कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबर

एएफपी

राँची — पिटर हयान्ड्सकम्ब र सन मार्सको ठोस अर्धशतक मद्दतले अस्ट्रेलियाले सोमबार भारतलाई तेस्रो टेस्टमा बराबरीमै रोकेको छ । यससँगै चार टेस्ट सिरिज १–१ को बराबरीमा पुगेको छ ।

अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबर

अस्ट्रेलियाले पाँचौं तथा अन्तिम दिनको खेल भारतको तुलनामा १ सय ५२ रनले पछाडि रहेर सुरु गरेको थियो । एकसमय टोली ४ विकेट गुमाएर ६३ रनको कमजोर स्थितिमा थियो । त्यसयता हयान्ड्सकम्ब र मार्सले जिम्मेवारीपूर्ण ब्याटिङ गरे ।

उनीहरूले पाँचौं विकेटमा १ सय २४ रन बनाए । त्यसमा हयान्ड्सकम्ब ७२ रन बनाएर नटआउट रहे भने मार्सको ब्याटबाट ५३ रन निस्केको थियो । दिनको खेल सकिएको घोषणा हुँदा अस्ट्रेलिया ६ विकेट गुमाएर २ सय ४ रनको स्थितिमा थियो । यसअघि भारतले अघिल्लो दिन आफ्नो पहिलो इनिङ्स ६०३/९ मा समाप्तिको घोषणा गरेको थियो ।

रवीन्द्र जडेजाले अस्ट्रेलियाको दोस्रो इनिङ्समा ४ विकेट लिए । यससँगै उनले भारतको नयाँ टेस्ट स्थानमा १ सय ७८ रन दिएर ९ विकेट लिए । तर भारतका लागि नायक भने चेतेश्वर पुजारा रिद्धिमन साह रहे । उनीहरूले आइतबार सातौं विकेटमा १ सय ९९ रनको साझेदारी गर्दै भारतलाई बलियो स्थितिमा पुर्‍याएका थिए । पुजाराले २ सय २ रन बनाए भने साहले १ सय १७ रन जोडे । अस्ट्रेलियाका लागि भने दायाँ र बायाँहाते ब्याट्सम्यान जोडी हयान्ड्सकम्ब र मार्सले २ सय ३२ मिनेट क्रिजमा बिताए ।

उनीहरूले लगातार भारतीय बलिङ आक्रमण निराश पारे । दिनको अन्तिम सेसनको अन्त्यतिर मात्र उनीहरूको जोडी टुटेको थियो । जडेजाले नै मार्सलाई आउट पारे । लगत्तै अर्का भारतीय स्पिनर रविचन्द्रन आश्विनले ग्लेन म्याक्सवेललाई आउट पारे । अघिल्लो इनिङ्समा शतक बनाएका म्याक्सवेल आउट भएपछि सोमबार अन्त्यतिर खेलले केही नाटकीय मोड लिएको थियो । तर हयान्ड्सकम्बले अन्तिम केही ओभर टिकेर खेले ।

उनलाई म्याथ्यु वेडले साथ दिए । यससँगै अस्ट्रेलिया आफ्नो ऐतिहासिक ८ सयौं टेस्टमा हार टार्न सफल रह्यो । ‘आज हाम्रा खेलाडीले जसरी खेले त्यसमा मलाई गर्व छ,’ पाहुना टिमका कप्तान स्टिभ स्मिथले भने, ‘हयान्ड्सकम्ब र मार्सले निकै जिम्मेवारीपूर्ण ब्याटिङ गरे । यहाँको विकेट पनि राम्रो रह्यो । भारतले पनि पहिलो इनिङ्समा राम्रो ब्याटिङ गरेको थियो ।’ उनका भारतीय समकक्षी विराट कोहलीले प्रतिक्रिया दिए, ‘अब हामी धर्मशालामा हुने चौथो तथा निर्णायक टेस्टका लागि तयार छौं ।’

प्रकाशित : चैत्र ८, २०७३ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?