चिनियाँ फुटबल क्रान्ति

पछिल्लो एक दशक रोनाल्डो र मेसीको वरिपरि विश्व फुटबल घुमेको छ । चिनियाँ क्लबहरू यिनै दुई खेलाडी किन्न तयार छन् । उनीहरू यसका लागि कीर्तिमान रकम तिर्न पनि तयार छन् ।
हिमेश

न त क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छाड्नेछन् । न लियोनल मेसी बार्सिलाना बिर्सेर कतै जानेछन् । समय समयमा उनीहरू आफ्ना क्लबसँग रिसाए भन्ने खबर नआएको पनि होइन । ती प्राय: गसिप खाले समाचार मात्र हुने गर्छन् ।

चिनियाँ फुटबल क्रान्ति

आखिरमा यी दुई खेलाडीलाई किन्न सक्ने क्षमता अरू क्लबमा हुनु पनि त पर्‍यो । पछिल्लो एक दशक यिनै दुई खेलाडीको वरिपरि विश्व फुटबल घुमेको छ । रोनाल्डो उत्कृष्ट भएको वर्ष मेसी दोस्रोमा हुन्छन् । मेसी अगाडि रहँदा उनका पछाडि रोनाल्डो ।

साँच्चै यी दुई खेलाडीले अहिलेको क्लब छाड्ने हो भने नयाँ कीर्तिमान बन्ने पक्का छ, खेलाडी किनबेचको भाउमा । अहिले तत्काल विश्वका सबैभन्दा महँगा फुटबल खेलाडी हुन्, फ्रान्सेली मिडफिल्डर पउल पोग्बा । म्यानचेस्टर युनाइटेडले उनका लागि नौ करोड ३२ लाख पाउन्ड तिरेको थियो । विश्वास नहुन सक्छ, चिनियाँ क्लबहरू यिनै रोनाल्डो र मेसी किन्न तयार छन् । उनीहरू यसका लागि कीर्तिमान रकम तिर्न पनि तयार छन् ।

रोनाल्डोका एजेन्ट हुन्, जर्जी मेन्डेस । यिनै मेन्डेसका अनुसार एउटा चिनियाँ क्लबले रोनाल्डोका लागि रियललाई ३० करोड युरो तिर्न तयार छ । अनि तलब वर्षको दस करोड युरो । मेन्डेसले यति मात्र भने, ‘पैसा नै सबथोक होइन ।’ रोनाल्डोले रियलबाट वर्षको चार करोड २० लाख युरो कमाउने गर्छन् । 

मेसीलाई किन्न इच्छुक क्लबको त नाम नै बाहिर आएको छ र यो हो, हेबेई चाइना फोर्चुन । यो क्लबले मेसीलाई बर्सेनि ८ करोड पाउन्ड तलब दिन्छु भनेको छ । लगभग रोनाल्डो बराबरकै । मेसीमा रुचि देखाउने क्लबका प्रशिक्षक हुन्, म्यानुएल पिलेग्रेनी । पिलेग्रेनी तिनै हुन् जसले यसअघि म्यानचेस्टर सिटी र रियलजस्ता क्लबको व्यवस्थापन पनि सम्हाले । 

साँच्चै चिनियाँ क्लबहरूसँग कति पैसा छ त ? कि खालि बजार तताउन खोकिरहेका मात्र छन् ? चीन दिनदिनै धनी भइरहेको छ । त्योभन्दा पनि धनी भइरहेका छन्, चीनका खास–खास व्यापारी । यिनै व्यापारीको पछिल्लो महँगो सोख बनेको छ, फुटबल क्लब चलाउने । केही दिनअगाडि मात्र हो, चीनको सबैभन्दा चल्ने अखबार ‘चाइना डेली’ ले अगाडि नै एउटा सम्पादकीय छाप्यो र यो खुबै चर्चित पनि बन्यो । त्यस सम्पादकीयमा भनिएको थियो, ‘क्लबहरूले विदेशी खेलाडीलाई धेरै खर्चिनु पनि ठीक होइन । होस गर्नुपर्छ ।’ चाइना डेलीले त्यही बोल्छ, जुन त्यहाँको सरकार चाहन्छ । त्यसैले उसको सम्पादकीयबाहिर केही दिनमै चिनियाँ सरकारले एउटा क्लबबाट कति विदेशी खेलाडी खेलाउन पाउने हो त्यसबारे नियम बनाउने समाचार पनि आयो । 

ठीक यही समाचार आउँदा केही चिनियाँ क्लब इङ्लिस कप्तान वायन रोनीप्रति पनि उत्सुक भएको तथ्य बाहिर आयो । नाम नखुलेका दुई क्लबले रोनीलाई साताको सात लाख पाउन्ड तलब दिने प्रस्ताव राखेको थियो । बेलायती मिडियाको अनुमानमा त्यो क्लब सम्भवत: ग्वान्जाउ एभरग्रेन्ड टोबाओ वा बेइजिङ ग्वान हो । म्यानचेस्टर युनाइटेड स्टार रोनीले यो प्रस्तावमा ‘हो’ भनेको भए, उनी बन्थे, विश्वकै सर्वाधिक कमाउने फुटबल खेलाडी । 

