पुनरागमनमा आत्मविश्वासी

राजु घिसिङ

काठमाडौं — नेपालका लागि एसियन कप २०१९ को छनोट विशेष प्रतियोगिता हो । किनभने प्ले–अफबाटै बाहिरिएको नेपालले सोलडारिटी कपको उपाधि जितेपछि फेरि महादेशीय च्याम्पियनसिपको छनोटमा अवसर पाएको हो ।

पुनरागमनमा आत्मविश्वासी

नेपाली राष्ट्रिय टिमले डेढ दशकपछि यो स्तरमा खेल्ने मौका पाएको छ । यस्तो अवसर रोहित चन्दका लागि पनि विशेष बन्दै छ । उनले १४ महिनापछि राष्ट्रिय टिममा पुनरागन गर्दै छन् ।

‘ट्रेनिङ पहिलेजस्तै सामान्य रूपमै गरिरहेको छु, केही समस्या छैन,’ गतवर्ष बायाँ घुँडाको एसीएलको शल्यक्रिया गराएका रोहितले सोमबार भने, ‘अझै शतप्रतिशत ठीक भइसकेको छैन । फिलिपिन्ससँगको खेलमा शतप्रतिशत खेल्न सक्नेमा ढुक्क छु ।’ एसियन कप २०१९ छनोटको पहिलो खेलमा नेपालले १५ चैतमा फिलिपिन्ससँग मनिलामा प्रतिस्पर्धा गर्दै छ । त्यसका लागि मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २० सदस्यीय टिममा छनोट गरेपछि रोहितले राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् ।

उनी भारतको त्रिवेन्द्रममा २०७२ साल पुसमा भएको साफ च्याम्पियनसिप खेल्दा नै घाइते थिए । उनलाई साफलगत्तै मलेसियन क्लब ‘टी–टिम एफसी’ ले एकवर्षे अनुबन्ध गरेको थियो । उनले पूरा ठीक नभए पनि अभ्यास खेलहरू खेलका थिए । उनले १६ माघ, २०७२ मा भएको प्ले–अफमा पनि पूरा समय नै खेले ।

टी–टिमले आर्मी ए टीमलाई २–१ ले हराएर सुपर लिगमा स्थान पक्का गरेपछि भने उनी उपचारमा लागेका थिए । उनको शल्यक्रिया सुवाङ जया मेडिकल सेन्टर, सेलङ्गोरमा २९ फागुन, २०७२ मा भएको थियो । भारतको आई लिग र इन्डोनेसियाको सुपर लिग पनि खेलेका रोहित आफ्नो पुस्ताका उत्कृष्ट खेलाडी हुन् । तर, शल्यक्रियापछि उनको करिअर फेरि माथिल्लो स्तरमा आउनेमा शंका गरिएको थियो/छ ।

शल्यक्रियापछि उनलाई चिकित्सकले सात महिनाभित्र खेलमा फर्कन सक्ने बताएका थिए । ‘सुरुमा खेल्न डर लाग्यो । भार बेहोर्न चाहिनँ । त्यसैले रिकोभरीका लागि धेरै समय लिएँ,’ उनले भने । ‘रिह्याव’ का लागि कोलकाता पुगेका उनलाई त्यहाँका चिकित्सकले पनि खेल्नलाई तयार भइसकेको बताएका थिए । अहिले उनी कहिलेकाहीं दुख्दा मात्र फिजियोसँग सल्लाह गर्छन् । ‘चिकित्सकले समस्या छैन भनेका छन्,’ उनले भने ।

उनी पोखरामा भएको १५ औं आहा–रारा गोल्डकपमा मनाङ–मस्र्याङ्दीबाट मैदानमा फर्किएका थिए । माघ ८ मा भएको क्वाटरफाइनलमा उनले धरानमाथि ४–१ को जितमा ६४ मिनेट मैदानमा बिताए । उनले मनाङको उपाधि यात्रामा त्यसपछि दुवै खेल पूरा समय खेलेका थिए । लगत्तै झापा गोल्डकपमा पनि मनाङ च्याम्पियन भयो । त्यहाँ पनि उनले सबै खेल खेले । बंगलादेशमा फागुनमा भएको दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल पुगेको मनाङको सबैभन्दा राम्रो प्रदर्शन गर्ने पनि उनी नै बनेका थिए ।

