मधेसको सान दंगल

भूषण यादव/मनोज पौडेल

अरूको सोख के सोख ! वीरगन्जका ७२ वर्षीय रामक्षत्री यादवको सोख जो छ– गाउँ नजिकै कुस्ती खेल हुने भयो कि उत्साहसाथ पुगिहाल्ने । यो उमेरमा पनि दंगलप्रति उनको चाख त्यसै पलाएको होइन । यसको जरो उनको जवानीसम्म पसेको छ । पर्साको नगरदाहा गाविसका यिनी आफ्ना जमानाका राम्रा ‘खलिफा’ पहलमान मानिन्थे ।

‘शरीरले साथ दिएसम्म कुस्तीको साथ छाड्दिनँ,’ उनी भन्छन्, ‘कुस्ती हुँदै छ भन्ने थाहा पाउनासाथ नगई मनले मान्दैन ।’

हरेक वर्ष छठ पर्वको अन्तिम दिन पूजापाठ सकेर यादव साइकल चलाएर गाउँभन्दा करिब १५ किलोमिटर दक्षिणमा पर्ने धोरेमा दंगल हेर्न पुग्छन् । त्यस दिन यस क्षेत्रका कुस्तीका पारखीहरूको ठूलो ‘जमावडा’ हुने गर्छ धोरेमा । स्थानीय आयोजकले चन्दा संकलन गरेर भव्य रूपमा दंगल गर्दै आएका छन् । नेपाल र भारतका पहलमानहरू कुस्ती खेल्न सहभागी हुन्छन् । सबैलाई नगद पुरस्कारको व्यवस्था हुन्छ । उद्घोषकले माइकमा नाम फलाक्नेबित्तिकै अखडामा प्रवेश गर्ने क्रममा पहलमानले तिघ्रालाई धाप मार्दै प्रतिस्पर्धीलाई स्वागत गर्छन् । उनीहरूको अभिप्राय: चोट पुर्‍याउने हुँदैन । उनीहरूको उद्देश्य केवल आफ्नो शक्ति प्रदर्शन र दर्शकलाई आनन्दित पार्ने हुन्छ । उनीहरूमा विरोधको भावना हुँदैन । पहलमानको शक्तिसँगै साहस, आँट र सीपको प्रदर्शनले दर्शक रोमाञ्चित हुन्छन् । 

तराई–मधेसमा दंगल शैलीमा कुस्ती खेलिन्छ । विशेषगरी पर्सा, बारा, रौतहट, सिरहा, सर्लाही, सप्तरी, धनुषा, महोत्तरी, नवलपरासी, रूपन्देही, कपिलवस्तु, कैलाली, कञ्चनपुर, दाङलगायतका जिल्लामा यो खेल खेल्ने परम्परा छ । ठूलो चौर वा खेतको बीचमा बनाइएका ‘अखडा’ मा खलिफाहरू शरीरमा कछाड मात्र लगाएर कुस्ती खेल्छन् । मनपर्ने खलिफाले प्रतिस्पर्धीलाई अखडामा पछार्दा दर्शक हौसिन्छन् । जित्ने खलिफालाई नगद इनामसमेत दिइन्छ । चाडपर्व र कुनै धार्मिक स्थलमा मेला लागेका बेला हुन्छन् यस्ता आयोजना । पहिले मनोकामना पूरा भए पूजासँगै दंगल गराउने भाकल नै गर्थे तराईवासी । साउनको नागपञ्चमीदेखि पुसको मध्यसम्म कुस्ती खेल हुने गर्छ । 

गाउँमा हुने यस्ता खेलबाट उत्पादन हुन्छन् यस क्षेत्रका खेलाडी र प्रशिक्षकहरू । राष्ट्रिय खेलकुद परिषद्बाट ०५२ मा प्रशिक्षक नियुक्त ५० वर्षीय धर्मराज यादव कक्षा ९ पढ्दाखेरि पहिलो पटक साग (पहिले साफ गेम्स) मा सहभागी हुन श्रीलंका पुगेका थिए । पहिलो प्रतिस्पर्धामै कांस्य जितेका उनी त्यसपछि कुस्तीमै रमाए । कुस्ती खेल्ने युवा स्वस्थ हुन्थे र कुलतबाट बच्थे । शरीर बलियो बनाउनैपथ्र्यो त्यसका लागि स्वस्थकर खाना अनिवार्य छ । सुन्दर शरीर, नाम र सानका लागि कुस्ती खेलिन्थ्यो । ‘सानैदेखि घरमा कुस्तीको माहौल थियो,’ बाल्यकाल सम्भिंmदै उनी भन्छन्, ‘बुबा र हजुरबुबाले पनि कुस्ती खेल्नु हुन्थ्यो ।’ उनले पनि आफ्नो कान्छो छोरा उदयराजलाई कुस्तीको प्रशिक्षण दिइरहेका छन् । 

