बंगलादेश राम्रो स्थितिमा

एएफपी

कोलम्बो — सकिब अल हसनले आफ्नो पाँचौं टेस्ट शतक र मोसाडेक हुसैनले आफ्नो पहिलो टेस्टमै अर्धशतक बनाएपछि बंगलादेशले श्रीलंकाविरूद्धको टेस्ट नियन्त्रणमा लिएको छ ।

भ्रमणकारी बंगलादेशले ४ सय ६७ रन बनाउँदै पहिलो इनिङ्सका आधारमा १ सय २९ रनको अग्रता लिएको छ । 

पहिलो इनिङ्समा ३ सय ३८ रनमा अलआउट भएको घरेलु टोली श्रीलंकाले पी. सारा ओभल मैदानमा दोस्रो इनिङ्समा विनाक्षति ५४ रन बनाएको छ । टोली अझै बंगलादेशको स्कोरभन्दा ७५ रनले पछाडि छ । ओपनरद्वय दिमुथ करुणारत्ने र उपुल थाराङ्गा दुवै २५ रन बनाई क्रिजमा छन् । 

सकिबले १ सय १६ रन बनाए । उनलाई मोसाडेकले ७५ रन बनाउँदै राम्रो साथ दिए । कप्तान मुस्फिकर रहिमले पनि ५२ रन बनाएपछि आफ्नो १ सयौं टेस्ट खेलिरहेको बंगलादेशले सबैभन्दा प्रभावशाली ब्याटिङ प्रस्तुत गरेको थियो । बंगलादेशले अझ ठूलो अग्रता लिने स्थिति देखिएको थियो । तर देव्रेहाते स्पिनर रंगना हेराथले १३ रनको अन्तरमा अन्तिम ३ विकेट लिएका थिए । हेराथले कुल ८२ रन खर्चेर ४ विकेट लिए । 

हेराथ टेस्ट क्रिकेटमा सबैभन्दा विकेट लिने देव्रेहाते स्पिनर हुन् । खेलकै दौरानले उनले पहिलो श्रेणीमा १ हजार विकेट पूरा गरेका थिए । यस्तो उपलब्धि बनाउने उनी मुथैया मुरलिधरनपछिका दोस्रो श्रीलंकाली बलर हुन् । 

श्रीलंकाली बलरमा देव्रेहाते स्पिनर लक्सन सान्दाकानले पनि राम्रो प्रभाव पारे । उनले १ सय ४० रन खर्चेर ४ विकेट लिए । उनले नै सकिब र मोसाडेकबीच सातौं विकेटमा १ सय ३१ रनको साझेदारीको अन्त्य गरेका थिए । सकिबले यसअघि नै कप्तान मुस्फिकरसँग छैटौं विकेटमा ९२ रन जोडेका थिए ।

प्रकाशित : चैत्र ५, २०७३ ०९:४७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पश्चिममा उदाउँदा सूर्य

घनश्याम खड्का

म अलिक हतारमा थिएँ । अन्तर्राष्ट्रिय मानवीय कानुनका केही अन्तिम अध्यायहरूबारे सेमिनार हुँदै थियो । मेरा प्राध्यापक गुथियरलाई टाढैबाट मैले देखिसकेको थिएँ, हलभित्र पस्दै गरेको । बाहिर सिमसिम पानी र भयंकर बतास चलिरहेको थियो ।

हप्तामा दुई–चार दिन कम्तीमा यस्तै माहोलमा बित्ने भएकाले लिड्सको मौसमसँग अब मलाई गुनासो थिएन । पानी परेका दिन बर्सादीवाला ज्याकेट हुल्यो निक्लियो । हुरीले डाँडी नै भाँचेपछि मैले बुझेको थिएँ, इङ्ल्यान्डमा किन मानिसहरू छाता ओढ्दैनन् । 

