२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

डीपीएल: रोमाञ्चक फाइनलको अपेक्षा

विनोद पाण्डे

धनगढी — पारस खड्काको नेतृत्वमा रहेको टिम चौराह धनगढीले लगातार चार खेल जितेको छ र राम्रो लयमा छ । शरद भेषाकवरको कप्तानीमा रहेको विराटनगर किंग्सलाई युवा खेलाडीको साथ छ र टोलीले बलियो प्रदर्शन गर्दै आएको छ । यही दुई टोली शनिबार सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा भिडदैछन् ।

डीपीएल: रोमाञ्चक फाइनलको अपेक्षा

दुवै कप्तानले फाइनल रोमाञ्चक हुने अपेक्षा राखेका छन् । धनगढीले लगातार चौथो खेल जित्नेक्रममा क्वालिफायर्स २ मा रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले पराजित गरेको थियो । विराटनगरले क्वालिफायर्स १ मा रुपन्देहीलाई ३० रनले पराजित गरेको थियो ।

‘प्रतियोगिताको सुरुआत नराम्रो भए पनि हामी राम्रो प्रदर्शन गरेर यहासम्म आयौं, अब एक कदम टाढा रहेको अवस्थामा हामीले उत्कृष्ट पुनरागमन गर्‍यौ, अब यसलाई त्यस्तै अन्त्य गर्न चाहान्छौं,’ पारसले भने, ‘अहिले दुवै टोलीका लागि अवसर छ । राम्रो क्रिकेट खेल्नुपर्छ । राम्रो क्रिकेट खेलेको दुवै टोली फाइनल पुगेका छन् ।’

शरद पनि दुवै टोलीले राम्रो खेलिरहेको स्वीकार्छन् । ‘प्रतियोगिता निकै प्रतिस्पर्धात्मक भयो । अन्तिमसम्म कुन टिम प्लेअफमा पुग्ने निश्चित भएको थिएन्, यसले प्रतियोगितामा थप इच्छा जगाइदियो,’ उनले भने, ‘धनगढीले जसरी पुनरागमन गरेको छ । त्यसले फाइनललाई अझ रोमाञ्चक बनाउँछ भन्ने मलाई आशा छ । मेरो टिमले राम्रो खेलिरहेको छ, अब एउटा अर्को म्याच छ । जुन अझ महत्वपूर्ण छ ।’

प्रतियोगितामा आफनो पहिलो खेल खेल्नेक्रममा पनि यही दुई टोली भिडेका थिए, जसमा विराटनगरले धनगढीलाई २३ रनले पराजित गरेको थियो । पहिला व्याटिङ गरेको विराटनगरले १ सय ३४ रन बनाउँदा जवाफमा आएको धनगढीले ९ विकेट गुमाई १ सय ११ रनमात्र बनाउन सकेको थियो ।

त्यसयता प्रतियोगितामा ठूलै परिवतर्न आइसकेको छ । पहिला व्याटिङ गर्ने टोलीले मात्र जित्ने शृंखलालाई विराटनगरले अत्तरियामाथि ८ विकेटको विजय हात पारि टुंग्याएको थियो । राउन्ड रोबिनमा कञ्चनपुरसँगको खेल विराटनगरले टस जितेर पहिला फिल्डिङ रोज्दै १० ओभर भित्र जितेको थियो । कुनै पनि टोलीले १ सय रन पनि चेज गर्न नसकिरहेको अवस्थामा काठमाडौं गोल्डेन्ससँगको इलिमिनेटरमा धनगढीले १ सय २७ रन विजयी लक्ष्य पाएर बनाएको थियो ।

फाइनल खेल बिहान ११ बजे सुरु हुने हुनाले एसएसपी कार्यलय मैदानको विकेट दुवै टोलीलाई कठिन नबन्न सक्छ । प्रतियोगिताका अघिल्ला खेलहरुमा बिहान शीतले भिजेको विकेटमा खेल्न कठिनाई भइरहेको थियो । बिहान दश बजे सुरु भएको क्वालिफायर्स २ मा धनगढीले बलियो बलिङ मानिएको रुपन्देहीविरुद्व १ सय ७२ रन बनाएको थियो, जुन प्रतियोगिताको दोस्रो उच्च स्कोर थियो ।