दंगलबाट राम्रा खेलाडी छनोट गरी फ्रि–स्टाइल (ओलम्पिक स्पर्धा) को प्रशिक्षण दिने गरिएको छ । १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी सबै (आठ) नेपाली पुरुष खेलाडी तराई मूलका थिए । गाउँघरमा खेलिने कुस्तीबाटै पहलमान छनोट गरी देश–विदेशमा हुने प्रतियोगितामा सहभागी गराइने प्रशिक्षक यादवले प्रस्ट्याए । उनका अनुसार प्रतियोगितामा खेलिने फ्रि–स्टाइल कुस्ती र अखडाको कुस्तीमा सामान्य फरक हुन्छ ।  अखडाको कुस्तीमा पहलमानले कछाड मात्र लगाउँछन् । फ्रि–स्टाइलमा रेसलिङ जुत्ता र ड्रेस लगाएर म्याटमा खेल्छन् ।

अखडाको दंगलमा प्वाइन्टलाई जित/हारको आधार मानिंदैन । जसले बढी पछार्छ उसले जित्छ । कुस्तीका पुराना पारखीका अनुसार पारम्परिक कुस्तीमा एक पहलमानले अर्कोको शक्ति ठीकसँग नाप्न सक्छन् । आधुनिक फ्रि–स्टाइल कुस्तीमा त्यो सम्भव हुन्न । फ्रि–स्टाइल कुस्तीको २–३ मिनेटको राउन्ड सकिएको सिठी बज्नेबित्तिकै खेल रोकिन्छ । जबकि अखडाको कुस्ती एक घण्टासम्म पनि चल्न सक्छ, जबसम्म हार–जित हुँदैन । पहलमान भिडिरहेका हुन्छन्, यस्तो रोमाञ्चक प्रतिस्पर्धा फ्रि–स्टाइलमा हुन्न । 

कुस्ती प्रशिक्षणका लागि आउने नवयुवकलाई पहलमान बनाउन कम्तीमा ३ वर्ष कडा मिहनेत लाग्ने गरेको यादव बताउँछन् । ‘कडा अभ्यासले मात्र हुँदैन,’ उनले भने, ‘पहलमान बन्न खान्की पनि त्यहीअनुसारको चाहिन्छ । बिहान/साँझ २/२ लिटर भैँसीको दूध, सय ग्राम बदाम र मिश्री, ५० ग्राम काजु/किसमिस, २ सय ग्राम मासु र शरीर मालिस गर्न २ सय ग्राम करुवा तेल आवश्यक पर्छ ।’ 
  पहिले राजा–महाराजाले पहलमानको संरक्षण गर्थे । खेलाडीको जसरी नै पालनपोषण गर्थे । आवश्यक खुराक उपलब्ध गराउँथे । जवाफमा चाहेको समयमा पहलमानले राजाका लागि काम गर्थे । राजा–महाराजापछि पहिलेका जमिनदार र केही मुखियाले पनि पहलमानको संरक्षण गर्थे । रामक्षत्री यादवका अनुसार पहिले सडकमा ख्याति कमाएका कुनै पहलमान हिंड्दा मानिस गर्व र सहानुभूतिले हेर्थे । पहलमान ठूलै सेलिब्रिटी हुन्थे । सबै चिनजान गर्न खोज्थे । उसको शारीरिक बनोट देखेर खुसीले झुमिन्थे । पहलमानको जस्तै शरीर बनाउने चाहना राख्थे । ‘अहिले भने नाम चलेका पहलमानलाई पनि गुजारा चलाउन धौ/धौ छ,’ उनले भने, ‘सानोतिनो काम गर्न बाध्य छन्, दया नै लाग्छ ।’ 