त्यस दिन पानी र हुरी दुवै बाक्लो थियो । त्यसैले हुँदो हो, म अलिक ढिलो हुन पुगँे । हतारमा म बर्सादी नै नखोली सेमिनारमा पस्न भनेर युनिभर्सिटी अफ लिड्सको ‘स्कुल अफ ल’ भित्र छिरेको मात्र के थिएँ मेरो चाल एकदम सुस्त हुन गयो । गोडाहरू टक्क रोक्किए, मानौं मलाई कहीँ जानु नै छैन । मेरा आँखाहरू भित्तैभरि फैलिएको स्क्रिनमा अपलक टाँस्सि नै रहे । 
‘गरिमामय क्युसी पदवी पाउनुभएकामा हाम्रा प्राध्यापक सूर्य सुवेदीलाई हार्दिक बधाई । लिड्स युनिभर्सिटी सुवेदीको यो उपलब्धिप्रति गौरब गर्दछ ।’
पिलिकपिलिक आइरहने र गइरहने ठूलठूला विद्युतीय अक्षरका बीचमा सुवेदीको बडेमानको तस्बिर पनि थियो । त्यस क्षण मलाई अपार खुसी लाग्यो । जहाँ विद्यार्थी पनि नेपाली पाउन हम्मे छ, जहाँ आक्कल झुक्कल बाटातिर कोही नेपाली भेट हुँदा मातृभाषामा बोल्न पाएर म अग्घोरै खुसी हुन्छु, त्यहाँ एक जना नेपालीको उपलब्धिलाई पूरै विश्वविद्यालयले आफ्नो गौरवसँग जोडेको रहेछ । यो देख्नेबित्तिकै म खुसीले फुलेल भएँ, मानौं त्यो मैले नै पाएको पदवी थियो । केही बेर आरामले त्यस स्क्रिन अघिल्तिर उभिइरहेँ । अनि बडो सुस्तरी म सेमिनार हलभित्र गएँ । फर्केर आउँदा पनि देखेँ सूर्यको अनुहार स्क्रिनमा आइ नै रहेको थियो । त्यसपछिका कैयन् दिनसम्म पनि उनको तस्बिर स्कुल अफ लको भित्ताभरि छाइ नै रह्यो जो अझै पनि बेलाबलामा ‘रोटेट’ भएर आउँछ । 
बर्सेनि ३० हजारभन्दा बढी विद्यार्थी संसारैभरबाट पढ्न आउने लिड्स बेलायतका १ सय ६६ मध्ये सातौं ठूलो युनिभर्सिटी भईकन पनि यसका कुनै प्रध्यापकले स्थापनाको १ सय ८५ वर्ष पुग्दासम्म क्युसी (क्विन्स काउन्सेल, बेलायतकी महारानीले आफ्नो सल्लाहकार मानेर दिने सर्वाेच्च पदवी) पाउन सकेको रहेनछ । अवकाशपछि सन् २०१६ मा प्राध्यापक क्लिभ वाकरले पाएका थिए । यो वर्षको सुरुआतमै क्युसी पाएका सुवेदी लिड्सको यति लामो इतिहासमा दोस्रा र बहालवाला पहिलो प्रध्यापक रहेछन् । अनि त युनिभर्सिटीले गौरव महसुस गर्ने नै भयो । 
अन्तर्राष्ट्रिय कानुनको विकास र मानव अधिकार प्रवद्र्धनमा ‘असाधारण योगदान पुर्‍याएबापत’ महारानीबाट सुवेदी उनको मानार्थ सल्लाहकारमा नियुक्त भएका रहेछन् । त्यसपछिको एक साँझ म युनिभर्सिटीबाट बाहिरिँदै गर्दा उनीसँग टुप्लुक्क जम्काभेट भयो । मैले बधाई दिने नै भएँ, दिएँ । तर बधाई दिनुभन्दा पनि केही सोध्नु थियो उनीसँग । उनको नेपालदेखिको यहाँसम्मको यात्रा कसरी तय भयो, उनी कस्तो ठाउँमा जन्मे–हुर्केका थिए, कस्तो स्कुलमा पढेका थिए र कस्तो सपना बोकेर घरबाट निक्लन्थे इत्यादि । 
