१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पुरुष फुटबलका महिला प्रशिक्षक

एएफसी

हङकङ — चान युन–टिङले फुटबलमा गत वर्ष नयाँ इतिहास बनाइन् । जति बेला उनी विश्व व्यावसायिक फुटबलमै पुरुष लिग उपाधि जित्ने पहिलो महिला प्रशिक्षक बनिन् । इस्टर्न एससीकी प्रशिक्षक चानको नजर अब त्योभन्दा अगाडि छ, सन् २०१७ को एएफसी च्याम्पियन्स लिग ।

पुरुष फुटबलका महिला प्रशिक्षक

इस्टर्न त्यस प्रतियोगिताको आफ्नो पहिलो खेलमा दुईपल्टको विजेता ग्वान्जाउ एभरग्रेन्डको सामना गर्न चीन जाँदैछ । यसक्रममा उनको चर्चा फेरि चुलिने तय छ । 

चानको नाम गिनिज वल्र्ड रेकर्डमा पनि कायम भइसकेको छ । अचेल उनलाई भेट्न इस्टर्नको मैदान पार्क स्पोर्टस ग्राउन्डमा जानुपर्ने हुन्छ । यही मैदान त हो, जहाँ सन् २०१६ को अप्रिल २२ मा उनले पुरुष फुटबलमा महिला प्रशिक्षक भएर कीर्तिमान बनाएकी थिइन् । व्यावसायिक विश्व फुटबलको पुरुष लिगमा महिला प्रशिक्षकले लिग जितेको यो पहिलोपल्ट हो । इस्टर्नले यो उपाधि २१ वर्षको पर्खाइपछि जितेको थियो । उसले निर्णायक खेलमा साउथ चाइनालाई २–१ ले हराएको हो । 

‘त्यो सफलतापछि मलाई भेट्ने धेरै मिडिया आए । यो देखेर म आश्चर्यचकित पनि भएँ । पत्रकारले मलाई खोज्दै आउने क्रम अहिलेसम्म पनि टुटेको छैन,’ चान सुनाउँछिन्, ‘अरु कतै होइन, यस्तो कीर्तिमान हङकङमै बन्ने छ भनेर कसले मात्र सोचेका होलान् ? म खासमै भाग्यमानी छु ।’ जतिले पनि विश्व फुटबललाई पछ्याउने गर्छन् । उनीहरू सबैलाई थाहा छ । यस्तो सफलताका लागि प्रशिक्षकमा क्षमता त चाहिन्छ नै । उत्तिकै भाग्य पनि चाहिन्छ । 

‘सानै उमेरदेखि म फुटबल भनेपछि हुरुक्क हुन्थें । तर मेरो परिवारले मलाई खेल्न दिएन । बरु नाच्न सिक भन्थे । जति बेला म १५ वर्षकी भएँ । मैले एउटा फुटबल कार्यक्रमबारे सुनें र त्यसमा भर्ना हुन अभिभावकको स्थानमा आफैले हस्ताक्षर गरें ।’ कार्यक्रममा भाग लिएपछि चान बिहानै हराउँथिन् र मैलो लुगामा बेलुका फर्कन्थिन् । तर आमाले भने थाहा पाउन सकिनन् । पछि चान आफैले पछि आफू फुटबल प्रशिक्षकको प्रशिक्षण लिइरहेको सुनाइन् । 

पछि परिवारले सर्त थाप्यो, फुटबल जारी राख्ने हो भने पढाइ पनि उत्तिकै बलियो हुनुपर्छ । चानले हङकङ विश्वविद्यालयमा भूगोलमा बीएसम्म पढाइ पनि जारी राखिन् । सुरुमा चानका बुवाले उनलाई प्रशिक्षकको ‘पार्टटाइम जब’ पनि गर्न दिएका थिएनन् । यसका लागि उनले परिवारलाई खुबै फकाउनुपरेको थियो । चानले त्यति बेला भनेकी थिइन्, ‘एकवर्ष मात्र हेरौं, त्यसपछि के हुनेछ, परिवारले भने जस्तै गर्नेछु ।’ चानले यस्तो एक वर्षपछि अर्को वर्ष थप्दै गइन् । 

सुरुमा उनी साउथर्न डिस्ट्रिककी सहायक प्रशिक्षक बनिन् । वुमेन्स कोचको ‘ए’ लाइसेन्स लिएपछि उनी इस्टर्न टिममा पुगिन् । त्यति बेलाका प्रशिक्षक येङ चिङ–कोनले राजीनामा दिएपछि प्रशिक्षकको जिम्मा उनैले पाइन् । यसमा उनको ‘ए’ लाइसेन्सले राम्रै भूमिका खेल्यो । क्लबले उनलाई प्रशिक्षक नियुक्त गरेको समाचार एकैपल्ट पत्रकार सम्मेलनमार्फत दिइएको थियो । यसबारे पहिला न त खेलाडीलाई थाहा थियो, न चानको परिवारलाई । 

त्यसयता उनी लगातार चर्चामा रहिन् । ‘अरु पेसामा जस्तो हङकङको फुटबलमा पनि धेरै पारिश्रमिक छैन । मैले धेरै कमाउने गर्दिनँ । तर म आफूले रोजेको पेशामा छु र खुबै मज्जा लिइरहेकी छु,’ चानले भनिन्, ‘त्यसैले म आफैलाई भाग्यमानी पनि मान्छु । सबैले आफ्नो सपनामा जे छ, त्यसलाई प्राप्त गर्न प्रयास गर्नुपर्छ । यस्तो अवसर सबैले पाउनुपर्छ भन्ने पनि छैन् । केही पाएन भने पनि आफ्नो जीवनदेखि सुन्तष्ट र खुसी नै हुनुपर्छ ।’

प्रकाशित : फाल्गुन ३, २०७३ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?