अचेल कुनै चिनियाँ क्लबले यस्तो प्रस्ताव राख्दा, ‘होइन’ भनेर विश्वास नगर्ने ठाउँ पनि छैन । जस्तो, सांघाई एसआईपीजीले चेल्सीका ब्राजिली खेलाडीका लागि कीर्तिमानी छ करोड पाउन्ड तिर्‍यो । ओस्कारको तलब थियो, साताको पाँच लाख पाउन्ड । यस अनुबन्धसँगै उनी विश्वमा सर्वाधिक कमाउने शीर्ष पाँच खेलाडीमा परे । जबकि, चेल्सीमा छँदा उनी सुरुआती टिममा पर्न संघर्षरत थिए । चेल्सी प्रशिक्षक एन्टोनिया कोन्टेले उनलाई खासै मन पराएका थिएनन् । 

जति बेला ओस्कार चीन जान तयार भए, कोन्टे एकपल्ट नराम्रोसँग झस्किए । ओस्कार उमेर ढलेका खेलाडी पनि त थिएनन् । अनि कोल्टेले भनिहाले, ‘यस्तै हो भने हाम्रा क्लब राम्रा खेलाडीलाई टिममा राखिरहन पनि गाह्रो हुन्छ ।’ त्यसो त इङ्लिस प्रिमियर लिगलाई पनि आरोप छ, बढी तलबको लोभ दिएर खेलाडी भित्र्याउने । त्यसैले लिभरपुलका प्रशिक्षक योर्गन क्लोप पनि भनिहाले, ‘खेलाडीले जहाँ बढी पाउँछन्, त्यहीं जान्छन्, यस्तै आरोप प्रिमियर लिगलाई पनि त छ ।’ 

यी कोन्टे र क्लोपले जे भने पनि युरोपकै लागि पनि चीन बिस्तारै फुटबलमा ठूलो प्रतिस्पर्धी बन्दै छ । ओस्कारले पनि चीन पुगेयता भनिहाले, ‘चिनियाँ क्लबबाट खेल्ने त मेरो सपना नै हो ।’ यसैबीच अर्का हाइप्रोफाइल खेलाडी कार्लोस टेभेज पनि चीन पुगे, सांघाई सेन्ह्वाबाट खेल्न । उनले अनुबन्ध गरेको तलब थियो, साताको छ लाख १५ हजार पाउन्ड । यो अनुबन्धसँगै उनी विश्वकै सर्वाधिक कमाउने फुटबल खेलाडी बने । दुवै म्यानचेस्टर क्लबबाट खेलेका टेभेज चीन जान ठीक अगाडि अर्जेन्टिनाको बोका जुनियर्समा थिए । 

त्यहाँ छँदा उनको तलब चीनका कमाउने पारिश्रमिकको छेउछाउ पनि थिएन । बोका जुनियर्सका लागि खेलेको अन्तिम खेलमा टेभेजलाई हेर्न हजारौं दर्शक मैदान पुगेका थिए र उनीहरूको एउटा मात्र नारा थियो, ‘कृपया सके चीन नजाऊ । यतै बस ।’ टेभेज ती समर्थकका भावना बुझ्न सक्ने स्थितिमै थिएनन् । भर्खर विवाह गरेका थिए, आफ्ना किशोर अवस्थादेखिकै प्रेमिकासँग । उनलाई पनि धेरै कमाउनु थियो । टेभेज त चीन जान हतारोमा थिए । 

यी सबबीच गम्भीर प्रश्न, के चिनियाँ फुटबलले अरू पारम्परिक शक्तिलाई चुनौती दिंदै छ त ? चिनियाँ फुटबल आफैंमा स्तरीय छैन, अहिलेसम्म एकैपल्ट मात्र विश्वकप खेलेको देश हो यो । अझै पनि चीनमा युरोप र दक्षिण अमेरिकाको जस्तो फुटबल संस्कृति पाइन्न । तर हुन सक्छ, यी सबै परिवर्तनको बाटोमा छन् । चिनियाँ राष्ट्रपति आफैं फुटबलमा खासै पारखी हुन् । उनी चाहन्छन्, चीन फुटबलमा महाशक्ति बनोस् । सायद त्यहाँका व्यापारीले सीकै बाटो पछयाइरहेका छन् । 

केही ठूला खेलाडीका लागि चीनमा खेल्न जानु पेन्सन पकाउनुजस्तो पनि हुन सक्छ, जस्तो निकोलस एनेल्का, डिडिएर ड्रोग्बा । यो त पुरानो सोच भयो । अहिले नै केही युरोपेली र दक्षिण अमेरिकी खेलाडीले चीनमा खेल्नुलाई गम्भीर मान्न थालिसकेका छन् । चीनमै खेलिरहेका खेलाडी पनि ब्राजिली राष्ट्रिय टिमको महत्त्वपूर्ण सदस्य हुन सक्छ भने धेरै चिन्ता लिएर पनि केही हुन्न, सायद यस्तै सोच विकास हुँदै छ । अनि यो नै विश्व फुटबलमा चिनियाँ क्रान्ति हो कि ?

प्रकाशित : माघ १, २०७३ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?