१२ औँ सागमा कांस्य जितेका पर्साका सरोज यादवको गुनासो पनि उस्तै छ, ‘आफ्नै खर्चमा मिहिनेत गरेर देशका लागि पदक जितेर ल्याउँदा पनि प्रोत्साहन पाइएको छैन । सीमावर्ती भारतका पहलमानले पदक जित्दा जागिर पाइहाल्छन् । हाम्रोमा चाहिँ जितेर घर फर्किएपछि अर्को प्रतियोगिता नआउन्जेलसम्म वास्तै हुन्न ।’ २०४४ सालमै कुस्ती संघ स्थापना भए पनि यसले खेलको संस्थागत विकासमा प्रभावकारी काम गरेको छैन । आफ्नै पहलमा गत कात्तिकमा १० जना खेलाडीलाई भारतको उत्तरप्रदेशको नन्दनीनगरमा ६ महिना प्रशिक्षणका लागि पठाएको उनले बताए ।
 
यस्ता गुनासोका बावजुत स्थानीयस्तरमा कुस्तीलाई पुनर्जीवन दिने प्रयास पनि भइरहेका छन् । सरस्वती पूजाका अवसरमा ८ दशकदेखि सप्तरीको तिलाठीमा लाग्ने पाँचदिने मेलाअन्तर्गत पाँच वर्षयता कुस्ती प्रतियोगितासमेत सुरु गरिएको छ । पारिश्रमिक लिएर नेपाल तथा भारतका महिला र पुरुष गरी ८० पहलमानले चार दिनसम्म तिलाठीमा आफ्नो पहलमानी कौशल देखाए । 
 यस्तै, पुस पहिलो साता रूपन्देहीको छोटकीरामनगर–६ स्थित मझौलीमा सम्पन्न अन्तर्राष्ट्रिय विराट कुस्ती प्रतियोगिताको उपाधि भारत हरियाणाका पहलमान अमितकुमार यादवले जिते । उपाधिसँगै उनले १ सय ५० सीसीको मोटरसाइकल पनि पाए । प्रतियोगितामा नेपाल र भारतका १ सय ७० कुस्तीबाज भिडेका थिए । 

मंसिर २४–२६ सम्म कपिलवस्तुको जितपुरमा आयोजित खुला दंगल प्रतियोगिताका नायक बने नवलपरासीका वसन्त थापा । नेपाल र भारतका नाम चलेका पहलमानलाई हराएर उनले उपाधि जिते । ३० बढी पहलमान मैदानमा भिडेका थिए । उपाधिसँगै उनलाई दर्शकले हौसिएर नगद इनाम दिए । एक–एक जनाले दिएको सय, पचास र पाँच सय रुपैयाँ गरी एकछिनमै २० हजार बढी उठ्यो । शरीरलाई हतियार मानेर खेलिने कुस्तीमा महिला पनि उल्लेख्य सहभागी थिए । २० प्रतिस्पर्धीमध्ये भारत, हरियाणाकी पुनम सिंह प्रथम भइन् ।

गतवर्ष माघ १६–१८ सम्म नवलपरासीमा सम्पन्न अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाली खेलाडी केशवदास नागाबाबाले सबैभन्दा धेरै १ लाख २५ हजार रुपैयाँको विशेष पुरस्कार जिते ।

कुस्ती हेर्न भारतबाट समेत गरी १५ हजार बढी दर्शक ओइरिए । प्रतियोगिता आयोजना गर्न १० लाख रुपैयाँ खर्च भयो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताका संयोजक रामभवन यादवले बताए ।

नवलपरासी, कपिलवस्तु र रूपन्देहीमा चाडपर्वका बेला कुस्ती प्रतियोगिता हुँदै आएको छ । त्यसबाहेक औद्योगिक, व्यापारिक, सांस्कृतिक र कृषि मेला महोत्सवको ब्रान्ड बन्दै गएको छ । 