कहिले चीन, कहिले अमेरिका र कहिले युरोपका विभिन्न मुलुकमा भिजिटिङ प्रोफेसर बनेर पढाउन गइरहने, बेलायतमा हुँदा लिड्स, लन्डन र अक्सफोर्ड धाइरहने, अन्तर्राष्ट्रिय व्यापारका मुद्दाहरू लड्न बेलायतका अदालतमा ब्यारिस्टरका रूपमा पनि पुगिरहने अनि अन्तर्राष्ट्रिय कानुनका पुस्तकहरू लेखिरहने (मानव अधिकारबारे उनको पछिल्लो पुस्तक प्राज्ञिक पुस्तकहरू छाप्नमा चिनिएको बेलायतस्थित बहुराष्ट्रिय प्रकाशन गृह रोटलेजले २३ मे मा विश्वबजारमा सार्वजनिक गर्दै छ) सुवेदीसँग निदाउन पनि सायद पर्याप्त समय छैन होला । यस्तोमा मेरा जिज्ञासा मेटाउने गरी समय उनीसँग के हुँदो हो ! तर पनि मैले आफ्ना कुरा सुनाएँ । सुवेदीले केही बेर आँखा चिम्लिए, केही सम्झिएजस्तो गरे अनि भने, ‘त्यसो भए अर्काे हप्ता हामी भेट्ने भयौं ।’
मार्चको पहिलो साँझ लिड्सको पुरानो तर भव्य क्विन्स होटलको एउटा शान्त कुनामा सुवेदी आफ्ना अतीतमा डुबुल्की मार्न तयार थिए । उनका शब्दले मेरो मनमा एउटा मध्यपहाडको एक ग्रामीण बस्तीको सजिब चित्र उमार्न सुरु गर्‍यो । 
लमजुङको खुदी पुग्न अहिले पनि दुस्कर छ । झन्डै छ दशकअघिको नेपालमा त त्यो बाहिरी संसारसँग पूरै अलग हुने नै भयो । पण्डित होमनाथ सुवेदीका घरमा २०१४ को माघ १० गते पाँचौं पुत्र जन्मियो । बच्चाको नाम राखियो, सूर्य । अहिलेजस्तो आम रूपमा बच्चाहरूलाई लेखपढ गराउने चलन फिटिक्कै नभएको त्यो समयमा पनि खुदीको सुवेदी परिवारचाहिँ शिक्षामा जागरुक थियो । अरू दाजुहरूजस्तै सूर्य घरछेउको महेन्द्र संस्कृत प्रधान पाठशालामा पढ्न जान थाले । 
तिनताक पढ्नका लागि कपी र किताब थिएन । कहिले धूलामा अक्षरहरू कोर्ने, कहिले खरी धसेर ढुंगाको पाटीमा लेख्दै मेट्दै गर्ने अनि कहिलेचाहिँ जडीबुटीहरू पिँधेर मसी बनाउने गरिन्थ्यो । 
‘विद्यार्थीका लागि कापी–कलम र किताबसमेत नहुने हुनाले मास्टरले कक्षामा पढाएको कुरा रटेर भोलिपल्ट जस्ताको तस्तै सनाउनु नै हाम्रो गृहकार्य हुन्थ्यो’ सुवेदी सम्झन्छन्, ‘बिहानै उठेर नुहाउनु, जप गर्नु, पूजा गर्नु, पाठ घोक्नु र धोती पाता कँसेर भान्छामा पस्नु पढ्न जानुअघिका नित्य कर्म थिए ।’
तिनताक घोक्ने गरेको एउटा श्लोक अहिले पनि उनलाई कण्ठस्थ रहेछ, 
न चौरहार्यम् न न राजहार्यम् 
न भ्रातृभाज्यम् न च भारकारि । 
व्यये कृते वर्धत एव नित्यम् 
विद्या धनं सर्व धनम् प्रधानम्

