क्राउड अर्थात् बाह्रौं खेलाडी

'जब टिम नेपाल घरेलु मैदानमा खेल्छ, नेपाली क्रिकेट फ्यानहरु जबर्जस्त ओइरिन्छन् । त्यस्तोमा प्रेसर खप्न निकै हम्मे पर्छ भ्रमणकारीलाई'
विनोद पाण्डे

नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट म्याच हुँदा घरेलु टोलीको शक्ति १२ औं खेलाडीमा हुन्छ । त्यो १२ औं खेलाडी भनेको ‘क्राउड’ अर्थात् दर्शक हो । ठूलो संख्यामा आउने दर्शकका दबाबलाई विदेशी टोलीले झेल्न सक्दैनन् । दर्शकको साथ पाउँदा नेपाली टिम पनि एक अतिरिक्त खेलाडी पाएर खेले जस्तै जोसिन्छ ।

क्राउड अर्थात् बाह्रौं खेलाडी

केन्या यस्तो टोली हुन सक्छ जसलाई त्रिवि क्रिकेट मैदानमा नेपाली दर्शक सामुन्ने खेल्दा ठूलो दबाब नहुन सक्छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलका लागि केन्या यतिबेला काठमाडौंमा छ । नेपाल र केन्याबीच शनिबार र सोमबार च्याम्पियनसिपका दुई खेल हुनेछन् । अंक तालिकामा केन्या पाँचौं र नेपाल छैटौं स्थानमा छन् । च्याम्पियनसिप विश्वकप छनोटको आधार हो । शीर्ष चार स्थानमा रहने राष्ट्रले विश्वकप छनोटमा सोझै प्रवेश पाउने छ ।

विगतको प्रदर्शनको आधारमा हेर्ने हो भने नेपाल आएका राष्ट्रहरूमा केन्या सबैभन्दा माथिल्लो स्तरको टोली हो । केन्याले पाँच पटक विश्वकपमा सहभागिता जनाउने क्रममा ठूलो मात्रामा दर्शकहरू उपस्थित हुने भारत, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिजमा गएर खेलेको छ । वेस्ट इन्डिजमाथि १९९६ को विश्वकपमा अप्रत्याशित विजय हात पार्दा केन्याले भारतको पुनामा दर्शकको ठूलो साथ पाएको थियो । अफ्रिकी भूमिमा २००३ मा केन्याले विश्वकपको सेमिफाइनल पुग्दै इतिहास नै रचेको थियो ।

पछिल्ला वर्षमा केन्याको प्रदर्शन खस्केको छ । तर नेपालभन्दा केन्या धेरै बलियो टोली हो । २०१५ को जनवरीमा नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ मा केन्याले नेपाललाई दुई पटक पराजित गरेको थियो । केन्यासँगको पराजयपछि नेपाल शीर्ष दुई स्थानमा रहन असफल भएपछि अन्तरमहादेशीय कप चार दिवसीय प्रतियोगिता खेल्न चुकेको थियो । नेपालसँगको विजयले चाहिँ केन्यालाई डिभिजन ३ मा झर्नबाट रोकेको थियो ।

घरेलु मैदानमा खेल्दा नेपालको प्रदर्शन जब्बर हुुन्छ । त्यसमा एक प्रमुख कारण घरेलु दर्शकको ठूलो समर्थन । कीर्तिपुर मैदानमा नेपालको खेल हुँदा झन्डै १० देखि १५ हजार दर्शक आउँछन् । त्यसमा सबैको मुखबाट आउने शब्द भनेको ‘नेपाल, नेपाल, नेपाल’ नै हो । यसले घरेलु टिमका खेलाडीलाई जोस्याउँछ नै, विदेशी टोलीको एकाग्रतासमेत भंग गर्छ । अर्को तथ्य के हो भने एसोसिएट राष्ट्रका धेरै स्थानमा अन्तर्राष्ट्रिय म्याच पनि खाली मैदान र रंगशालामा हुने गर्छ । दर्शक नै हुँदैनन् । केन्या एसोसिएट राष्ट्रमा सबैभन्दा पाको टोली हो र विश्वकपहरू नियमित खेल्दा केन्यालाई ठूलो दर्शकका अगाडि खेलेको अनुभव छ ।

‘गुन्जयमान नेपाली दर्शकका अगाडि खेल्न सजिलो नहुने हामीलाई थाहा छ, त्यसलाई हामी रोक्ने प्रयास गर्नेछौं,’ गत वर्ष च्याम्पियनसिपकै खेलका लागि आएपछि नामिबियाका डी ठाकुरले भनेका थिए । तर नामिबियाको टोलीले नेपाली दर्शकलाई रोक्न सकेन । दुवै खेल जितेर नेपालले च्याम्पियनसिपमा पहिलो पटक अंक बटुल्यो । ‘खचाखच दर्शकसामु नेपालमा खेल्दा गज्जब महसुस भयो । नेपाल र नेपाली दर्शकले यसमा गर्व गर्न सक्छन् । एसोसिएट क्रिकेटका लागि यो अविश्वसनीय हो,’ नेपाली दर्शकका अगाडि खेल्न पाउँदा हारमा दंग थिए नामिबियाका कप्तान स्टेफन बार्ड । उनलाई नेदरल्यान्ड्सलगायत अन्य एसोसिएट देशका खेलाडीले त्यो माहोलमा खेल्न पाएकोमा बधाई दिइरहेका थिए ।