भर्खरै सम्पन्न बुटवल, भैरहवा र कपिलवस्तुका महोत्सवमा पनि कुस्ती प्रतियोगितालाई विशेष महत्त्व दिइएको थियो । त्यहाँ धेरैले आफ्नो कला देखाए । आठांै कपिलवस्तु महोत्सव संयोजक यज्ञप्रसाद भट्टराईले दर्शकको मागलाई ध्यानमा राख्दै क्षेत्रीय कुस्ती छनोट र खुला दंगल प्रतियोगिता मेलामा समावेश गरिएको बताए । ‘पौराणिक र मौलिक खेल हो कुस्ती,’ नवलपरासीका चर्चित कुस्तीवाज वसन्त थापाले भने, ‘तर यो खेलमा जीवन बिताउनेलाई राज्यले बेवास्ता गरेको छ ।’ 

तराईमा कुस्ती ‘ब्रान्ड’ बन्दै गएको छ बेलाबेला कपिलवस्तुमा बर्सेनि कुस्ती आयोजना गर्दै आएका अवध संस्कृतिका जानकार रामदयाल ठाकुर भन्छन्, ‘जिल्लामा कुस्ती हँुदा उत्सवकै रूपमा लिने गरिएको छ ।’ 

स्थानीयस्तरमै सही, तराईमा दंगलका जति पनि प्रतियोगिता भइरहेका छन्, त्यसले यहाँको परम्परामात्र धानिएको छैन, स्थानीयले खेलको ‘अर्गानिक’ आनन्द पनि लिइरहेका छन् ।

प्रकाशित : फाल्गुन ६, २०७३ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मीराको महावेग

सजना बराल

काठमाडौं — वि.सं. २०७२ लाई फर्केर हेर्दा मुटु अझै काँप्छ । भूकम्पले सिर्जना गरेको भयावह अवस्था । र, नाकाबन्दीले निम्त्याएको अभावको भुँमरीमा रिङ्गीरहँदा ‘मीरा राई’ भन्ने नाम सुनियो, अलि चर्कै गरी । उनले फ्रान्समा भएको ८० किलोमिटरको विश्व म्याराथनमा पहिलो स्थान हासिल गरेकी थिइन् । रेडियो/टीभीले उनकै नाम फुके ।


मीराको जितले नेपालीको मलिन अनुहार उजिल्याइदिएको थियो । पीडै–पीडा खेपिरहेका बेला त्यो जित आशा जगाउने सानो आधार बन्यो । अल्ट्रा धाविका मीरालाई पनि जीवनका अनेक सफलतामध्ये त्यो बेलाको उपलब्धि खास लाग्दो रहेछ । ‘सबै निराश थिए, चिन्तित थिए,’ उनले भनिन्, ‘मैले दौड जितेको खबरले देशमा थोरै भए पनि खुसी ल्याइदियो । यो सम्झिँदा गर्व लाग्छ ।’

२७ वर्षे मीराले गर्व गर्न लायक अर्को उपलब्धि पनि हासिल गरेकी छन् । केहीअघि मात्र उनलाई ‘एड्भेन्चर्स अफ द इयर–२०१७’ अवार्ड विजेता घोषणा गरियो । नेसनल जियोग्राफी च्यानलले प्रदान गर्ने उपाधिको मनोनयनमा विश्वभरबाट १० साहसिक व्यक्ति छानिएका थिए । त्यसमा मीराले सर्वाधिक मत पाइन् । ‘यो जितले मलाई अरू अवसरहरू प्रदान गर्ला अब,’ हँसमुख मीराले सुनाइन्, ‘भाइबहिनीहरूका लागि नयाँ–नयाँ बाटो खुल्ला ।’

यस्ता अन्तर्राष्ट्रिय उपाधिको लामो सूची छ मीराको नाउँमा । व्यक्तिगत पोर्टल र विकिपेडियामै पनि उनले कहिले र कहाँ–कहाँ खेलिन् भन्ने जानकारीसहितको टाइमलाइन उपलब्ध छ । धेरैजसो प्रतियोगितामा उनी अब्बल देखिएकी छन् । चाहे त्यो सन् २०१४ को मुस्ताङ ट्ेरल रेस होस् या हङकङको एमएसआईजी एचके ५० किमि सेरिज वा इटालीको बार्रो स्काइनाइट !

