१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

कोन्टेद्वारा कोस्टाको बखान

एएफपी

स्टोक — चेल्सी व्यवस्थापक एन्टोनियो कोन्टेले आफ्ना स्ट्राइकर डिएगो कोस्टलाई टिमकै उदाहरणका रूपमा बखान गरेका छन् । स्टोक सिटीमाथि २–१ को जितसँगै प्रिमियर लिगमा १३ अंकले अग्रता लिएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

कोन्टेद्वारा कोस्टाको बखान

गत जनवरीमा कोन्टेसँगै झगडा परेको खबरबीच निकै सन्की स्वभावका कोस्टा टिममा परेका थिएनन् । तर त्यो अनुभवले पनि उनको झगडालु स्वभावमा कमी आएको छैन । उनी शनिबार खेलको १६ औं मिनेटमा विपक्षी खेलाडीलाई जिस्क्याएको आरोपमा पहेंलो कार्ड खान पुगे । खेल दौरान उनी स्टोक खेलाडीसँग पटक–पटक भनाभनको अवस्थाामा पुगे, तर मैदानमा भने अडिइरहे ।

कोन्टेले कोस्टाको पेलाइमा नपर्ने बानीको प्रशंसा गरे । ‘सुरुमै पहेंलो कार्ड पाएपछि खेल्न सजिलो हुँदैन,’ कोन्टेले भने,‘कुनै खेलाडीलाई उत्तेजित तुल्याएर अर्को फल निम्त्याउन खोज्नु साधारण कुरा हो । डिएगो अनुशासित बन्दै गएका छन् ।’

‘उनले टिमका लागि खेलिरहेको छु भन्ने देखाइरहेका छन् । म खेलाडीबाट यस्तै व्यवहारको अपेक्षा गर्छु । यो सिजन म उनीसँग खुसी छु ।’

चेल्सीले ८७ औं मिनेटमा सेन्टर ब्याक ग्यारी केहिलले गरेको गोलबाट जित हात पार्‍यो । विलियनले १३ औं मिनेटमा फ्रिकिकमार्फत गोल गरी चेल्सीले लिएको अग्रता खेल सकिन ७ मिनेट बाँकी हुँदा स्टोकका जोनाथन वाल्टरले पेनाल्टीमा गोल गरी भंग गरे । वाल्टरलाई लडाएर पेनाल्टी दिलाउने केहिलले नै गोल गरी टिमलाई हारबाट बचाए । चेल्सीले दोस्रो हाफमा आक्रामक खेल्यो ।

मार्कोस एलोन्सो र कोस्टाले गरेका प्रहार बारमा लागेर फर्किए । पेड्रोले गरेको प्रहार स्टोक गोलरक्षक लि ग्रान्टले रोके । यो चेल्सीको लगातार पाँचौं जित हो । उसको अविजित यात्रा १२ खेल पुगिसकेको छ । स्टोकले ८ खेलको अविजित जित शृंखला टुंग्याएको छ । कोन्टेको विश्वासमा चेल्सीले बाँकी १० खेलबाट मात्रै ७ अंक लिएमा गणितीय रूपमा टिमले उपाधि जित्नेछ । ‘सिजनको यो विन्दुमा आएर राम्रो गुण र संगठन भएको टिमलाई हराउनु सजिलो थिएन,’ उनले भने,‘खेलको सुरुदेखि अन्त्यसम्म हामीले मिहिनेत गरेर खेल्यौं ।’

स्टोकका व्यवस्थापक मार्क ह्युजले आफ्ना खेलाडीले कोस्टालाई उत्तेजित तुल्याउने गरी निसाना नबनाएको दाबी गरे । ‘हामीले त्यसो गरेको होइन । हामी प्रतिस्पर्धात्मक खेल चाहन्थ्यौं, जुन भयो,’ उनले भने । उनले कोस्टाको व्यवहार उनी आफैंका लागि घातक हुने बताए ।

‘उनी गजबका स्ट्राइकर हुन् । तर कहिलेकाहीं नसुहाउँदो व्यवहार देखाउँछन्,’ उनले भने । ह्युज आफैं आफ्नो जमानाका नामी सेन्टर फरवार्ड हुन् ।

ह्युजले म्याचविनर काहिल वाल्टरलाई लडाइसकेपछि पनि मैदानमा रहनु भाग्यको कुरा भएको बताए । ‘यो रेडकार्डको विषय थियो,’ उनले भने ।

म्यानचेस्टरको अपराजित यात्रा

मिडल्स्ब्रो (एएफपी)– मरोउने फेलानीले प्रिमियर लिगमा १५ महिनापछि गरेको गोल सहयोगमा म्यानचेस्टर युनाइटेडले रेलिगेसनको चुनौतीबाट गुज्रिएको मिडल्स्ब्रोलाई ३–१ ले पन्छाउँदै आइतबार लिगमा अपराजित खेल संख्यालाई १८ पुर्‍याएको छ ।

जेसे लिन्गार्डले सनसनीपूर्ण रूपमा दोस्रो गोल गरे भने युनाइटेडका पूर्वकिपर भिक्टर भाल्डेसको गम्भीर भूलमा एन्टोनियो भ्यालेन्सियाले अन्तिम समयमा तेस्रो गोल गरेका थिए । यसले युनाइटेड १९ साता छैटौं स्थानमा रहेपछि माथि उक्लिएको छ ।

यो सफलताले युनाइटेडलाई प्रिमियर लिगमा ६ सयौं जित दिलायो र यसले शीर्षस्थानमा रहेको चेल्सीसँग १७ अंक नजिक पनि पुर्‍यायो । शीर्ष चारमा रहेर अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने दौडमा रहेको युनाइटेड नजिकका प्रतिद्वन्द्वी आर्सनल र सातौं स्थानमा रहेको एभरटनभन्दा दुई अंकले अगाडि छ । मिडल्स्ब्रोका लागि सब्स्टिच्युट रुडी गेस्टेडले गोल गरेका थिए ।

लिगमा ११ खेलयता जितविहीन रहेको मिडल्स्ब्रो पुछारबाट दोस्रोमा छ र सुरक्षित स्थानको टिमसँग पाँच अंक दूरीमा छ । एइटोर कारान्काले बाहिरिएपछि कार्यवाहक व्यवस्थापक बनेका स्टिभ आग्नेउले पहिलो खेलमै हार बेहोरेका हुन् ।

प्रकाशित : चैत्र ७, २०७३ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?