डेढ दशकपछि वीरगन्जमा फुटबल

भूषण यादव

वीरगन्ज — व्यापारिक नगरी वीरगन्जमा झन्डै डेढ दशकपछि राष्ट्रिय स्तरको फुटबल प्रतियोगता आयोजना हुँदै छ । वैशाख ९ देखि हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक विशाल मेमोरियल फाउन्डेसनले जनाएको छ ।

नारायणी रंगशालामा हुने प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका त्रिभुवन आर्मी, संकटा, हिमालयन शेर्पा, वीरगन्ज युनाइटेड, जनजागृति युवा क्लब सिमरा र भारतको राजमिल पटनासहित ८ टिमले भाग लिने जनाउने आयोजक अध्यक्ष रुपक पाण्डेले बताए । विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई सुजुकी मोटरसाइकल दिइने प्रतियोगिता संयोजक अनिलकुमार कलवारले बताए ।

मुख्य प्रायोजक टुबोर्ग बियर रहेको प्रतियोगिताको सह–प्रायोजकमा जगदम्बा सिमेन्ट प्रालि र रेडबुल रहेका छन् । प्रतियोगितामा करिब ५१ लाख रुपैयाँ खर्च हुने अनुमान छ । डेढ दशकअघिसम्म वीरगन्जको नारायणी रंगशालामा वर्षमा तीनवटा गोल्डकप आयोजना हुन्थ्यो । विभिन्न कारणले गोल्डकप हुन बन्द भएपछि यस क्षेत्रबाट स्तरीय खेलाडी उत्पादन हुन सकेको थिएन । राजधानीलगायत अन्य सहरमा वीरगन्जको फुटबल क्लबले भाग लिँदा अन्यत्रका खेलाडी खेलाउनुपर्ने बाध्यता थियो । वीरगन्जका पुराना खेलाडी विनोद परियारका अनुसार विगतमा वीरगन्जका खेलाडी अन्य सहर तथा भारतको विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेल्दथे । तर पछिल्लो समय त्यो अवस्था छैन । ठूला प्रतियोगिता नभएपछि नारायणी रंगशालाको मर्मत सम्भारसमेत भएको छैन ।

फुटबलवृत्तमा वीरगन्जको हराएको परिचय पुन:स्थापित गर्न राष्ट्रियस्तरको प्रतियोगिता गर्न लागिएको फिफाका पूर्व सहायक रेफ्री गजेन्द्रमान सिंहले बताए ।

प्रकाशित : वैशाख ७, २०७४ ०८:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

५० अंकले उक्लियो नेप्से

कान्तिपुर संवाददाता

काठमाडौं — अघिल्ला ४ दिन निरन्तर रूपमा घटेको नेप्से बुधबार ५० अंकले उकालो लागेको छ । योसँगै सेयर बजार मापक नेप्से परिसूचक १ हजार ६ सय ६२.०२ विन्दुमा पुगेको छ । उक्त दिन बजार खुलेदेखि नै उकालो लागेको नेप्से मध्याहनमा केही सुस्ताए (घटेको) को थियो ।

त्यसपछि पुन: उकालो लागेको नेप्से अन्तत: ४९.९८ अंकले बढ्यो । अघिल्लो दिनको तुलनामा बुधबार सेयर बजार ३.१० प्रतिशतले बढेको छ । कारोबारमा आएकामध्ये ‘अन्य’ बाहेक सबै समूहको परिसूचक उच्च अंकले बढेपछि समग्र नेप्सेको वृद्धिमा मद्दत पुगेको हो ।

करिब साढे ७ हजार कारोबारबाट १ सय ४२ कम्पनीका १८ लाख २ हजार ४ सय ६७ कित्ता सेयर किनबेच भए । कारोबारमा आएकामध्ये १ सय १८ कम्पनीको सेयर मूल्य बढ्यो, १९ कम्पनीको घट्यो र बाँकी ५ कम्पनीको सेयर मूल्य स्थिर छ । उक्त दिन ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.०९ प्रतिशत बढेर ३ सय ५९.०१ अंक पुगेको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । बुधबार १ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने कुल बजार पुँजीकरण १९ खर्ब १६ अर्ब पुगेको छ ।

कारोबारमा आएका सबै होटलहरूको सेयर मूल्य बढेसँगै होटल समूहको परिसूचक पनि ४.१६ प्रतिशतले बढ्यो । यसैगरी विकास बैंक समूहको परिसूचक ३.७, जलविद्युत्को ३.५७, बिमाको ३.५, बैंकिङको ३.३, वित्त कम्पनीको २.३६ र उत्पादन तथा प्रशोधनको ०.४४ प्रतिशतले उकालो लागे । तर, ‘अन्य’ समूहको परिसूचक ०.१७ प्रतिशत घट्यो । 

प्रकाशित : वैशाख ७, २०७४ ०८:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT