भलिबल टोलीको बिदाइ

कान्तिपुर संवाददाता

काठमाडौं — माल्दिभ्सको मालेमा बुधबारदेखि हुने सिनियर एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली भलिबल टोलीको आइतबार बिदाइ गरिएको छ । च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्ससहित तुर्कमेनिस्तान र किर्गिस्तानको सामना गर्नेछ ।

सेटर इम रानामगरको कप्तानीमा रहेको नेपाली टोलीमा मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, कुलबहादुर थापा र दिल सुनार ओपन स्पाइकर छन् । यस्तै क्विक स्पाइकरमा महेन्द्र श्रेष्ठ, भैरव बम र हरि अधिकारी छन् । साइड स्पाइकरमा नरेन्द्र गिरी, राजकुमार निरौला छन् भने सेटरमा दुर्गाप्रसाद महतो र लिबेरोमा ईश्वर थापामगर छन् । टोलीमा चार नयाँ खेलाडीले अन्तर्राष्ट्रिय डेब्यु गर्दैछन् ।

जसमा ओपन स्पाइकर दिल सुनार, क्विक स्पाइकर हरि अधिकारी, सेटर दुर्गाप्रसाद महतो र साइड स्पाइकर राजकुमार निरौला छन् । सुनार, अधिकारी र महतो नेपाल आर्मीका खेलाडी हुन् भने निरौला एपीएफसँग आबद्ध छन् । नेपाली टोलीको प्रशिक्षकमा वीरेन्द्र चौधरी तथा सहायक प्रशिक्षकमा जगदिश भट्ट छन् ।

नेपाली टोलीको व्यवस्थापकको जिम्मेवारी नेपाल भलिबल संघका सचिव डम्बरबहादुर नेपालीले सम्हाल्नेछन् । टोलीसँगै अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेट चन्द्रा बदना राई पनि त्यसतर्फ जानेछिन् । नेपाली टोलीले पहिलो खेल मार्च २३ मा तुर्कमेनिस्तानसँग खेल्नेछ । यस्तै मार्च २४ मा आयोजक माल्दिभ्स र मार्च २७ मा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : चैत्र ७, २०७३ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्

बुटवल–११ विजयी

कान्तिपुर संवाददाता

भैरहवा — टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार समूह ‘ए’ को खेलमा बुटवल–११ क्रिकेट क्लब बुटवल र समूह ‘बी’ मा साई ग्लोबल क्रिकेट क्लब भैरहवा विजयी भएका छन् । बुटवल–११ ले बुद्ध क्रिकेट क्लब भैरहवालाई ४६ रनले र साई ग्लोबलले ज्ञानोदय क्रिकेट क्लब करहियालाई १९ रनले पराजित गरे ।

टस हारेको बुटवल–११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय २५ रन बनायो । टोलीका प्रथम पराजुलीले ३१, अमित श्रेष्ठले २३ र तौसिफ आलमले नटआउट १८ रन बनाए । बुद्धका प्रवेज आलमले २, सन्दीप साहनी, जमाल अहम्मद र रोशन गौतमले समान १/१ विकेट लिए ।

बुद्धले ९ विकेट गुमाई ७९ रनमात्र बनाउन सक्यो । सन्दीप साहनीले १६ रन बनाउनुबाहेक अन्यले खासै योगदान दिन सकेनन् । बुटवलका तौसिफ आलमले ३, सुधन श्रेष्ठ र सुमन श्रेष्ठले २/२ विकेट लिए । 

अर्को खेलमा साई ग्लोबल १९.४ ओभरमा १ सय ४५ रनमा अलआउट भयो । रूपेश बाँस्तोलाले ३० तथा सन्देश शाक्यले २१ रनको योगदान दिए । ज्ञानोदयका पदम खवासले ३ र निशान्त शर्माले २ विकेट लिए । ज्ञानोदयले ५ विकेट गुमाई १ सय २६ रनमात्र बनाउन सक्यो । निशान्त शर्माले ३९ र जितेन्द्र साहनीले १४ रन बनाए । साई ग्लोबलका रूपेश बाँस्तोला र राहुल थापाले २/२ विकेट लिए ।

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट खेलाडीले १० हजार, बेस्ट ब्याट्सम्यान तथा बेस्ट बलरले ५/५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ हासिल गर्नेछन् । प्रतियोगिता चैत १२ सम्म सञ्चालन हुनेछ । 

प्रकाशित : चैत्र ७, २०७३ ०९:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्