माने के भने, चोरले चोर्न नसक्ने, राजाले लुट्न नसक्ने, दाजुभाइमा अंशबन्डा नहुने, जति बोक्दा पनि भारी नुहने, जति खर्च गर्‍यो उति नित्य बढ्ने विद्या नै सबैभन्दा ठूलो धन हो । 
यस्तो धन बटुल्ने धुनमा निक्लँदा उनको बालापन जुत्ता नलगाएरै ज्यादा बितेको छ । गाउँमा उत्पादित छालाको जुत्ता आक्कल झुक्कल पाएको सम्झना पनि छ सुवेदीसँग । तर मोजाबिनाको खस्रो छालाको त्यो जुत्ता चिसोमा यस्तो साह्रो हुन्थ्यो कि खुट्टामा कैयन घाउहरू अनिवार्य परिणाम बनेर देखा पर्थे । तर सूर्य, ‘न चौरहार्यम्...’ भन्ने श्लोक सम्झन्थे र हिँड्न छाड्दैनथे ।
संस्कृतको प्रभाव उनको बाल हृदयमा कतिसम्म परेको थियो भने, पछि गएर आफू एक धर्मभीरु पण्डित बन्ने र सप्ताह इत्यादिमा प्रवचन दिँदै हिँड्ने उनको इरादा बन्यो । आठ कक्षा पुगेपछि सूर्य घरदेखि एक दिन परको अमर मावि दुराडाँडामा भर्ना भए र त्यतै डेरा सरे । 
‘मैले एबीसीडी पढेको त्यसपछि मात्रै हो,’ सुवेदी सम्झन्छन्, ‘मेरा हजुरबा अंग्रेजी बोल्यो भने मुख कुल्ला गर्नुपर्छ र लेख्यो भने कलम पखाल्नुपर्छ भन्ने गर्नुहुन्थ्यो । मलाई कैयन दिनसम्म अंग्रेजी पढेर केही नराम्रो गरिरहेको छु भन्ने भावले लखेटिरह्यो ।’
त्यतिका पछि अंग्रेजी पढ्न सुरु गरेका सुवेदी आठ कक्षामा पनि पहिलो नै भए । अंग्रेजी पढ्न थालेपछि उनको पण्डित हुने सपना बदलिएर वैज्ञानिक हुनेतिर गयो । आईएस्सी पढ्न भनेर घर छाड्दा उनले पहिलो पटक गाडी देखेका रहेछन् । ‘खुदीबाट एक दिन हिँडेर तनहुँको डुम्रे आएपछि गुड्दै आइरहेको पांग्रावाल जिनिस देखेँ, गाडी भनेको त्यही रहेछ’ भन्छन्, ‘त्यसमा बसेपछि काठमाडौं पुगियो । म त आश्चर्यको पल्ला छेउ पुगेको थिएँ त्यस दिन ।’
काठमाडौं पुग्दासम्म सुवेदीलाई कानुन पढ्छु भन्ने अत्तोपत्तो थिएन । ‘म त साइन्स पढ्ने र वैज्ञानिक हुने भनेरै घरबाट निक्लेको थिएँ,’ उनी सम्झन्छन्, ‘तर फर्म भर्ने म्यादै गुज्रिसकेको रहेछ, मैले कतै भर्ना पाइनँ ।’
तिनताक प्रवीणता प्रमाणपत्र तहमै कानुन पढ्न पाइन्थ्यो । संयोग कस्तो भने, भर्ना हुने म्याद त्यही कानुनमा मात्र बाँकी रहेछ । उनले उपलब्ध विकल्पलाई रोजे । स्नातकोत्तर सक्नेबित्तिकै सरकारी वकिलको जागिर पाएका सुवेदी केहीपछि कानुन मन्त्रालयमा गए । त्यही उपक्रममा उनले बेलायतमा एलएलएम गर्ने छात्रवृत्ति पाए ब्रिटिस काउन्सिलबाट । 
बेलायत आउँदा उनका अतिशय अप्ठ्यारा दिनहरू थिए सुरुमा । पहिलो त उनी घाइते थिए । दाहिने हातमा पनि घाउचोट भएकाले लेख्नै उनलाई समस्या थियो । त्यसमाथि पत्नी नेपालमै थिइन् र सूर्यलाई घरको मात्रै नभएर देशकै नियास्रो लाग्थ्यो । 
‘अहिले पो बेलायतमा नेपाली छ्यासछ्यास्ती छन्, तिनताक कुनै नेपाली भेट्न टाढाको अर्काे सहर पुग्नुपथ्र्याे’ भन्छन्, ‘म तीन–चार महिनामा एक पटक नेपाली बोल्न पाउँथें ।’
