कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उद्घाटनमा संकटा विजयी

कान्तिपुर संवाददाता

धरान — भ्रमणकारी दुर्गापुरी स्टिल क्लब कोलकातालाई ३–२ ले हराउँदै सिएमजी क्लब संकटा बिहीबार १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुगेको छ । संकटाले अब फागुन ९ मा विभागीय टिम एपीएफ क्लबसँग सामना गर्नेछ ।

धरानस्थित टेक्निकल सेन्टरको मैदानमा संकटाका मार्टिन अजयले दोस्रो मिनेटमै गोलको खाता खोलेका थिए । उनले विश्व अधिकारीको पासमा आकर्षक गोल गर्दै पाहुना टिमलाई पछाडि परेका थिए । १–० ले पछि परेको दुर्गापुरीले खेलको २४ औं मिनेटमा बराबरी गोल फर्कायो । आकाले सुसन हेमरोनको पासमा संकटाविरुद्ध गोल गर्दै खेल बराबरी गरेका थिए ।

पहिलोपल्ट धरान भ्रमण गरेको कोलकाताको टिमले बराबरी गरेको १२ मिनेटपछि अर्को गोल सामना गर्‍यो । मार्टिनको पासमा अनिल गुरुङले गोल गर्दै संकटालाई २–१ ले अगाडि बढाए । कोलकताका सलाउद्दिन मिर्जाले ५५ औं मिनेटमा गरेको फ्रि–किक बारमा ठोक्किएर फर्कियो । रिबाउन्ड बलमा मिर्जाले सशक्त प्रहार गर्दा गोल हुनपुग्यो । खेल २–२ को बराबरी भयो । 

खेलको ७७ औं मिनेटमा संकटाबाट सुशील केसीले गरेको गोल नै निर्णायक बन्यो । म्यान अफ द म्याच कोलकाताका शुभान्दु घोष भए । उनले ५ हजार पुरस्कार पाए । उपाधि विजेताले ५ लाख रुपैया जित्नेछ । शुक्रबारको खेल गत वर्षको उपविजेता नेपाल पुलिस क्लब र आयोजक धरान फुटबल क्लब पहेँलोबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : फाल्गुन ६, २०७३ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?