नेपाल र केन्या च्याम्पियनसिपको यस्तो स्थितिमा छन् जसका कारण खेल अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ । दुई वर्षअघि नामिबियामा डिभिजन २ मा ज्ञानेन्द्र मल्लले केन्याविरुद्ध नटआउट ९१ रन बनाएका थिए । त्यो समयमा ज्ञानेन्द्रको त्यो स्कोर लिस्ट ‘ए’ मा नेपाली खेलाडीको उच्च स्कोर थियो । ज्ञानेन्द्रको प्रयासमा नेपालले १ सय ९४ रन बनायो । तर केन्याले ३५ ओभरमै खेल आफ्नो पार्‍यो । २०१३ को ट्वान्टी–२० विश्वकप छनोटमा केन्याले १ सय ८३ रनको लक्ष्य दियो । अन्तिम ओभरमा नेपाललाई जितका निम्ति २० रन चाहिन्थ्यो । शरद भेषावकरले ३ छक्का प्रहार गरेपछि नेपालले २ बल अगाडि नै लक्ष्य पूरा गर्‍यो । ट्वान्टी–२० मा नेपालले अहिलेसम्म ‘चेज’ गरेको यो सबैभन्दा ठूलो लक्ष्य हो ।

शरद र ज्ञानेन्द्र अहिले नेपाली टोलीको प्रमुख आशा हुन् । विशेष गरी कप्तान पारस खड्का पूर्ण रूपमा फिट नभएको अवस्थामा अनुभवी यी दुई खेलाडीमा नेपालको ब्याटिङ आशा टिकेको छ । ज्ञानेन्द्रले सुनिल धमलासँग मिलेर नेपालको ब्याटिङ ओपनिङ गर्नेछन् । घरेलु क्रिकेटमा बलियो प्रभाव जमाउँदै आएका सुनिलले नेसनल टिमबाट ‘डेब्यु’ गर्ने लगभग निश्चित छ । ज्ञानेन्द्रले दिल्लीमा नेपालले खेलेको तीन अभ्यास खेलमा दुईमा राम्रो प्रदर्शन गरेका थिए ।

सागर पुन र विनोद भण्डारीले मिडल अर्डर सम्हाल्ने छन् । सागरले पछिल्लो समय परिपक्व प्रदर्शन दिँदै आएका छन् । विनोद ‘गेम चेन्जर’ हुन् । उनी ठूलो सटका लागि माहिर छन् । नामिबियाविरुद्धको दोस्रो खेलमा उनले तीन छक्का प्रहार गर्दै ४० रन बनाई खेलको नक्सा परिवर्तन गरेका थिए । डेढ वर्षपछि महबुब आलम राष्ट्रिय टोलीमा फर्किएका छन् । नेपाल टिममा फर्किन कति गाह्रो छ भन्ने आफ्नो खेल जीवनको उत्तरार्धमा आइपुगेका महबुबलाई जति सायदै अरूलाई थाहा होला । यी भेट्रानले टिममा स्थान पाउन आरिफ शेख र दीपेन्द्रसिंह ऐरीसँग प्रतिस्पर्धा गर्दैछन् । युवा आरिफले पनि २ वर्षपछि ‘कमब्याक’ गर्दैछन् राष्ट्रिय टोलीमा । दीपेन्द्र पहिलो पटक परेका हुन् ।

सोमपाल कामी एक्लो फास्ट बलरका रूपमा खेल्न सक्छन् । स्पिन नेपाल सधैंको हतियार हो । केन्याजस्तो ठूलो टिमसँग खेल्दा शक्ति गौचन, वसन्त रेग्मी र सन्दीप लामिछानेसामु पनि चुनौती धेरै हुनेछ । विशेष गरी केन्याले स्पिन राम्रोसँग खेल्ने गरेको तथ्यसँग नेपाल परिचित छ ।
च्याम्पियनसिपमा शरदको ब्याट अझै खुलेको छ । नामिबियाविरुद्ध पछिल्लो पटक घरेलु मैदानमा भएको दुवै खेलमा शरदले नटआउट अर्धशतक बनाएका थिए । नामिबियासँगको नेपालमा भएको अन्तिम खेल अहिले पनि झलझली सम्झँदै शरद भन्छन्, ‘कीर्तिपुर मैदानमा भित्रबाट जति खेल हेरिरहेका थिए, त्यति नै बाहिर पनि थिए । त्यस्तो दृश्य हेर्दा सबैको एउटै लक्ष्य देखिन्थ्यो, जुन अहिले हाम्रो देशमा छैन ।’

प्रकाशित : फाल्गुन २७, २०७३ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?