‘हामी खेलाडीहरूका लागि त्यति धेरै प्लेटफर्म छैनन्,’ उनले भनिन्, ‘अझ साहसिक खेलबाट नेसनल जियोग्राफीजस्तो ठूलो संस्थाले दिने अवार्डको नोमिनेसनमा पर्नु मेरा लागि अकल्पनीय थियो । रियल्ली अनएक्स्पेक्टेड !’ यो नचिताएको वा नदेखेको सपना पूरा हुनुमा उनी आफ्नो मिहिनेत, सकारात्मक सोच र गुरुहरूको मार्गनिर्देशनलाई बढी जस दिन्छिन् । 

मौकामा चौका
मीराको मुखबाट निस्किरहने एउटा शब्द हो, चान्स । चान्स अथवा अवसर पाउनु भनेको आधाउधी जित्नु हो । उनलाई राम्ररी थाहा छ, चान्सका बेला डान्स गर्न जान्नुपर्छ । उनले चान्स पाउन कति लड्नुपरेको थियो, कति व्यवधान खेप्नुपरेको थियो । अनि पाएको चान्स नगुमाउन के मात्र गरिनन् ? खाइ/नखाई कुदिनन् कि, ज्यानकै बाजी थापिनन् कि ? ‘खुट्टा तान्ने त कति हो कति नि,’ उनले भनिन्, ‘कसो–कसो फुत्किएर इटाली जान पाएँ । त्यहाँ दौड जितेपछि अरू बाटा खुल्न थाले ।’ 

दौडको अघिल्लो दिन मात्रै इटाली पुगेकी मीरालाई पहिलो अन्तर्राष्ट्रिय खेल कसैगरी जित्नु थियो । जितले नयाँ अवसर दिलाउँछ भन्ने लागेछ । तर, अनिद्रा र पहिलो पटक विदेशी संसार देख्दाको नौलो आभाष सँगाल्दै दौडिनु पर्‍यो, जुन सहज थिएन । उनकै शब्दमा– ‘इट वाज नट इजी’ ।

अग्ला र ठूला कदका विदेशी प्रतियोगीमाझ फुच्ची मीरा पुतलीझैं फुरफुर कुद्दै थिइन् । छेउछाउमा ‘गोर्खा’ भन्दै चिच्याएको सुनेपछि जोस झनै बढेछ । नभन्दै ५७ किलोमिटरको ‘सेलारोन्डा ट्रेल’ ६ घण्टा ३६ मिनेट ३० सेकेन्डमा पार गरेर उनले कीर्तिमानसहित रेस जितिन् ।

‘प्लेनको थकाइ मेटिएकै थिएन,’ अनुभव सुनाउँछिन्, ‘झुप्प–झुप्प निदाउँदै कुद्दा पनि जितेछु । गुरुहरू नै छक्क पर्नुभयो ।’ दोस्रो पटक इटालीकै ‘ट्ेरल डेगली इरोइ’ मा पनि उनले सबैलाई उछिनिन् । ८३ किमिको उकाली–ओराली ९ घण्टा १६ मिनेटमा कुदेर भ्याएकी थिइन् । एमएसाआईजी हङकङ ५० किमि दौडमा मीरालाई कसैले हराउन सकेन । हङकङकै एमएसाआईजी भर्टिकल किलोमिटरमा पनि उनी प्रथम भइन् ।

सन् २०१४ को सेप्टेम्बरबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थालेकी उनले चार महिनाभित्रै आधा दर्जन दौडमा आफ्नो कौशल देखाइन् । दुई वर्षमा विश्व प्रसिद्ध बनिन् । यतिबेला जताततै उनको ख्याति छ । यति छोटो अवधिमा यस्तो सफलता विश्व खेलकुदमा जादूयी मानिन्छ ।

भाग लिएका अधिकांश खेलमा मीरा पहिलो भएकी छन् । चान्स पाएपछि शतप्रतिशत दिनुपर्छ भन्ने लाग्छ उनलाई । यसरी शतप्रतिशत दिने क्रममा उनले घुँडाको दुखाइलाई भने सधंै बेवास्ता गरिरहिन् । धन्न ! सन्तुलित आहार र शारीरिक कसरतले चोट पेचिलो बन्न दिएन । तैपनि तीनवटा शल्यक्रिया त गर्नैपरेछ । इटालीको भेरोना अस्पतालमा च्यातिएको लिगामेन्ट (एसीएल टियर) जोडियो । अहिलो फिजियो, योग र अनेक कसरत गरेर त्यसलाई तन्दुरुस्त पार्दैछिन् । आखिर खुट्टा नै हो उनको हतियार, ठीक त पार्नै पर्‍यो ।

