२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

नेपाल–केन्या भिडन्तका इतिहास

विनोद पाण्डे

काठमाडौं — विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र केन्या शनिबार र सोमबार भिड्दै छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने दुवै खेलमा विजय हात पार्ने टोलीको अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो रहन्छ ।

नेपाल–केन्या भिडन्तका इतिहास

च्याम्पियनसिपका शीर्ष चार टोलीले अर्को वर्ष विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउँछन् । नेपाल र केन्याको प्रतिस्पर्धा पनि यही शीर्ष चारमा रहन केन्द्रित छ । अहिलेको स्थितिमा केन्या पाँचौं र नेपाल छैटौं स्थानमा छन् ।

केन्या दुवै खेलमा विजयी भए हङकङलाई उछिन्दै चौथो स्थानमा उक्लने छ । नेपालले दुवै खेल जिते केन्यालाई पछाडि पार्दै पाँचौं स्थानमा पुग्नेछ । नेपालसँग १० अंक हुनेछ । हङकङभन्दा १ अंकले मात्र पछाडि रहने छ । केन्यापछि नेपालले हङकङमै गएर खेल्ने कार्यक्रम छ । अन्तिम खेल नेपालले युएईसँग तटस्थ भूमिमा खेल्नेछ ।

पाँच पटक एकदिवसीय विश्वकपमा प्रतिस्पर्धा गरिसकेको केन्याले ५० ओभरमा नेपालसँग भएका दुवै खेल जितेको छ । अभ्यास खेलसमेत हेर्ने हो भने केन्यासँग लगातार तीन खेल हारिसकेको छ । तर ट्वान्टी–२० मा भने केन्यामाथि दुई खेलमै नेपालले विजय पाएको छ । केन्याले सन् २००७ र नेपालले २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेको थियो ।

नेपाल र केन्याबीचका खेल रोमाञ्चले भरिपूर्ण छ । ती खेलहरू यस्ता थिए :

२०१२, विश्व ट्वान्टी–२० छनोट, युएई

नेपाल पहिलो पटक विश्व ट्वान्टी–२० छनोटमा खेलिरहेको थियो । केन्यामाथि पाएको ५ विकेटको विजय तत्कालीन स्थितिमा नेपालको लागि ठूलो विजय थियो । वसन्त रेग्मीले ३ विकेट लिएपछि टस जितेको केन्यालाई नेपालले १३९–४ को स्थितिमा रोकेको थियो । केन्याबाट कोलिन्स ओबुयाले ५२ रन बनाएका थिए ।

ओपनरद्वय अनिल मण्डलले ३२ र प्रदीप ऐरीले ४५ तथा कप्तान पारस खड्काले नटआउट २६ रन बनाएपछि नेपालले २ बलअघि लक्ष्य पूरा गरेको थियो । यो विजयसँगै नेपालले १६ राष्ट्र सहभागी प्रतियोगितामा सातौं स्थान हात पारेको थियो । त्यहींबाट अर्को पटक शीर्ष ६ स्थानमा रहेर ट्वान्टी–२० विश्वकपमा खेल्ने लक्ष्य बनाएको थियो ।

केन्याको प्रदर्शन लगातार ओरालोलाग्दो थियो, नेपालसँगको हार त्यही क्रममा आएको हो । नेपाल जस्तो टोलीसँग पनि हार्न थालेकाले केन्याको पतन सुरु भएको स्थानीय एक अखबारले आलोचनासहित समाचार छापेको थियो ।

२०१३, विश्व ट्वान्टी–२० छनोट, युएई
ट्वान्टी–२० मा नेपालले १ सय ८६ रन बनाएर खेल जितेको छ । ट्वान्टी–२० मा नेपालले विजय लक्ष्य पछ्याएर खेल जितेको यो धेरै रनको हो । यो केन्याविरूद्ध नै थियो । दुबईमा केन्याले ७ विकेट गुमाई १ सय ८२ रन बनायो । केन्याका राकेप पटेल ट्वान्टी–२० मा नेपालविरुद्ध शतक बनाउने पहिलो खेलाडी बने । उनी १ सय ३ रन बनाई पारस खड्काको बलमा बोल्ड भएका थिए । उनले त्यस क्रममा शरद भेषावकरलाई एकै ओभरमा ३ चौका र ३ छक्का प्रहार गरी ३० रन प्रहार गरेका थिए ।

