेलमा नेपाली खेलाडीले ५ विकेट लिएको पहिलो अवसर हो। पारसले युगान्डासँगको पहिलो खेलमा १४ रन खर्चेर ३ विकेट लिनु नेपाली खेलाडीको लिस्टमा यसअघिको उत्कृष्ट प्रदर्शन थियो।
सोमपाल कामीले २ विकेट लिए। अघिल्लो २ खेलमा पनि २-२ विकेट लिएका सोमपालले १० ओभरमा २ मेडन राख्दै २८ रन खर्चे। पारस, शक्ति गौचन र सागर पुनले १-१ विकेट लिए। पारसले १० ओभरमा १ मेडन राख्दै १७ र शक्तिले ५.२ ओभरमा ५ रन खर्चे। वसन्तले कुनै विकेट लिन सकेनन्। २२ रनमा ५ विकेट गुमाएको क्यानडाबाट जिम्मी हान्साराले २२ रन बनाए। उनले १०३ बल खेली १ चौका प्रहार गरे। सतसिमरन्ज ढिन्डसा २५ रनमा अविजित रहे। नवौं नम्बरमा ब्याटिङ गरेका उनले ३७ बल खेली १ चौका प्रहार गरे।
नेपाल सुरुवातमै धरमरायो। दोस्रो ओभरमा खाता खोल्नुअघि ओपनरद्वय नरेश बुढाऐर र सुवास खकुरेललाई गुमाइसकेको थियो। सुवास रनआउट भए। युगान्डासँगको
पहिलो खेलमा नरेश रनआउट भएका थिए। तर, पारस र उपकप्तान ज्ञानेन्द्र मल्ले ११४ रनको साझेदारी गरेपछि नेपालले सहज जित हात पार्‍यो।
पारसले ७७ रन बनाए। स्कोर बराबर भएको अवस्थामा पारस आउट भए। उनले ७८ बल खेली ११ चौका र ३ छक्का प्रहार गरे। ज्ञानेन्द्र ३२ रनमा अविजित रहे। ५१ बल खेलेका उनले ५ चौका प्रहार गरे। विनोद भण्डारी १ रनमा अविजित रहे।

पारसको हजार रन
पारस विश्व क्रिकेट लिग डिभिजनमा एक हजार रन पूरा गर्ने नेपालको पहिलो खेलाडी बनेका छन्। मंगलबार ४ रन बनाएसँगै पारसले यो सफलता पाएका थिए। पारसले ४८ खेल खेल्दै यो सफलता हात पारेका हुन्।
पारसले २००८ देखि विश्व क्रिकेट लिग खेल्दै आएका छन्। जसमा उनले ६ अर्धशतक बनाइसकेका छन्। नेपालले २०१० मा काठमाडौंमा डिभिजन-५ जित्दा पारसले ३ अर्धशतक बनाएका थिए, जसमा फिजीविरुद्ध बनाएको ७५ रन उनको यसअघिको उच्च स्कोर थियो। पारसले क्यानाडासँग ७७ रन बनाउँदै विश्व क्रिकेट लिगमा आफ्नो उच्च स्कोर मात्र बनाएनन्, लामो समयदेखि चल्न नसकेको आफ्नो ब्याटलाई पनि वान्डर्स क्रिकेट मैदानमा मजाले घुमाए।

प्रकाशित : माघ ६, २०७१ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?