‘चान्स पाएको बेला घुँडा दुख्यो भनेर नखेलेको भए म यो स्थानमा कहाँ आइपुग्थेँ र ?’ उनले हाँस्दै भनिन्, ‘चान्स भनेको खोलामा बगेको पातजस्तै हो । समयमा टिपेन भने बगेर कहाँ जान्छ कहाँ ।’ 

अङ्ग्रेजी पढ्दै, बाटो खन्दै !
जता फर्किए पनि अङ्ग्रेजी नै चाहिने भएपछि यी भोजपुरे चेली हिजोआज धमाधम अङ्ग्रेजी सिकिरहेकी छन् । ‘पहिले–पहिले त नेपालीमै पनि बोल्न आउँदैनथ्यो’ भन्ने उनी अचेल अङग्रेजी मिसाउँदै देश–दुनियाँ ‘फाँड्छिन्’ । विश्वलाई शासन गरेको बेलायतमा पनि दौडिएकी उनी अहिले संसारकै शक्तिशाली अमेरिका पनि पुगेकी छन्, जहाँ अंग्रेजी भाषाकै रवाफ छ । उनी बिर्सेर पनि विदेशमा भुल्न भने चाहन्नन् । ‘नो वे, म उतै बस्ने गरी कहिल्यै विदेश जान्नँ,’ उनले प्रस्टै बोलिन्, ‘एउटाले साखा बिराउँछ भन्छन् । म विदेशमा बस्यो भने अरू भाइबहिनीहरूलाई ‘तिमीहरू पनि मीराजस्तै विदेशमै बस्ने होला’ भनेर दौडका लागि समेत भिसा नदेलान् ।’ ट्रेल रनिङको कुनै आधिकारिक संस्था नभएकाले यसै पनि नेपाली खेलाडीलाई भिसाको ठूलै समस्या हुने गरेको उनी बताउँछिन् ।

भोजपुर–दुम्मामा मीराका एक भाइ–बहिनी छन् । दाजु–भाउजू झापामा । उनले अघिदेखि उल्लेख गरेका ‘भाइबहिनी’ साक्खे हुन् कि देशका अरू केटाकेटी ? प्रश्न सुनेपछि उनी ट्वाँ परिन् । ‘मेरा लागि सबै बराबर, सबै साक्खे,’ उनले भनिन्, ‘जसले राम्रो गर्छ उसलाई अवसर दिनुपर्छ । मेरो बोस, विदेशी भएर पनि मलाई चान्स दिइरहनु भएको छ । हामीचाहिँ आफू–आफूमा भेदभाव गर्छौं । राम्रो गर्नेलाई अवसर दिन पाए मीरा राईहरू थपिँदै जान्छन् ।’

आफूले ‘लिडर’ वा ‘बोस’ मानेको रिचार्ड बुल भिसा सकिएर स्वदेश फर्किएदेखि मीरालाई पर्नु पीर परेको छ । उनका अनुसार बुल नेपालमै बसेर मीराजस्ता अन्य प्रतिभालाई माथि उठाउन चाहन्थे । तर, त्यस्तो हुन सकिरहेको छैन । आफूलाई यहाँसम्म ल्याइपुर्‍याउने मान्छेलाई सहयोग गर्न नसक्दा उनी छटपटाएकी छन् । ‘जतिसुकै राम्रो खेल्ने भए पनि खेलाडी एक्लैले केही गर्न सक्दैन,’ उनले स्विकारिन्, ‘उसलाई राम्रो लिडर चाहिन्छ । लिडरले व्यवस्थापन र अन्य चीजबिजको जिम्मा लिइदिएपछि मात्रै खेलाडीले ढुक्क भएर खेल्न पाउँछ ।’ 