खलनायकबाट नायक बन्न शरदलाई धेरै समय लागेन । अन्तिम ओभरमा नेपाललाई जितका लागि १७ रन चाहियो । ३ छक्कासहित २० रन बनाउने क्रममा शरदले अन्तिम ओभरमा राघेब अगाको पहिलो बलमा छक्का हाने । दोस्रो बलमा २ रन जोडे । त्यसपछि तेस्रो र चौथो बलमा छक्का प्रहार गर्दै नेपाललाई ६ विकेटको स्मरणीय विजय दिलाए ।

खेलमा सुवास खकुरेल र पारस खड्काले अर्धशतक बनाएका थिए । ट्वान्टी–२० मा पहिलो पटक एकै खेलमा दुई नेपाली ब्याट्सम्यानको अर्धशतक बनेको थियो । १८ औं ओभरमा पारसले इलिजाह ओटिनोलाई ३ छक्का प्रहार गर्दा नेपालले २२ रन जोडेको थियो, त्यहींबाट नेपाल विजयतर्फ लम्किएको हो । पारस मान्छन्, केन्यासँगको यही विजयपछि नेपाललाई साँच्चिकै विश्वकप पुग्न सकिन्छ भन्ने आधार मिलेको थियो ।

२०१४, विश्व क्रिकेट लिग डिभिजन २, नामिबिया

नेपाल र केन्या दुवै निर्णायक मोडमा थिए । युगान्डासँग पहिलो खेलमा हारे पनि नेपालले त्यसपछिका तीन खेलमा नामिबिया, नेदरल्यान्ड्स र क्यानडालाई पराजित गरेको थियो । केन्यासँगको विजयले नेपाललाई अन्तरमहादेशीय कपमा पुर्‍याउँथ्यो । उता नेपालविरुद्ध जित पाए केन्या डिभिजन २ मा रेलिगेसन हुनबाट जोगिन्थ्यो ।

उपकप्तान ज्ञानेन्द्र मल्लको नटआउट ९१ रनमा नेपालले १ सय ९४ रन बनायो । ज्ञानेन्द्रको स्कोर त्यो समयमा नेपाली ब्याट्सम्यानको लिस्ट ‘ए’ मान्यताप्राप्त खेलमा उच्च स्कोर थियो । तर इरफान करिमको नटआउट ७५ र कप्तान राकेप पटेलको ५६ रनमा केन्याले ३५ ओभरमै खेल आफ्नो पक्षमा पार्‍यो । नेपालले सन् २००५ यता प्रथम श्रेणीको म्याच खेलेको छैन । केन्यासँगको हारले नेपाललाई प्रथम श्रेणी मान्यताप्राप्त खेल खेल्न कम्तीमा अर्को ४ वर्ष कुर्नुपर्ने बनाइदियो ।

२०१४, विश्व क्रिकेट लिग डिभिजन २, नामिबिया

राउन्ड रोबिनको अन्तिम खेलको भेटपछि यी दुई टोली नै तेस्रो स्थानको प्लेअफमा भिडेका थिए । केन्याले ब्याटिङ गर्दै ९ विकेट गुमाई २ सय ८ रन बनायो । तर विनोद भण्डारीले ७३ र ज्ञानेन्द्रले ४८ रन बनाए पनि नेपाल १ सय ९३ रनमा अलआउट भयो । नतिजापछि डिभिजन २ मा केन्या तेस्रो र नेपाल चौथो भए । शीर्ष २ मा नपरेकाले अन्तरमहादेशीय कप गुमाए पनि केन्या र नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाए । त्यसैका लागि केन्या र नेपाल दुई खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

नेपालले केन्यासँगको खेलमा वसन्त रेग्मीलाई खेलाएको थिएन । २००८ यता वसन्तलाई पहिलो पटक ‘ड्रप’ गरिएको थियो । वसन्तको स्थानमा भुवन कार्कीलाई खेलाएर लिस्ट ‘ए’ मा डेब्यु गर्न दिइएको थियो । राष्ट्रिय टोलीबाट आरिफ शेखको यो दोस्रो खेल थियो । त्यसयता उनी पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । केन्यासँगको खेलमा खेल्न पाउने आशामा छन् उनी ।

प्रकाशित : फाल्गुन २६, २०७३ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?