कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

रियलविरुद्ध बायर्न

एएफपी

नियोन — साबिक विजेता रियल म्याड्रिडले च्याम्पियन्स लिग क्वाटरफाइनलमा पूर्व प्रशिक्षक कार्लो एन्सेलोट्टीको टोली बायर्न म्युनिखसँग भिड्नुपर्ने भएको छ भने इटालियन महारथी युभेन्ट्सको भागमा कमब्याक किङ बार्सिलोना परेको छ ।

रियलविरुद्ध बायर्न

 शुक्रबार भएको ‘ड्र’ मा प्रिमियर लिग च्याम्पियन लेस्टर सिटीले आफ्नो इतिहासकै पहिलो च्याम्पियन्स लिग क्वाटरफाइनलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई प्रतिद्वन्द्वी पाएको छ । अर्को भिडन्त फ्रान्सेली टिम मोनाको र जर्मन टिम बोरुसिया डर्टमन्डबीच हुने भएको छ । 

एन्सेलोट्टीले म्याड्रिडलाई सन् २०१४ मा दसौं च्याम्पियन्स लिग उपाधि दिलाएका थिए । म्याड्रिडविरुद्ध बायर्नलाई भिडाउनु उनको रोचक चुनौती हो । 

‘उनीहरूविरुद्ध खेल्नु साँच्चै उत्साहजनक छ । हामी यसपालि निकै विश्वस्त छौं कि युरोपेली उपाधि जितिछाड्ने छौं,’ एसी मिलानलाई समेत दुई पटक उपाधि जिताइसकेका उनले भने, ‘म्याड्रिडलाई हामी हराउन सक्छौं ।’

बायर्नका अध्यक्ष कार्ल हेइन्ज रुमिङ्गेले ‘क्लासिक’ खेलको अपेक्षा गरे । उनले आफ्नो टोलीले उपाधिकै लक्ष्य राखेको बताए । ‘यो पूरै प्रतियोगिताभरकै सबैभन्दा कठिन खेल होला,’ जर्मनीका पूर्व स्ट्राइकरले भने, ‘संसारभरका फुटबल फ्यानका लागि यो उत्साहको खेल हो ।’ 

उता रियल म्याड्रिडका निर्देशक इमिलियो बुर्टाग्युनाले चाहिँ ‘ड्र’ प्रति असन्तोष व्यक्त गरे । ‘पक्कै यो खराब ड्र हो । तर उनीहरूका लागि पनि यो सजिलो छैन । हामी अलि पछि मात्र उनीहरूलाई भेट्न चाहन्थ्यौं,’ उनले भने ।

युभेन्ट्सका लागि यो बार्सिलोनासँग सन् २०१५ को हारको बदला लिने अवसर हो । तर प्रतियोगिताका उच्च गोलकर्ता लियोनल मेसीलाई रोक्नुपर्ने चुनौती छ । अन्तिम १६ को दोस्रो लेगमा चामत्कारिक प्रदर्शन गरेको बार्सालाई जिल्याउनु युभेन्ट्सलाई सजिलो छैन । 

युभेन्ट्सका उपाध्यक्ष पाभेल नेडभेडले दोब्बर क्षमतामा खेल्न सके मात्र बार्सालाई हराउन सकिने बताए । 

लेस्टरले गत वर्षको उपविजेता एट्लेटिकोको चुनौती पाएको छ । यो ‘ड्र’ का कारण बाजिगरहरूले एट्लेटिकोलाई उपाधि सम्भाव्यताका हिसाबले बार्सिलोना र बायर्नपछि तेस्रो स्थानमा राखेका छन् । लेस्टरले अप्रिल १० मा पहिलो लेग स्पेनमा खेल्नेछ । अन्तिम १६ बाटै म्यानचेस्टर सिटी र आर्सनल बाहिरिएपछि लेस्टर नै प्रतियोगिताको अन्तिम इङलस प्रतिनिधि कायम छ । 

डिएगो सिमोनीको एट्लेटिको गत तीन सिजनमध्ये दुईपल्ट च्याम्पियन्स लिग फाइनल पुगेकामा दुवै पटक म्याड्रिडसँग हारेको हो । ‘क्वाटरफाइनलमै एट्लेटिको जस्तो टिमसँग पर्नु सानो चुनौती होइन,’ लेस्टरका नयाँ व्यवस्थापक क्राएग शेक्सपियरले भने । 

‘एट्लेटिको एकदमै राम्रो टोली हो । यसमा अनुभवीसहित केही गजब खेलाडी छन् । तर हामी सम्पूर्ण क्षमतासाथ खेल्नेछौं,’ उनले भने, ‘हाम्रा समर्थक र क्लबका सबैजनाका लागि यो अद्वितीय अवसर हो । तर यो प्रतियोगिताअघि हाम्रोसामु प्रिमियर लिगकै खेलको चुनौती छ । यो पटक घरेलु चुनौती नै ठूलो छ । त्यसमै हामी केन्द्रित छौं ।’ 

युरोपा लिग ‘ड्र’ 
म्यानचेस्टर युनाइटेडले युरोपा लिग क्वाटरफाइनलमा बेल्जियन टोली एन्डरलेकको सामना गर्नेछ । शुक्रबार ड्रले फ्रान्सको लियोनलाई चाहिँ टर्किस च्याम्पियन बेसिक्टाससँग पारेको छ । जोसे मोउरिन्होको टोली युनाइटेड प्रतियोगितामा टिकेको एकमात्र इङलिस टोली हो । उसले रसियाली टोली रोस्टोभलाई अन्तिम १६ मा मुस्किलले २–१ को समग्रमा रोक्दै क्वाटरफाइनल तय गरेको हो । युनाइटेड उपाधिका लागि सर्वाधिक सम्भाव्य ठानिएको छ । यदि जितेमा उसले अर्को वर्षको च्याम्पियन्स लिग खेल्न पाउनेछ । यो प्रतियोगितामा यसअघि युनाइटेड र एन्डरलेकले चार चोटि एकअर्काको सामना गरिसकेका छन् । युनाइटेडले तीन पटक जित्यो । सन् १९५६ मा युनाइटेडले एन्डरलेकलाई १०–० ले हराएको थियो । 

स्पेनिस क्लब सेल्टाभिगोले बेल्जियन क्लब जेन्क एवं डच टोली अयाक्सले जर्मन साल्के ०४ लाई प्रतिद्वन्द्वी पाएका छन् । साल्केले सन १९९९ मा उपाधि जितेको थियो । लियोनलाई उपाधिका लागि दोस्रो सम्भाव्य टोली मानिएको छ । उसले इटालियन क्लब एएस रोमालाई हराएको थियो । घरेलु लिगमा निकै बलियो रोमालाई हराउनु लियोनको यस पालाको क्षमताको प्रकटीकरण मानिएको छ । ‘बेसिक्टास राम्रो टोली हो । खेल रोचक होला,’ लियोनका सल्लाहकार बर्नाड लाकोम्बेले भने । बेसिक्टासका निर्देशक अली नाइबीले यस्तै धारणा व्यक्त गरे । खेल अप्रिल १३ र २० मा हुनेछ ।

प्रकाशित : चैत्र ५, २०७३ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?