‘विस्तारै खेल्नका लागि फिटनेस बनाउन मनाङ गएको थिएँ । पहिलो खेलपछि नै कन्फिडेन्स आयो । झापा र बंगलादेशमा खेलेपछि म्याच फिटनेस पनि आएको छ,’ २५ वर्षे रोहितले भने । शेख कमल कपको प्रदर्शनलगत्तै उनलाई माल्दिभ्सको प्रिमियर लिग क्लब टीसी स्पोर्ट्सले अनुबन्ध गर्न चाहेको छ । नेपाली गोलकिपर किरण चेम्जोङको उत्कृष्ट खेलसँगै टीसी स्पोर्ट्स शेख कमल कपमा च्याम्पियन भएको थियो ।

सेन्टर–ब्याकबाट करिअर सुरु गरेका उनी तीन वर्षयता भने अट्याकिङ मिडफिल्डरका रूपमा अगाडि बढेका छन् । फिलिपिन्ससँग पनि उनले मिडफिल्डमा नै पहिलो रोजाइमा खेल्ने लगभग निश्चित छ । ‘मिडफिल्डमा खेल्दै छु र जम्दै पनि छु । खेल्न सजिलो भने डिफेन्समै हुन्छ । तर मिडफिल्डमै खेल्न चाहन्छु,’ उनले सुनाए ।

कडा टक्करको आशा
रिजाल मेमोरियल स्टेडियममा हुने खेलमा नेपालले फिलिपिन्सलाई कडा टक्कर दिने उनको विश्वास छ । फिफा वरीयतामा नेपाल १ सय ७० औं सथनमा छ । योभन्दा ४६ स्थान माथिको टिम हो फिलिपिन्स ।

‘तयारी राम्रै छ । हाम्रो टिम सन्तुलित पनि छ । त्यसैले फिलिपिन्सलाई कडा चुनौती दिने आशा छ,’ राष्ट्रिय टिमबाट ४३ खेल खेलेका उनले भने, ‘फिलिपिन्स हामीभन्दा धेरै बलियो टिम हो । फिफा वरीयतामा फिलिपिन्स माथि छ तर त्यसले फरक पार्दैन । तैपनि उसका केही खेलाडी उत्कृष्ट छन् । 

त्यहाँ लिग पनि भइरहेको छ । त्यसैले फिलिपिनो खेलाडी फिट र अनुभवी पनि छन् । हामी क्षमताअनुसार शतप्रतिशत खेल्नेछौं । सबैले मिहिनेत गरिरहेका छन् । उसलाई चुनौती दिने मात्र होइन, जित्नका लागि खेल्नेछौं ।’

ग्योतोकु कोजी
मुख्य प्रशिक्षक, नेपाली राष्ट्रिय टिम
रोहित धेरै राम्रा खेलाडी हुन् । उनको स्किल राम्रो छ । ट्याक्टिस राम्रो छ । र, शारीरिक रूपमा पनि उनी बलिया छन् । मेरो विचारमा उनी नेपालकै उत्कृष्ट खेलाडी हुन् । गत वर्ष उनलाई लागको चोटले चिन्तित बनाएको थियो । चोटबाट फर्केर उनले खेलीसकेका छन् । मैले सम्हालेको टिमबाट भने पहिलोपल्ट खेल्न लागका हुन् । उनी निक्कै चलाख छन् । उनले मेरो फिलोसफी सिकेका छन् । ट्याक्टिस पनि । उनलाई विश्वास गर्छु । उनको आगमनले नेपाली टिम धेरै बलियो भएको छ ।’

प्रकाशित : चैत्र ८, २०७३ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?