बार्सिलोनाको सम्भावना

एपी

बार्सिलोना — लियोनल मेसीले आइतबार स्पेनिस लिगअन्तर्गत भ्यालेन्सियाविरुद्धको खेलमा चालु सिजनका सबै प्रतियोगितामा गरी आफ्नो ४० र ४१ औं गोल गरे । खेलमा बार्सिलोनाले ४–२ को जित हात पारेको थियो ।

बार्सिलोनाको सम्भावना

च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ६–१ ले हराएयता क्याम्प नोउको पहिलो खेलमा बार्साले मेसीको दर्शनीय प्रदर्शन पाएको हो । त्यस्तै खेल देखाए नेयमर र लुइज स्वारेजले । यससँगै साबिक विजेताको उपाधि रक्षाको सम्भावना ज्युँदो भएको छ । बार्सिलोना अब रियल म्याड्रिडभन्दा मात्रै २ अंक पछाडि छ । रियलले एक खेल कम खेलेको छ ।

‘हामीले धैर्य भएर खेल्नु थियो र गति बढाउनु थियो,’ प्रशिक्षक लुइस इनरिकेले भने, ‘हामीले निकै अवसर सिर्जना गर्‍यौं ।’

भ्यालेन्सियाका इलाक्युइम मान्गलाले २९ औं मिनेटमा गोल गरेपछि भ्रमणकारीको हौसला बढेको अवस्थामा मेसी र उनका स्ट्राइकिङ पार्टनरहरूले गोल बर्साएका हुन् ।

नेयमरले ३५ औं मिनेटमा बराबरी गोल गरे । उनले पछिल्लो डिपोर्टिभो ला कोरुनासँगको खेल चोटका कारण गुमाएका थिए । मान्गला पेनाल्टी एरियामा स्वारेजलाई लडाएका कारण रातो कार्ड पाएर बाहिरिए । मेसीले पेनाल्टी प्रहार गर्दा क्याटलन क्लब ४५ औं मिनेटमा अग्रता लिन पुग्यो । दोस्रो हाफको सुरुमै तीव्र आक्रमण गर्दै बार्सिलोनाका पूर्व खेलाडी मुनिर अल हदादीले फेरि बराबरी गरे ।

एक अतिरिक्त खेलाडी र तीन फर्मवाला स्ट्राइकरको बलमा बाँकी समय बार्सिलोनाले पेलेको पेल्यै गर्‍यो । मेसीले ५३ औं मिनेटमा नजिकको दुरीबाट अर्को गोल गरे । नेयमरले आधाभन्दा बढी मैदान एक्लै बल अगाडि बढाएर आन्द्रे गोमेजलाई पास दिँदा खेल सकिन एक मिनेट बाँकी छँदा चौथो गोल भयो ।

सेभियाको सम्भावना सकिँदै
युरोपेली उपाधिबाट बाहिरिएको सेभियाको ला लिगा उपाधिको गुन्जाइस पनि करिब सकिएको छ । उसले शनिबार एट्लेटिको म्याड्रिडसँग ३–१ को हार बेहोर्‍यो । यससँगै सेभिया म्याड्रिडभन्दा ८ अंकले पछाडि छ ।

अर्को खेलमा डिपोर्टिभोलाई सेल्टा भिगोले १–० ले हरायो भने पुछारको प्रतिस्पर्धामा मालागा र लिगानेसले गोलरहित बराबरी खेले ।

प्रकाशित : चैत्र ८, २०७३ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?