कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

‘प्रोफेसर साहेब’

आर्सनलका फ्रान्सेली व्यवस्थापक आर्सन वेन्गरले जापानमा प्रशिक्षक छँदा एउटा किताब पनि लेखेका थिए, फुटबल व्यवस्थापनबारे ।
हिमेश

पुराना ब्राजिली खेलाडी रोनाल्डो भन्ने गर्थे, ‘जति बेला म गोल गर्थे, सबै प्रशंसा गर्थे । जति बेला म गोल गर्न चुक्थें, सबै मेरो शरीरलाई लिएर प्रश्न गर्थे ।’

‘प्रोफेसर साहेब’

उनको शरीर प्राय: भद्दा हुने गर्छ, बढी तौलका कारण । त्यसैले उनको मोटोपन फुटबलमा ठूलै ‘इस्यु’ हुने गथ्र्यो । अहिले ठयाक्कै यस्तै भइरहेको छ, आर्सनलका फ्रान्सेली व्यवस्थापक आर्सन वेन्गरलाई लिएर । उत्तरी लन्डनको यो इङलिस प्रिमियर लिग क्लबका लागि जति बेला राम्रो नतिजा आइरहेको थियो, सबै भन्थे– ‘अहो, प्रोफेसर साहेब ।’

अनि जति बेला खराब नतिजा आउँछ, धेरै भन्छन्, ‘यो वेन्गर कहिलेसम्म आर्सनलको प्रशिक्षक रहने हो ?’ सबैभन्दा पहिले वेन्गरलाई किन प्रोफेसर भनेको हो त ? खासमा उनी खेलाडी छँदा राम्रा थिएनन् । सामान्य खेलाडी थिए । त्यसैले खेल्दै उनले अर्थशास्त्रमा मास्टर्स पनि भ्याए । फुटबलमा एउटा के पनि सिद्धान्त छ भने राम्रो प्रशिक्षक हुन्, अर्थशास्त्र र व्यवस्थापन विषयमा पनि राम्रो हुनुपर्छ । यस्तो किन भन्दा फुटबल खेल मात्र त होइन, यो व्यवसाय पनि हो । ठूलै व्यवसाय । 

करोड र अर्ब डलरको व्यवसाय । वेन्गरले जापानमा प्रशिक्षक छँदा एउटा किताब पनि लेखेका थिए, फुटबल व्यवस्थापनबारे । त्यसैले इङलिस फुटबलमा उनलाई ‘प्रोफेसर साहेब’ भनिन्छ । साहित्यमा खराब लेखक नै राम्रो आलोचक हुने गर्छन् पनि भनिन्छ । वेन्गर पनि यस्तै थिए । खराव खेलाडी, अनि एक प्रकारले महान् प्रशिक्षक नै । सन् १९९६ मा उनी आर्सनल आएका हुन् । त्यसयता आर्सनलले १३ उपाधि जितेको छ । त्यसमा तीन प्रिमियर लिग उपाधि पर्छ । 

सन् २००३–२००४ को सिजनमा त वेन्गरको नेतृत्वमा आर्सनलले गज्जब खेलेको थियो । त्यति बेलाको आर्सनललाई ‘इनभिजिबल’ भनिन्छ । अर्थात् त्यति बेलाको आर्सनलमा अझ राम्रो हुने ठाउँ नै थिएन । सुधारको कुनै कुना नै थिएन । त्यति बेला आर्सनलको खेल हेर्नुपर्छ, जस्तै आर्सनलविरोधीले पनि प्रशंसा नगरेर सुखै हुन्न । टयाक्क–टयाक्क पास । मानौं– खेलाडीको खुट्टामा चुम्बक छ । त्यो पनि तीव्र गतिले । गोल पनि एक से एक । आर्सनलले त्यति बेला पस्केको खेल वास्तवमै अति सुन्दर थियो ।

आर्सनलको खेल्ने शैली कलाकारले क्यानभासमा पोखेको कलाजस्तै हुने गथ्र्यो । पूरा विश्वमै आर्सनलका समर्थक बढेको त्यही बेला हो । तर फुटबलमा सधैं यस्ता दिन चल्ने गर्दैनन् । अहिले आर्सनल त दबाबमा छ नै, त्योभन्दा पनि बढी दबाबमा छन्, यिनै वेन्गर । 

पुराना दिनका बेला एलेक्स फर्गुसनको म्यानचेस्टर युनाइटेड र आर्सनलबीच काँडाको टक्कर चलेको थियो । पछि यसमा चेल्सी पनि थपियो । जोसे मोउरिन्हो चेल्सीमा आएयता इङलिस फुटबलमा शक्तिको समीकरण नै फेरियो । 