साँच्चै कठिन थिए दिनहरू । तर पनि सूर्यले लत्तो छाडेनन् । अहिले नेपाली मानिसको अनुहारै टाढा कतै, ‘न चौरहार्यम्...’ हरदम गुन्जिरहन्थ्यो उनका लागि । र, उनी पुस्तक अघिल्तिर निहुरीमुन्टी न भएर झुकिरहन्थे । यसको प्रभाव के पर्न गयो भने, बेलायतको हल युनिभर्सिटीमा उनी उत्कृष्टहरूमध्ये पनि उत्कृष्ट ठहरिए, भनौं न, टीयूको भाषामा गोल्ड मेडलिस्ट । सुवेदीका लागि यो नै एक कोसेढुंगा बन्न गयो । अक्सफोर्ड युनिभर्सिटीले उनलाई अन्तर्राष्ट्रिय कानुनमा पीएचडी गर्ने अवसर दियो । भनसुनले नचल्ने तर आफ्नो क्षमताले भ्याए आकाश छुन पाइने पश्चिमा संसारको अनुभवले उनलाई नेपालमा फर्केर फेरि सरकारी जागिरेकै रूपमा बसिरहन दिएन । उपसचिवको जागिर छाडेर प्राध्यापकीय पेसामा छिरे उनी । 
प्राध्यापकीय करिअर उस्तै दुस्कर थिए सुरुका दिनमा । सुवेदीले दु:ख सम्झिए, ‘गोरा विद्यार्थीहरू मेरो अंग्रेजी लवज बुझिएन भनेर युनिभर्सिटीमा उजुरी गर्दा रहेछन्, एक दिन सिनियर प्राध्यापक मेरो क्लासमा बसेर मैले पढाएको समेत जाँच्न आए ।’ सवेदीको प्राध्यापन ती प्राध्यापकलाई यति राम्रो लागेछ कि उनले गुनासो गर्नेहरूलाई भनिदिए, ‘उनको पढाउने शैली र गुणस्तर अति उच्च छ, लवज भनेको त बानी पार्ने कुरा हो । केहीपछि त्यो बुझिहालिन्छ नि ।’
सुवेदीलाई यहाँको रैथानेले बुझ्ने शैलीको लवज निकालेर अंग्रेजी बोल्न सुरुमा चर्कै मिहिनेत गर्नुपर्‍यो । एलएलएम गरेको बेलायतस्थित हल युनिभर्सिटीमा सन् १९९२ बाट सुरु भएको अन्तर्राष्ट्रिय कानुनको शिक्षण पेसाले सुवेदीलाई संसारैभर घुमाइसकेको छ । पढाउन थालेको ६ वर्षमै लेक्चररबाट तीन तह प्रमोसन भएर फुल प्रोफेसर बनेका सुवेदीले संसारका अधिकांश राम्रा भनिएका विश्वविद्यालयमा घुमन्ते प्राध्यापक भएर पढाइ सकेका छन् । यसबीचमा उनले कम्बोडियामा राष्ट्रसंघको मानव अधिकार विशेष दूत भएर सन् २००९ देखि १५ सम्म काम गरे । कम्बोडियाली न्यायालयलाई स्वतन्त्र बनाउनुपर्छ भनेर आवाज उठाएबापत त्यहाँका प्रधानमन्त्री हुन सेनले सुवेदीलाई उल्टै मुख फर्काए, ‘पहिले आफ्नै देशको थिति बसाल्नु, अनि अरूलाई भन्नु ।’ ‘आफू नेपालमा जन्मे–हुर्के पनि तिम्रो देशमा राष्ट्रसंघको प्रतिनिधि भएर आएको हुँ र विधिको शासनअनुसार चल्नका लागि आवश्यक कदम मैले चाल्नैपर्छ भनेर हुन सेनलाई बुझाउन मलाई समय लाग्यो,’ सुवेदी भन्छन्, ‘पछि त उनले बुझे यो कुरा, चुनाव पनि मैले गराएँ, कानुन बनाएर न्यायालयलाई स्वतन्त्र हैसियत पनि दिलाएँ ।’
बेलायतको परराष्ट्र मन्त्रालयमा मानव अधिकारका बारे पाँच वर्ष सल्लाहकार भएर पनि उनले काम गरिसकेका छन् । यसरी परिवन्दमा परेर कानुन पढ्न पुगेका सुवेदी आखिर कानुनकै आकाशमा चम्किलो बनेर उदाइरहेका छन् । थुप्रै देशका सरकारबाट पनि उनलाई बेलाबखत अन्तर्राष्ट्रिय कानूनका बारेमा राय सुझावका लागि सल्लाह दिन आग्रह हुने गर्छ । नेपालमै पनि सुवेदी राजा वीरेन्द्रलाई अन्तर्राष्ट्रिय कानुनका मामिलामा सघाउँथे । प्रजातन्त्र आएपछि पनि बेलाबखत उनलाई गिरिजाबाबुदेखि ओलीसम्मको सरकारले परेका बेलामा सोधपुछ गरेकै छ । तर दिएको सल्लाह भने आफ्ना देशका नेताले लिएजस्तो उनलाई लाग्दो रहेनछ । 
