१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पुनरागमनमा महबुब र आरिफ

विनोद पाण्डे

काठमाडौं — केन्यासँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट भेट्रान महबुब आलम र युवा आरिफ शेखले नेपाली राष्ट्रिय टोलीबाट पुनरागमन गर्दै छन् । झन्डै २ वर्षको अन्तरमा अलराउन्डरद्वय टोलीमा फर्किएका हुन् ।

पुनरागमनमा महबुब र आरिफ

सन् २०१५ को नोभेम्बरमा पपुवा न्यु गिनीसँगको च्याम्पियनसिप खेलपछि भेट्रान महबुब राष्ट्रिय टोलीमा समेटिएका हुन् । आरिफले २०१५ को जनवरीमा नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ मा ‘डेब्यु’ गरेका थिए । त्यसयता उनी पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।

भेट्रान अलराउन्डर महबुबलाई आफ्नो पुनरागमनमा अझै विश्वास छैन । ‘मलाई राष्ट्रिय टोलीमा पुनरागमन गर्छु जस्तो लागेको थिएन,’ उनले कान्तिपुरसँग भने, ‘अहिले नेपालमा जति पनि युवा खेलाडी छन् सबै राम्रा छन् । त्यही भएर अहिले नेपाल टिममा पर्न धेरै गाह्रो छ । पहिला जस्तो एउटा म्याचमा मात्र रन हानेर टिममा परिँदैन अहिले । प्रतिस्पर्धा यति बढिसकेको छ कि हरेक म्याचमा प्रदर्शन दिन जरुरी छ । मेरो उमेर पनि ढल्किसकेकाले राष्ट्रिय टोलीमा फेरि आउँछु भनेर सोचेको थिइनँ ।’

त्यसका लागि आफूले निकै मिहिनेत गरेर फिटनेसमा ध्यान दिएको उनी बताउँछन् । ‘राजविराजमा राजदेवी क्रिकेट एकेडेमीमा उनी आफैं अभ्यास गरिरहन्थे । ब्याटिङमा मेरो प्रदर्शन भइरहेको थिएन, त्यसमा मिहिनेत गरेको थिएँ । यो सिजनको सुरुआतदेखि नै म राम्रो लयमा थिए । हरेक प्रतियोगिता जस्तोमा रन हानिरहेको थिएँ । आत्मविश्वास बढाउन म जहाँ गएर पनि खेलिरहन्थें । यसले मलाई बढी फाइदा भयो,’ उनी राष्ट्रिय टोलीमा फर्कनुको कारण दिन्छन् ।

केन्यासँगको खेलका लागि सुरुमा नेपाली टोलीका छनोट ५२ खेलाडीबाट गरिएको थियो । त्यसमा आफूले २–३ अर्धशतक बनाएको उनी बताउँछन् । ‘मेरो बलिङमा पहिलाको लय देखिएको छ, ब्याटिङको फलो समातेको छु,’ महबुबले भने, ‘नयाँ पेस बलरहरूमा सोमपाल कामी, करण केसी, विक्रम सोब, अविनाश कर्ण सबै राम्रा छन् । यू–१९ का दीपेश श्रेष्ठले राम्रो गरिरहेका छन् । मेरो चाहिँ ब्याटिङ प्लस प्वाइन्ट थियो । बलिङभन्दा ब्याटिङमा धेरै मिहिनेत गरें यसपालि । फिटनेस राम्रो छ मेरो, ५० ओभर नै फिल्डिङ गरिरहेको छु ।
फिटनेस ट्रेनर पनि टिममा रहेकाले राम्रो भइरहेको छ । मेरो फिटनेस र नेपाली टिमको अभ्यास ।’

प्लेइङ ११ मै खेल्ने सम्भावना देख्छन् उनी । त्यसको कारण उनी यसरी दिन्छन्, ‘बलिङ नेपालको जहिल्यै राम्रो हो । पहिला हाम्रो ब्याटिङमा सुरुआत र फिनिसिङमा कमजोरी थियो । अहिले ओपनिङमा ज्ञानेन्द्र मल्ल र सुनील धमलाले राम्रो गरिरहेका छन् । विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी र मलाई मध्यपंक्तिमा खेल्दै फिनिसरको भूमिका दिइएको हुन्छ । अहिले जसरी मेरो ब्याटको फलो छ त्योअनुसार मलाई दिइएको भूमिका निभाउन सक्छु ।’

पुनरागमनमा राम्रो अनुभव बटुल्दै छन् आरिफ । ‘प्रयास गरिरहेको थिएँ टिममा पुनरागमन गर्न तर कुनै कारण प्रदर्शन भइरहेको थिएन । यसपालि चाहिँ धेरै आशा थियो र टिममा छनोट भएँ,’ आरिफले भने, ‘यू–१९ मा धेरैले राम्रो प्रदर्शन गरेका थिएँ, मेरो औसत प्रदर्शन थियो । त्यही भएर त्यसका केही खेलाडीले मौका पनि पाएका छन् ।’

राष्ट्रिय टिममा पर्न भन्दा टिकिरहन गाह्रो हुने उनको बुझाइ छ । ‘राष्ट्रिय टिम भनेको छुट्टै स्तरको हुन्छ, छुट्टै स्तरको खेल्न पाइन्छ । त्यही भएर गाह्रो त भइहाल्छ,’ प्रशिक्षकहरूले विश्वास गरेर टिममा राखेकाले प्लेइङमा मौका पाए नि नपाए पनि त्यसले केही फरक नपार्ने बताउँदै उनी भन्छन्, ‘मौका पाएँ भने राम्रो गर्छु भन्ने आशा लिएको छु ।’

उनी ब्याटिङ अलराउन्डर हुन् । मध्यम गतिको बलिङ पनि गर्छन् । तर ब्याटिङमै केन्द्रित हुन चाहन्छन् उनी । डिभिजन २ खेल्दाको स्थिति तुलना गर्दै उनी भन्छन्, ‘त्यो बेला हामी डिभिजन २ को म्याचहरू खेलिरहेका थियौं । अहिले हामी च्याम्पियनसिपमा खेलिरहेका छौं । त्यो र यो स्तरको क्रिकेट फरक छ । टिमहरू धेरै राम्रा छन् ।’

उनका भाइ आशिफ पनि १९ सदस्यीय नेपाली टोलीमा थिए । अन्तिम सूचीमा भने अटाएनन् । ‘शीर्ष १४ छान्नै पथ्र्यो । त्यसैले ऊ छनोट नहुँदा दु:खी छैन । उसले राम्रो खेलिरहेको छ, जसरी खेलिरहेको छ त्यसअनुसार ऊ पनि चाँडै आउँछ राष्ट्रिय टोलीमा,’ भाइसँगै राष्ट्रिय टोलीबाट खेल्ने सपना देख्छन् आरिफ ।

प्रकाशित : फाल्गुन २५, २०७३ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?