शक्ति समर्पण

डेढ दशकयता नेपाली टिमकै सशक्त खेलाडीका रूपमा स्थापित शक्ति गौचनले भैरहवामा एकेडेमी चलाएर क्रिकेटमा ऊर्जा थपिरहेछन् ।
माधव ढुंगाना

भैरहवाको पडसरीस्थित सिद्धार्थ राजमार्गसँगै जोडिएको पश्चिमतर्फको एउटा घरमा ८ वर्षदेखि साइनबोर्ड छ— ‘स्टार क्रिकेट एकेडेमी ।’ ८–१० वर्षे बालकदेखि लक्का जवानसम्म त्यहाँ भेला हुन्छन् । कोही ब्याट चलाउँदै त कोही बलिङ गर्दै हुन्छन् । अनि सबैलाई सिकाईरहेका हुन्छन् प्रख्यात क्रिकेटर शक्ति गौचन ।

शक्ति समर्पण

भैरहवामा यति बेला घरजग्गाको भाउ छोई नसक्नु गरी आकासिएको छ । राजमार्गसँगै जोडिएको छेउछाउका जमिनमा धमाधम प्लटिङ भइरहेका छन् । एकेडेमी बनाइएको जमिन राजमार्गसँगै जोडिएकाले हातको भाउमा करोडौंको मूल्यमा बिक्री हुन्छ । तर त्यसको कुनै परवाह छैन शक्तिलाई । क्रिकेट प्रशिक्षण दिन उनले ६० लाखभन्दा धेरै खर्चेर इन्डोर क्रिकेट मैदान तयार पारेका छन् । जहाँ प्रकृतिको कुनै विषमताले क्रिकेट खेल रोकिनेवाला छैन । निजी लगानीमा सञ्चालित इन्डोर क्रिकेट एकेडेमी मुलुककै पहिलो र अहिलेसम्म एक मात्र हो । 

‘पैसाको हिसाबले यो एकेडेमी केही होइन, प्रशिक्षार्थीलाई बल र ब्याट पुर्‍याउन पनि धौ–धौ परेको छ,’ शक्तिले भने, ‘मेरो २–४ करोडको लगानीमा भोलि राष्ट्र मभन्दा धेरै प्रतिभावान खेलाडी जन्माएर क्रिकेटको दुनियाँमा अस्ट्रेलिया र भारतजस्तै बन्यो भने मेरा लागि ठूलो कुरो अरू के हुन्छ र ?’ 

शक्तिले सन् २००९ देखि एकल प्रयासमा एकेडेमी सञ्चालनमा ल्याएका हुन् । हाल दैनिक ५०–६० जना त्यहाँ प्रशिक्षण लिन आउँछन् । एकेडेमीले अहिलेसम्म २ सयभन्दा धेरै खेलाडी जन्माइसकेको छ । जसमध्ये २ दर्जन जतिले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा भाग लिइसकेका छन् । ३ दर्जनजति क्षेत्रीय प्रतियोगिता खेल्दै छन् । 

सुशान्त भारी, निर्मल थापा, सौरभ खनाल, सन्दीप सुनार, प्रकाश केसी, नूरध्वज सेनलगायतका खेलाडीले अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गरिसके । उनीहरू हालै यू–१९ विश्वकपमा नेपाल टोलीमा समेटिएका थिए । क्रिकेट प्रशिक्षण लिन दैनिक २२ किमि यात्रा गरेर आउने पनि छन् । 
प्रतिभाहरू फुल्ने मौकाको अभाव नहोस् भनेर शक्तिले एकेडेमी सुरु गरेका हुन् । उनले क्रिकेटरहरूलाई पठनपाठन, खेल सामग्री र रोजगारी प्राप्तिमा समेत सघाउँदै आएका छन् । 

पछिल्ला वर्ष सरकारले क्रिकेटको विकासप्रति देखाएको रुचिलाई उनी सकारात्मक रूपमा लिन्छन् । उनको बुझाइमा सरकारले क्रिकेटको प्रशिक्षणतर्फ भन्दा क्रिकेट मैदान निर्माण गर्नेतर्फ जोड दिएको छ । ‘यो पनि सकारात्मक पक्ष हो,’ उनी भन्छन् । क्रिकेट महँगो खेल भएकाले प्रशिक्षार्थीलाई ब्याट र बलसम्म सरकारले उपलब्ध गराइदिए ठूलो सहयोग हुने उनी बताउँछन् । 

एकेडेमीले प्रशिक्षार्थीबाट मासिक १ हजार रुपैयाँ शुल्क लिने व्यवस्था छ । सबैले दिंदैनन् । कतिपयले घरको समस्या देखाउँछन् । बल र ब्याट जुटाउनसमेत धौ–धौ गर्छ । ‘यहाँको कमाइले सम्पत्ति कमाउँछु गाडी किन्छु भन्ने छैन । क्रिकेटबाट जे पाएँ त्यो क्रिकेटमै खर्च गर्छु भन्ने सोच र योजना मेरो हो,’ शक्तिले भने । 

विशाल बन्जाडे, गुन्जन न्यौपाने, प्रशान्त शर्मालगायतका युवाको समूह तीन वर्षदेखि प्रत्येक दिन बुटवलदेखि क्रिकेट प्रशिक्षण लिन एकेडेमी आइरहेका छन् । यति बेला उनीहरू बुटवलस्थित न्यू होराइजन बोर्डिङबाट विद्यालयस्तरीय प्रतियोगितामा भाग लिइरहेका छन् । ‘हामी अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने खेलाडी बने पनि क्रिकेटको प्रशिक्षण निरन्तर रूपमा लिनेछौं र यसका लागि सिक्न आउने यही एकेडेमी हो,’ विशालले भने, ‘शक्ति गौचनजस्तै क्रिकेटको माध्यमबाट परिचित हुने मन छ ।’

आर्थिक दृष्टिले शक्तिको परिवार मध्यमस्तरको हो । बुवा भारतीय सेनाबाट निवृत्त भएर पनि धेरै वर्ष भारतमै कार्यरत रहे । सुरुदेखि नै उनको परिवार भारतमै बस्दै आएको थियो । सानै उमेरदेखि शक्ति क्रिकेटप्रति आकर्षित र सोखिन हुन थालेका थिए । उनलाई कम्प्युटर इन्जिनियर बनाउने बाबुको ठूलो धोको थियो । ‘ऊ क्रिकेटप्रति समर्पित भएको देख्दा पहिला त बेकारमा लाग्योजस्तो लाग्थ्यो,’ दुई वर्षअघि निधन भएका शक्तिका बुवा खड्गप्रसादले एक प्रसंगमा पक्तिकारसँग भनेका थिए, ‘अहिले शक्तिको बुवा भनेपछि मलाई जताततै सानो–ठूलो सबैले चिन्छन्, खुसी लाग्छ । पैसाभन्दा ठूलो नाम रै छ भन्ने भावना आइरहेको छ ।’

२ कक्षा पढ्दासम्म शक्ति हक्की खेलप्रति आकर्षित थिए । लखनउमा बस्दा एक दिन किताब किन्न आमासँग स्टेसनरी पसल जाँदा शक्तिले क्रिकेटको ब्याट देखे । अनि ब्याट र बल किन्ने जिद्दी गरे । अति सताएपछि किताब किन्ने पैसाले ब्याट र बल किनिदिएको आमा रामकुमारी सुनाउँछिन् । उनको परिवार भारतको गोरखपुरमा बस्न थाल्दा शक्ति ३ कक्षामा भारतीय सैनिक विद्यालयमै पढ्थे । त्यसपछि नै उनको क्रिकेट यात्रा सुरु भएको हो । 
बाबु फौजी भएकाले छोराछोरीलाई हुर्काउने र पढाउने जिम्मा आमाको काँधमा थियो । छोरा पढाइमा भन्दा क्रिकेटमा लागेको देखेपछि रामकुमारीले लोग्नेको कचकच सुन्नुपथ्र्यो । यति मात्रै होइन, छरछिमेकीले तेरो छोरो क्रिकेटमा लागेपछि पढाइमा कमजोर भएर फेल हुन्छ भनेर तर्साउँथे । तर शक्ति र उनको दिदी दुवै जना पढाइमा पनि दिमागी थिए । शक्तिले १२ पास गर्दासम्म कतै पनि टयुसन नलिएको रामकुमारीले सुनाइन् । 

‘परीक्षाको बेलामा क्रिकेट खेल्न मैले नदिएपछि उसका साथीभाइले घरी यताबाट घरी उताबाट सिठी बजाउँदै घरबाट निस्किन संकेत गर्थे,’ रामकुमारीले भनिन्, ‘साथीभाइको सिठी बजेपछि जाँचको बेलामा घरबाट ननिस्कन उसलाई हातखुट्टा बाँधेर डन्डाले पिट्थें तर जसरी तसरी फुत्केर निस्किछाड्थ्यो ।’

शक्तिको क्रिकेटप्रतिको योगदानलाई रूपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्ल खुलेर प्रशंसा गर्छन् । ‘यस्तो पूर्वाधारबाट रूपन्देही क्रिकेटले ठूला आशा लिएको छ,’ मल्लले भने, ‘उनको व्यक्तित्व, क्रिकेटप्रतिको समर्पण र राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरको छविले क्रिकेटप्रति युवामा आकर्षण बढाउनुको साथै धेरै प्रतिभावान खेलाडी रूपन्देहीमा जन्माउन थालेको छ ।’


 

प्रकाशित : फाल्गुन ८, २०७३ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?