‘तर कसैले सोधपुछै गरेनछ भने पनि देशको मायाले भने छाड्दो रहेनछ,’ सुवेदीले सुनाए, ‘नेपालको हैसियत नउठेसम्म म व्यक्तिगत रूपमा जहाँ जति माथि पुगे पनि सात पुस्तासम्म त्यसले अडिने भुइँ पाउँदैन ।’
त्यसैले होला, बेलाबखत हुने क्षणिक भेटमा पनि उनी नेपालमा के हुँदै छ भनेर चासोका साथ सोधपुछ गर्न कहिल्यै भुल्दैनन् । यी–यी कुरा मिलेनन् भनेर औंल्याउन पनि छाड्दैनन् । भन्छन्, ‘मलाई नेताहरूसँग आस पनि छैन, त्रास पनि छैन तर देशको माया भन्नेचाहिँ अटुटै हुँदो रहेछ । बिर्सन्छु भनेर पनि नसकिने । संसारमा भएका राम्रा कुरा देख्दा आफ्नोमा छैन के गर्नु भनेर पेट पोल्न पनि नछाड्ने । तर पोलेर के गर्नु ? मैले सोझै केही गर्न सक्दिनँ, गर्न सक्ने नेताहरूलाई पेटै पोल्दैन । हेर्नुस् त फसाद !’
जीवनका ६० वसन्त पार भइसक्दा पनि उनको ओज बडकरारै छ । बिहानै उठेर नुहाउने सानैमा लागेको बानीलाई उनले अहिले पनि अध्यावधिकै राखेका छन् । त्यसपछि उनीजस्तै हतार किन नहोस्, गीताका केही श्लोक पढेरै छाड्छन् । 
जीवन फेरिदेखि सुरु गर्न पाए भने उनी उही खुदीमा फर्किनेछन् । मस्र्याङ्दीको दहमा उसै गरी पौडनेछन् । उही सानो ब्राह्मण बटुक बनेर श्लोकहरू भट्याउँदै नित्य कर्म गर्नेछन् । तर समय त स्वप्नजस्तो छ । एक पटक बितेपछि त्यो बित्यो । जो बालापन र जुन गाउँका लागि उनको हृदयमा कहिल्यै नमासिने स्थान छ, त्यसको सम्झनासम्म उनका छोराछोरीलाई छैन । बेलायतमै जन्मे हुर्केकी २६ वर्षीया छोरी अनीता जो अक्सफोर्डबाट कानुनमै स्नातकोत्तर गरेर पूर्णकालीन वकिल हुने संघारमा छिन् र २४ वर्षीय छोरा प्रणय जो गणित र विज्ञानमा स्नातक गरेर लन्डनको एक प्रतिष्ठित कम्पनीमा वित्त विश्लेषण गर्छन्, यी दुईलाई धन्न जसोतसो बोल्नसम्म नेपाली आउँछ । आफ्नो वंशावलीले तय गरेका घुम्तीहरू हेर्दा सूर्यलाई आफ्ना सन्तानको बेलायत बसाइ स्वाभाविकै लाग्छ । लमजुङमा आउनुअघि सुवेदीका बाजे–बराजु कास्कीमा थिए । ‘कास्कीमा उनीहरू कर्णालीको सिञ्जाबाट आएका रहेछन्, सिञ्जामा चाहिँ औरंजेवको हमलाबाट बच्न भारतको बनारसतिरबाट आएका र,े’ सुवेदी भन्छन् । 
अचेल उनलाई लाग्न थालेको छ, संसारमा रैथाने भन्ने कोही र केही पनि छैन रहेछ । भारतबाट एक सुवेदी परिबार हमलावर मुसलमानले कहिल्यै नभेट्ने ठाउँको खोजीमा सिञ्जा पुग्यो, तिनको सन्तान सायद उर्वर माटोको खोजीमा कास्की र कास्कीबाट लमजुङ हान्नियो । त्यसैको एक भँगालो बनेर सूर्य ‘न चौरहार्यम्...’ भन्दै समुद्रपार पुगे । अब बेलायतमा उनका सन्तान दरसन्तान नजाने संसारको कुन–कुन भूभागमा सर्दै जालान्, त्यो कसले भन्न सक्छ ?

प्रकाशित : चैत्र ५, २०७३ ०९:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT