कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्रहरीलाई रोक्दै रुपन्देही-११ नेपालगन्ज गोल्डकपको उपाधि नजिक

बिहीबार संकटा र रुपन्देही-११ बीच फाइनल खेल हुने
जनक नेपाल

नेपालगन्ज — विभागीय टोली नेपाल पुलिस क्लबलाई रोक्दै प्रदेश ५ को ए डिभिजन टोली रुपन्देही-११ यहॉ जारी टुबोर्ग दोस्रो नेपालगन्ज गोल्डकपको फाइनलमा पुगेको छ । रुपन्देही-११ ले उपाधिका लागि पर्सि बिहीबार संकटासँग खेल्नेछ ।

प्रहरीलाई रोक्दै रुपन्देही-११ नेपालगन्ज गोल्डकपको उपाधि नजिक

नेपालगन्जको महेन्द्र रंगशालामा मंगलबार अपरान्ह भएको रोमान्चक सेमिफाइनल खेलमा रुपन्देही-११ ले पुलिस क्लबमाथि २–१ गोलको जित निकालेको हो । पहिलो हाफको ३३औं मिनेटमा डी एरियाभित्र फाउल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै पुलिसका ११ नं. जर्सीका जुमानु राईले आफ्नो टिमलाई एक गोलको अग्रता दिलाए । त्यसको तीन मिनेटमै रुपन्देही-११ ले गोल फर्कायो । ३६ औं मिनेटमा रुपन्देहीका जर्सी नं. १० का अमर डंगोलले फ्रि किकमा आएको बललाई हेडिङ गर्दै आकर्षक गोलमा परिणत गरेका थिए । पहिलो हाफको खेल १–१ गोलको बराबरीमा रह्यो ।

दोस्रो हाफमा खेल झन् रोमान्चक बनेको थियो । रुपन्देही-११ डंगोललाई रोक्न पुलिसको रक्षा पङ्तीलाई हम्मे परेको थियो । ७५ औं मिनेटमा पाएको कर्नर किकमा डंगोलले गोल थपेपछि पुलिसमाथि दबाब परेको थियो । सेमिफाइनलमा म्यान अफ द म्याच डंगोलको खेल उत्कृष्ट रह्यो । मंगलबारको खेलमा पुलिसका चार र रुपन्देहीका एक खेलाडीले पहेंलो कार्ड पाए ।

निर्धारित समय सकिनुअघि प्रतिस्पर्धात्मक खेलमा पुलिसले केही अवसर पाए पनि गोलमा परिणत गर्न नसक्दा नेपालगन्ज गोल्डकपबाट बाहिरिनुपरेको छ । ‘सुरुमै अग्रता लिएर पनि जोगाउन नसक्नु कमजोरी रह्यो’ पुलिसका प्रशिक्षक कुमार कटवालले भने, रुपन्देहीले सुरुदेखि अन्त्यसम्म राम्रो खेल्यो । पुलिसका कप्तान जुमानु राईले आफ्नो टिमले सोचेजस्तो राम्रो खेल्न नसकेको बताए ।

रुपन्देही-११ का प्रशिक्षक दयाराम सापकोटा दुवै टिमले राम्रो खेले पनि आफ्नो टिमले ठीक समयमा अवसरलाई उपयोग गरेकाले जित सम्भव भएको बताउँछन् । कप्तान दिलीप क्षेत्री पुलिसको टिम सधैं राम्रो हुने भएकाले आफ्नो टिम पर्याप्त मेहनतका साथ मैदानमा उत्रिएकाले सफल भएको बताए । ‘जित्नुपर्छ भन्ने थियो । त्यहीअनुसार सिंगो टिमले मेहनत गरेर सफल भइयो’ उनले भने । पुलिस र रुपन्देही-११ बीच गतवर्ष बूढासुब्बा गोल्डकपपछि नेपालगन्जमा भेट भएको हो । रुपन्देहीले पुलिससँग बूढासुब्बामा १–० को हारको बदला लिएको छ ।

नेपालगन्ज गोल्डकपको फाईनल खेल बिहीबार हुने आयोजक बॉके जिल्ला फुटबल संघले जनाएको छ ।

टुबोर्ग दोस्रो नेपालगन्ज गोल्डकपअन्तर्गत मंगलबार भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबबाट बल खोस्दै रुपन्देही-११ का अमर डंगोल (पहेलो जर्सी) । उनी म्यान अफ द म्याच भए ।  तस्बिर : जनक नेपाल/कान्तिपुर

प्रकाशित : चैत्र १, २०७३ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?