खेलकुदको आउँदो पुस्ताले हजार समस्यासँग जुध्नु नपरोस् भन्ने इच्छा छ मीराको । आफूले आर्जेको ज्ञान र सीप भाइबहिनीलाई बाँड्न चाहन्छिन् । ‘हुन त आई एम भेरी स्मल, तैपनि अहिलेसम्म बटुलेको अनुभव बाँड्ने रहर छ,’ साइकलमा सरर काठमाडौं चहार्ने मीराले भनिन्, ‘भाइबहिनीले सजिलै खेलेको हेर्न पाए हुन्थ्यो । त्यसका लागि म आफैँ पनि बाटो खन्दैछु । एउटा रुट बनाइदिन पाए तिनलाई सहज हुने थियो ।’

शिविरको सिकाइ
मीरा काठमाडौं आएको झन्डै आधा दशक भयो । उनकी वृद्धा आमाले चाहिँ राजधानी देखेकी छैनन् । बा–आमालाई काठमाडौं घुमाउने धोको छ जेठी छोरीको । यही हिउँदमा बोलाउन चाहन्थिन् । तर, मरेकाट्टे भ्याइनन् । आफू भने बेलाबखत गाउँ फर्किन्छन् । सानो छँदा जस्तो थियो अहिले पनि उस्तै लाग्छ गाउँ, विकट । फरक यत्ति हो, अहिले कानमै गोली चलेको आवाज सुनिँदैन । 

माओवादी–सेनाको दोहोरो भिडन्तको बीचमा पर्दाको त्यो डरलाग्दो अवस्था भने हिजो भोगेजस्तै लाग्छ मीरालाई । ‘पुरानो कुरा सम्झिँदा रोइहाल्छु’, मीराको बब्ली फेस तुरुन्तै ग्लुमी बन्यो, अनि आँखा मिच्दै कुरा थपिन्, ‘के–के भोगियो, भोगियो सानैमा ।’ घर र समाजको स्थिति नाजुक थियो, छोरीका लागि अवसर शून्य थिए । जसोतसो स्कुल पढ्दै गरेकी उनले (माओवादी) पार्टीमा लागेपछि अनेक अवसर पाइन्छ भन्ने सुनिन् । अनि, चुपचाप घर छाडेर हिँडिन् । 

झन्डै तीन वर्षसम्म छोरीको अत्तोपत्तो पाएनन् अभिभावकले । चाल पाएपछि उनको कदमप्रति आक्रोश देखाएनन् । ‘मेरा बाबा–आमाले पढ्नु भएको छैन तर शिक्षित हुनुहुन्छ,’ मीरा भन्छिन्, ‘मलाई पूर्ण स्वतन्त्रता दिनुभयो । मेरो काममा विश्वास गर्नुभयो ।’ १४ वर्षको उमेरमै पार्टीमा लागेकी उनले बन्दुक पड्काउन, मोर्चामा होमिन सिकिन् । खेलकुद सिकेको पनि जनआन्दोलन २०६२–६३ पछि सिन्धुली शिविरमै हो । यी भन्दा ठूलो कुराचाहिँ निडर हुन जानिछन् । 

सेना समायोजनका क्रममा राष्ट्रसंघीय मिसनले उनलाई अयोग्य घोषित गर्‍यो । उनको उमेर पुगेन । जंगलमा छँदा बढेको मनोबल स्वाट्टै घट्यो । घरको हालत सम्झिइन् । भक्कानो फुट्यो । अनि शिविरबाट सोझै काठमाडौं आइन्, मलेसिया जाने सोचले । त्यही बेला बालाजु कराँते डोका गुरु धु्रवविक्रम मल्लसँग भेट भयो । शिविरमा छँदै मीराको खेल देखेका मल्लले उनलाई मलेसिया जान दिएनन् ।

‘गुरु त्यसै गुरु हुँदैन रहेछन्,’ मल्लकै घरमा बस्ने गरेकी मीराले भनिन्, ‘चेलाको सीप जाँच्ने खुबी हुँदोरहेछ उहाँहरूसँग । ध्रुव गुरुले मलाई नै थाहा नभएको मभित्रको प्रतिभा उजागर गरिदिनुभयो । उहाँले नरोकेको भए अहिले आफू मलेसियाको कुनै कम्पनीमा मजदुरी गर्दै हुने थिएँ ।’ भिसा लागेर पनि उनलाई रोकेका मल्लले काठमाडौंमा बस्ने/खाने व्यवस्था मिलाइदिएका थिए ।