‘फाइनलमा पुगेपछि पीचको बारेमा बढी चर्चा गरिरहनु जरुरी छ जस्तो मलाई लाग्दैनँ । हिजो अस्ति जे थियो, हामीले फाइनलमा पीचबाट पनि त्यही आशा गरेका छौं,’ धनगढीका कप्तान पारसले भने, ‘खेलाडीले कसरी खेल्छन र टिमले कुन लय समात्छ फाइनलमा त्यो गणना हुन्छ । जुन ब्याट्सम्यानले मौका लिएर खेलिरहेका छन् । त्यस्ले प्रदर्शन गर्दै आएका छन् । फाइनल पनि व्याटिङ राम्रो गर्ने टोलीले नै जित्ने छ ।’

शरदले सुरुआत देखि नै पीचको बारेमा धेरै चर्चा भएको जनाउदै भने, ‘तीन महिनामा जसरी अजय पाण्डे (क्युरेटर) दाई र आयोजकले यो पीच बनाउन जुन प्रयास गर्नु भयो, त्यो सराहनीय छ । तीन महिना भित्र फ्लयाट पीच बनाउन सजिलो हुदैंन । जुन कन्डिसन छ त्यसमै समाहित गर्नुपर्छ । ठुलो स्कोर पनि बनिरहेको छ । खेल्नै नसकिने विकेट भने होइन । ब्याट्सम्यानले जिम्मेवारी लिएर खेलेको भए अझ रन बन्थ्यो जस्तो मलाई लाग्छ ।’

विराटनगरले पहिलो चार मध्येको तीन खेल जितेर प्लेअफमा स्थान पक्का गरिसकेपछि रुपन्देहीसँगको राउन्ड रोबिनको अन्तिम खेलमा प्रमुख बलर जितेन्द्र मुखियालाई आराम दिएको थियो । त्यो खेलमा पराजित भए पनि विराटनगर क्वालिफायर्समा पुगेको थियो । धनगढीको दोस्रो चरण यात्रा ठिक उल्टो थियो । सुरुको आफ्नो तीन खेल हारेपछि टोली बाहिरिने लगभग स्थितिमा पुग्दा अन्य नतिजा पनि आफू अनुकुल आउदा धनगढीले बाँकी दुई खेल जित्दै प्ले अफमा पुगेको थियो ।

धनगढीले त्यसपछि त्यसपछि प्लेअफमा काठमाडौं र क्वालिफायर्स २ मा रुपन्देहीलाई पन्छाएको थियो । पहिलो चार खेलमा २५ रनमात्र बनाउन सकेका पारसले पछिल्ला तीन खेलमा १ सय २१ रन बनाएका छन् । विराटनगको मुख्य चुनौती पारसको फर्किएको फर्ममै छ । पारसले कुल १ सय ४६ रन बनाइसकेका छन् र सर्वाधिक रन बनाउनेमा उनी शरदभन्दा १ रनले अगाडी रहि दोस्रो स्थानमा छ । धनगढीका अनिल मण्डल १ सय ४९ रनका शीर्ष स्थानमा छन् ।

शनिबार फाइनलमा दुई दाजुभाई आरिफ र आशिफ शेख आमने सामने हुनेछन् । आरिफ धनगढी र आशिफ विराटनगरबाट खेलिरहेका छन् । आरिफले १ सय १४ र आशिफले १ सय रन बनाइसकेका छन् । आरिफले ७ विकेट पनि लिइसकेका छन् । तर प्रतियोगिताको मुख्य आकर्षण पारस र शरदको व्याटिङ नै हुनसक्छ, जसले खेलको नक्शा कुनै बेला पनि बदल्न सक्छ ।

प्रकाशित : वैशाख ८, २०७४ २२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?