१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अस्ट्रेलियाद्वारा शृंखला कब्जा

एएफपी

मेलबर्न — नाथान लायन र मिचेल मार्सले अस्ट्रेलियालाई वेस्ट– इन्डिजविरुद्धको दोस्रो टेस्टमा १ सय ७७ रनको विजय दिलाएका छन् । यससँगै अस्ट्रेलियाले २–० को अग्रतामा तीन टेस्ट शृंखलाको फ्रांक वारेल ट्रफी फेरि आफ्नो कब्जामा राखेको छ ।

अस्ट्रेलियाद्वारा शृंखला कब्जा

होबर्टको पहिलो टेस्ट एक इनिङ्स र २ सय १२ रनले जितेको अस्ट्रेलियाले वेस्ट–इन्डिजको दोस्रो इनिङ्सलाई चौथो दिनको खेलको अन्तिम ओभरमा २ सय ८२ रनमा सीमित पारिदियो । भ्रमणकारी टोली वेस्ट–इन्डिजले पहिलो इनिङ्समा २ सय ७२ रनमात्र बनाउन सकेको थियो ।

अस्ट्रेलियाले १७९–३ को अघिल्लो दिनकै स्कोरमा दोस्रो इनिङ्स समाप्तिको घोषणा गरेपछि वेस्ट इन्डिजले ४ सय ६० रनको लक्ष्य पाएको थियो । तर कप्तान जेसन होल्डर र पूर्वकप्तान दिनेश रामदिनले छैटौं विकेटमा १ सय रनको साझेदारी गरेपछि मात्र वेस्ट–इन्डिजको स्कोर हेर्न लायक बनेको थियो ।

वेस्ट–इन्डिजले बाँकी ४ विकेट चाँडो अन्तरमा गुमायो । दिनको खेल समाप्त हुनु १.३ ओभर अगाडि वेस्ट–इन्डिजको इनिङ सकिएको थियो ।

रामदिनले ९० बल खेली ८ चौकासहित ५९ रन बनाए । पछिल्लो २ वर्षमा टेस्टमा यो उनको उच्च स्कोर हो । होल्डरले ८६ बलमा ७ चौका र २ छक्काको मद्दतले ६८ रन बनाए । उनीहरूले २१ ओभर अस्ट्रेलियाली बलिङको प्रतिरोध गरे ।

मार्सको बलिङमा पिटर नेभिलले रामदिनको क्याच लिएपछि यो साझेदारी टुटेको थियो । शृंखलामा वेस्ट–इन्डिजको यो पहिलो शतकीय साझेदारी थियो ।

वेस्ट–इन्डिजबाट ओपनर क्रेग ब्राथवेटले ३४ बलमा ३१ रन बनाए । उनी आउट हुँदा वेस्ट–इन्डिजको स्कोर ३५ रन थियो । अर्का ओपनर राजेन्द्र चन्द्रिकाले १ सय ३० बल खेली ३७ रन बनाए । डारेन ब्राभो २१, मार्लोन सामुइल्स १९, जेरमाइन ब्ल्याकउड २० रनमा आउट भए ।

खेलमा ७ विकेट लिएका अफ स्पिनर लायन म्यान अफ द म्याचमा चुनिए । उनले मंगलबार २३ ओभरमा ८५ रन खर्चेर ३ विकेट लिएका थिए । अलराउन्डर मार्सले ६१ रन खर्चेर ४ विकेट लिए ।

‘यस सिजनमा लायनले जे गरिरहेका थिए, आज त्यही गरे । उनले महत्त्वपूर्ण समयमा विकेट लिए । बलिङ राम्रो गरे,’ अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले मार्सका बारेमा भने, ‘जब उनी लयमा हुन्छन्, अस्ट्रेलियामा भएका बलरहरूमै राम्रो देखिन्छन् । उनले आज त्यही लयमा बलिङ गरेका हुन् ।’

आफ्ना खेलाडीले जसरी खेले, त्यसमा आफूले गर्व गर्ने स्मिथका प्रतिद्वन्द्वी समकक्षी होल्डरले बताए ।

प्रकाशित : पुस १५, २०७२ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?