अलिपछि म्यानचेस्टर सिटी पनि थपियो । लिभरपुलजस्तो पुरानो शक्ति छँदै थियो । आर्सनल बिस्तारै फिक्का फिक्का देखिन थाल्यो । अहिलेको सिजनमा २४ चरणको खेल सकिँदा आर्सनल चौथोमा छ, ४७ अंकमा । आर्सनल आफ्नो पछिल्लो खेलमा चेल्सीसँग ३–१ ले पराजित रहयो । दुवै लन्डन क्लब हुन्, दूरीले नजिकका । तर अंक तालिकामा यी दुईको अन्तर १२ अंक भइसकेको छ । सामान्यतया यो उछिन्न सकिने अन्तर होइन । सीधै लेखिदिए हुन्छ, यसपल्ट पनि आर्सनलले लिग जित्ने छैन, ठूलै नाटकीय शृंखलाबद्ध नतिजा नआउने हो भने । 

चेल्सीको स्टायनफोर्ड ब्रिजमा भएको पछिल्लो खेलमा वेन्गर बक्समा थिएनन् । उनी भीआईपी बक्समा थिए । वेन्गर अहिले चार खेलको ‘टच लाइन’ प्रतिबन्धबाट गुज्रिरहेका छन् । चेल्सीविरुद्धको खेलमा त्यसमध्ये तेस्रो थियो । अझ एक खेलको प्रतिबन्ध बाँकी छ । मोउरिन्हो चेल्सी छँदा वेन्गरबारे उनी अनापसनाप बोल्थे । एकपल्ट मोउरिन्होले भनेका थिए, ‘वेन्गरलाई असफलतामा महारथ प्राप्त छ । उनी असफलताका विशेषज्ञ हुन् ।’ यो सुनेर वेन्गर खुबै रिसाएका थिए । अचेल वेन्गरलाई वास्तवमै बढी रिस उठ्छ र खेल पदाधिकारीसँग झगडा गर्न खोज्छ । 

‘टच लाइन’ प्रतिबन्धनको सजाय यसकै कारणले त भएको हो । धेरै भइसकेको छ, सिजनको सुरुमा आर्सनलले यसपल्ट त केही गर्नेछ भनेर विश्वास पोख्ने । तर जति सिजन अगाडि बढ्दै जान्छ, आर्सनलको लिग उपाधि जित्ने अभियान कमजोर र सुस्त हुँदै जान्छ । यस सिजन पनि यस्तै भइसकेको छ । आर्सनलले अर्को सिजन पनि युरोपेली च्याम्पियन्स लिग खेल्नेछ, यसमा शंका नगरे हुन्छ, किनभने लगातार युरोपको सबैभन्दा ठूलो क्लब प्रतियोगितामा छनोट हुन आर्सनललाई महारथ प्राप्त छ । 

तर आर्सनलले यो प्रतियोगिता पनि जित्ने भने होइन । आखिरमा यस्तो प्रदर्शनको अर्थ नै के छ ? आर्सनल लगातार नाफा चलिरहेको छ । वेन्गर आएयता क्लबको आय ह्वात्तै बढेको छ र यसमा क्लबकै प्रमुख खेलाडी बच्नु पनि मुख्य कारण हो । निचोडमा भन्दा आर्सनल क्लब मज्जाले चलिरहेको छ । कुनै प्रकारको आर्थिक संकट छैन । टिममा राम्रा खेलाडी पनि छन् । प्रदर्शन पनि खासै खराब छैन । आर्सनल एक सिजन अगाडि ४३ करोड पाउन्ड कमाएको थियो । 

हाइबरी छाडेर इमिरेट्समा खेल्न थालेयता आर्सनल विश्वमा सबैभन्दा बढी कमाउने क्लबमा पर्छ । समर्थकको संख्या मान्ने भने पनि आर्सनल सबैभन्दा मन पराइएको क्लबमध्ये पाँचौंमा पर्छ । तर पनि आर्सनलले पछिल्लो समय ठूलो महत्त्वको खेल जित्न सक्दैन । अनि उपाधि पनि जित्न सक्दैन । आर्सनलको समस्या नै यही हो । त्यसैले पनि आर्सनल समर्थकबीचकै एक तप्काले वेन्गरलाई फयाल्नुपर्छ भन्न थालेको पनि राम्रै समय भइसकेको छ । अहिले बेलायती मिडियालाई पछयाउनुपर्छ, लाग्छ, ढिलो चाँडो वेन्गर फयालिन्छन् नै । 

ती मिडियाले सीधै वेन्गर जानेछन् भनेर पनि दाबी गरिरहेको छैन, तर त्यसको स्थानमा वेन्गरको विकल्पमा को राम्रो भन्ने खाले समाचार दिइरहेको छ । अहिले नै दस जनाको सूची तयार भइसकेको छ, वेन्गरलाई विस्थापित गर्न सक्नेको । गत सिजन मात्र हो, वेन्गरले आर्सनलमा आएको २० वर्ष पूरा गरेको । वेन्गरमाथि दबाब बढ्न थालेको केही सिजनयता हो, यसपल्ट भने दबाब धेरै भएको छ । वेन्गर आफैं पनि भविष्यलाई लिएर केही बोलिरहेका छैनन् । यसरी नै आर्सनल कति दिन चल्नेछ र ? यसरी चल्नुको के अर्थ छ र ? 

प्रकाशित : माघ २९, २०७३ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?