कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

भैंसी चराउँदै साफ खेलाडी

भरत जर्घामगर

कसहा (सिरहा) — देशको प्रतिनिधित्व गर्दै सातौं दक्षिण एसियाली खेलकुदमा सहभागी भएका सिरहा अयोध्यानगर–९ कसहाका ५४ वर्षे कुस्तीवाज जनक यादव भैंसी चराएर गुजारा चलाउन बाध्य छन् ।

भैंसी चराउँदै साफ खेलाडी

देशको प्रतिनिधित्व गर्दै सातौं दक्षिण एसियाली खेलकुदमा सहभागी भएका सिरहा अयोध्यानगर–९ कसहाका ५४ वर्षे कुस्तीवाज जनक यादव भंैसी चराएर गुजारा चलाउन बाध्य छन् ।

उनको दिनचर्या भैंसी हेरचाहमै बित्छ । अहिले पनि गाउँघरमा हुने कुस्ती प्रतियोगितामा सहभागी हुँदै आएका उनको गुजारा चलाउने सहारा दुई दुहुना भैंसी भएका छन् । सन् १९९५ मा भारतको मद्रासमा सम्पन्न दक्षिण एसियाली महासंघीय (साफ) खेलकुदमा ७४ केजी तौल समूहको कुस्तीमा उनी भिडेका थिए । त्यतिबेला सफल हुन सकेनन् ।

प्रथम खेलकुद प्रतियोगितादेखि नै सहभागी भई उनले राष्ट्रिय खेलमा दर्जनौं स्वर्ण, रजत र कांस्य जितेका छन् । आफ्नो जीवनको ऊर्जाशील समय देशको प्रतिष्ठाका लागि कुस्ती खेलेर बिताए पनि राज्यको बेवास्ताका कारण गुजारा चलाउन भैंसीको सहारा लिनुपरेको उनले दुखेसो पोखे ।

‘तीन वर्षअघि गागन खोलामा गिट्टी चालेर गुजारा चलाएँ,’ सम्पत्तिको नाममा ६ कट्ठा जग्गा मात्र भएका उनले भने, ‘अहिले भैंसी पालेर दूध बिक्रीबाट गुजारा चलाइरहेको छु ।’
उनले भने, ‘दुइटा भैंसीबाट साँझ/बिहान दैनिक १६ लिटर दूध हुन्छ, त्यसमध्ये १० लिटर प्रतिलिटर ६० रुपैयाँका दरले बिक्री गर्छु । बाँकी आफ्नो र परिवारका लागि राख्छु ।’

केही ऋण र गागन खोलामा गिट्टी चालेरै उनले तीन छोरीको विवाह पनि गरिदिए । अहिले उनको साथमा एक छोरा र पत्नी छन् । उनले आफ्नो छोरालाई कुस्ती खेलप्रति कहिल्यै आकर्षित हुन दिएनन् ।

काठमाडौं, विराटनगर, चितवन, नेपालगन्ज, वीरगन्ज र राजविराजलगायत विभिन्न स्थानमा १ वर्ष ३ महिना कुस्ती प्रशिक्षण लिइसकेका उनले राज्यले कुस्ती खेल र खेलाडीलाई उपेक्षा गरेको गुनासो गरे । तीन वर्षअघि सिरहा सदरमुकामस्थित क्याम्पस चौरमा देब्रे खुट्टा मर्किंदा उपचारमा एक लाख रुपैयाँभन्दा बढी खर्च भए पनि कतैबाट सहयोग नपाएको उनले बताए ।

राज्यको उपेक्षाका कारण देशमा कुस्ती खेल र खेलाडीको अवस्था नाजुक बन्दै गएकामा उनले दु:ख व्यक्त गरे । पौराणिक र मौलिक कुस्ती खेल लोकप्रिय भए पनि राज्यकै उपेक्षाका कारण समाप्त हुन लागेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

कुस्ती खेलका जानकारका अनुसार आधुनिक कुस्तीको इतिहास यसको लोकप्रियताको विकाससँगै १९ औं शताब्दीदेखि सुरु भएको हो । नेपाल कुस्ती संघका अनुसार विश्वका २ सय १६ देशमा कुस्ती खेलिन्छ ।

महाभारत, रामायणकालीनदेखि कुस्ती खेलिंदै आए पनि नेपालमा भने आधुनिक कुस्तीको सुरुआत २०४५ सालमा वीरगन्जबाट भएको बताउँछन् सातौं राष्ट्रिय खेलकुदका कुस्ती निर्णायक समितिका प्रमुख संयोजक विद्यासागर पोखरेल ।

कुस्ती संघका महासचिव एवं मुख्य प्रशिक्षक पोखरेलले सरकारी नीति ठीक नहुँदा धेरै खेलाडी पलायन भइसकेको बताए । ‘प्रथम खेलकुददेखि सहभागी, राष्ट्रिय खेलमा दर्जनौं स्वर्णपदक जितेका र सातौं साफ खेलकुदमा भाग लिएका जनक जस्ता पुरानार् अनुभवी खेलाडीलाई राज्य जगेर्ना गर्न नसक्नु खेल जगतो दुर्भाग्य हो,’ उनले भने, ‘मौलिक कुस्ती खेल र खेलाडीलाई राज्यले जगेर्ना गर्नु आवश्यक छ ।’

प्रकाशित : पुस १६, २०७३ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?