२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सानो मैदान, सानै स्कोर

धनगढी — धनगढीको सानो मैदानमा प्राय: टोली ठूलो स्कोरमा रमाउँछन् । शक्ति गौचन भने ‘लो स्कोरिङ’ खेलमा आफ्नो टोलीलाई जिताउँछन् । सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) मा सोमबार शक्तिले त्यही मन्त्रलाई दोहोर्‍याए जसले उनको रूपन्देही च्यालेन्जर्सलाई बलियो मानिएको कञ्चनपुर आइकोनिकविरुद्व महत्त्वपूर्ण जित दिलायो ।

सानो मैदान, सानै स्कोर

टस जितेको रूपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४५ रन बनायो । अञ्चल प्रहरी कार्यलयको सानो मैदानमा यो खासै ठूलो स्कोर होइन । अझ टान्टी–टान्टीका विशेषज्ञ ब्याट्सम्यानहरूको हुल रहेको कञ्चनपुरका लागि निश्चय पनि थिएन । तर रूपन्देहीले कञ्चनपुरलाई १३१/९ को स्कोरमा रोक्यो ।

शक्ति भन्छन्, ‘यो मैदानमा अन्तिम ओभरमा २० रन बनाउनु पनि खासै ठूलो चुनौती होइन ।’ १८ औं ओभरमा कुशल भुर्तेलले तीव्र बलर विक्रम सोबलाई २ चौका र २ छक्का प्रहार गरी २० रन प्रहार बटुल्दा खेल कञ्चनपुरको पक्षमा आएको थियो । टोलीलाई अन्तिम दुई ओभरमा ३० रन बनाउनुपर्ने स्थितिमा पुगेको थियो ।

तर १९ औं ओभरमा कृष्ण कार्कीले खेल रूपन्देहीको पक्षमा मोडिदिए । उनले ५ रनमात्र खर्चने क्रममा प्रदीपसिंह ऐरी र कुशललाई आउट गरी म्यान अफ द म्याच प्रदर्शन गरे । उनले १५ औं ओभरमा ओपनर सागर पुनलाई आउट गरेपछि खेल रूपन्देहीको पक्षमा ढल्किएको थियो । मध्यम गतिका बलर कृष्णले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।

‘मलाई प्लेइङमा खेलाउने निर्णयमा टिमप्रति म आभार व्यक्त गर्न चाहन्छु । फेरि मलाई १९ औं ओभर जस्तो महत्त्वपूर्ण बलिङमा मौका दिई विश्वास गरेकामा धन्यवाद दिन चाहान्छु,’ कृष्णले भने, ‘कुशलले त्यो भन्दा अगाडिको ओभरमा ठूलो शट खेलेका थिए । तर मैले आफ्नो लाइन र लेन्थमा बलिङ गरे, स्लो बल र योर्कर प्रयास गरिरहें ।’

कुशलले १३ बलमा ३ चौका र २ छक्का मद्दतले २७ रन बनाए । सागरले ३८ बलको इनिङ्समा २ चौका र २ छक्का प्रहार गरी ३९ रन जोडेका थिए ।

सागरले सुनील धमलासँग १० औं ओभरमा ५२ रन जोड्दै कञ्चनपुरलाई राम्रो सुरुआत दिलाएका थिए । तर उत्कृष्ट फिल्डिङ र उत्कृष्ट क्याच लिँदै रूपन्देहीले कञ्चनपुरको रन गति रोक्दै दबाबमा राखेको थियो ।

सुनीलले ३५ बल खेली २ चौका र १ छक्का प्रहार गरी २८ रनमा आउट भए । देव्रेहाते स्पिनर शाह आलमले सुनीलसँगै हासिम अन्सारी (२) र सिद्धान्त लोहनी (१) लाई आउट गरी उत्कृष्ट बलिङ प्रदर्शन गरे । उनले सो क्रममा ४ ओभरमा ८ रनमात्र खर्चेका थिए । सिद्धान्तलाई शर्ट कभरमा एकहाते उत्कृष्ट क्याच लिई पवेलियन फर्काएका शक्तिले विपक्षी समकक्षी विनोद भण्डारी (६) र भीम सार्की (६) लाई आउट गरेका थिए ।

यसअघि रूपन्देहीले ६ ओभरमा ६० रन बनाउँदै राम्रो सुरुआत गरेको थियो । शंकर राना सातौं ओभरमा १९ रन बनाई सुनील धमलाको बलमा आउट भएपछि यो साझेदारी टुटेको थियो । अर्का ओपनर हरिशंकर शाहले २४ बलमा ४ चौका र २ छक्का प्रहार गरी ३३ रन बनाए । उनी रनआउट भएसँगै रूपन्देहीको मध्यक्रम धर्मराएको थियो ।

अन्तिम थापामगर ९, राजेश पुलामी ५ र पुष्प थापा ८ रनमा आउट भए । प्रकाश केसीले २६ र शक्तिले १६ रन बनाउँदै आफ्नो टोलीलाई चुनौतीपूर्ण स्कोरमा उभ्याए । अन्तिममा विक्रम सोबले १ चौका र १ छक्का प्रहार गरी १५ रन बनाए । कञ्चनपुरका कुशलले ४ ओभरमा ३६ रन खर्चेर ४ विकेट र अविनाश कर्णले २ विकेट लिए ।

प्रकाशित : चैत्र २९, २०७३ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?