‘...लडाकु’
सेना समायोजनमा हटाइएका पुराना कामरेडहरूसँगको उनको दोस्ती टुटेको छैन । कहिलेकाहीँ भेटघाट हुँदा कामरेडहरू मीरालाई जिस्काउँदा रहेछन्, ‘यो सिँगाने लडाकु अहिले सेलिब्रिटी भई । ऊ बेला सिँगान पुच्छ्दै कुद्थी ।’ मीरा अझै कुद्न चाहन्छिन् । कुद्ने रहर पूरा भएको छैन । स्वर्णपदक जित्नु’ छ । अनि आफूजस्ता धेरै दिदी–बहिनलाई कुदाउनु छ । ‘हामी पहाडमा जन्मेका, किसानका सन्तानलाई उकाली–ओरालीमा दौडिन के ठूलो कुरा छ र ?’ विदेशीले पैसा तिरेर गर्ने अभ्यास हामीकहाँ स्वस्फूर्त हुने गरेको उनले बताइन् । 

विश्व खेलकुदकै महाकुम्भ हो, ओलम्पिक । यसमा पदकका लागि ट्रयाक र सडकमा दौडनुपर्छ । विश्व खेलकुदमा सफलताको आधार ओलम्पिकलाई नै मानिन्छ । तर मीराको स्पर्धा यसमा पर्दैन । ‘मेरो बाटो अर्कै भयो, यसैमा रमाइरहेकी छु, रोडमा दौडने चाहना छैन,’ उनले भनिन् । साहसिक दौडमा मोटो रकमको पुरस्कार हुन्न । कसरी चल्छ त जीवन ? ‘मागेरै चलिरहेको छ,’ उनले हाँस्दै भनिन्, ‘सफलता हात पार्न थालेयता प्रायोजक पनि पाएकी छु ।’ उनले पुरस्कार/सम्मानका पैसा जोगाएर झापामा जग्गा जोडेकी छन् । बेलायतमा बस्ने नेपालीहरूले उनलाई सम्मानस्वरूप अघिल्लो महिना २८ लाख रुपैयाँ प्रदान गरेका थिए । ‘यो पैसा कुखुरा फार्ममा लगानी गर्दैछु,’ उनी भन्छिन्, ‘भविष्यका लागि पनि जोहो त गर्नैपर्‍यो !’

थुम्काहरू नाघ्न बालखाकै कसरतले साथ दियो । त्यो कसरतलाई अन्य खेलमा पनि परीक्षण गर्दैछिन् अचेल । उनी क्लाइम्बिङमा पनि पारंगत छिन् । उनलाई बाँदरझैं पाखा–पाखा, रूख–रूख कुदेको याद आउँछ । ‘मैले जस्तो कसरत गर्ने महिला देशभरि कति छन् कति,’ उनले भनिन्, ‘यस्ता साहसी खेलमा नेपालले राम्रो गर्न सक्ने चान्स धेरै छ ।’ राम्रो गर्ने छाँट देखेरै उनले जुम्लाका सुनमाया बुढा र पूर्णलक्ष्मी न्यौपानेलाई अवसर दिएकी हुन् । हङकङमा पुसमा भएको स्काइरनिङ एसियन च्याम्पियनसिपमा सुनमाया पहिलो नै भइन्, जुन तीन वर्षअघि मीराले जितेकी थिइन् ।

मीराले अहिलेसम्म सबैभन्दा धेरै कुदेको स्पेनमा हो । लगातार १३ घण्टा कुदेर ११० किमिको अल्ट्रा पिरिनेउ पूरा गर्दासमेत उनले थकाई महसुस गरेकी थिइनन् । अहिले उनी घुँडा कहिले सञ्चो होला र फेरि बेपत्ता दौडौंला भन्ने आशामा छिन् । उनले कामको सूची लामै बनाएकी छन् । तर, उनको प्रमुख लक्ष्य एउटै छ, अझै कुद्ने, कुदिरहने– ‘आई जस्ट वान्ट टु रन, रन, रन...।’

प्रकाशित : फाल्गुन ६, २०७३ २२:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT