३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रधानमन्त्री कप : विजेतालाई २० लाख

काठमाडौं — घरेलु नेपाली क्रिकेटमा वान डेका खेल नभएको तीन वर्ष छुन लागेको स्थितिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) आफै अग्रसर भएको छ, प्रथम प्रधानमन्त्री कप ०७४ गर्न । देशको सर्वोच्च क्रिकेट निकाय निलम्बनको स्थितिमा रहेका बेला परिषद्ले सर्वाधिक पुरस्कार राशिको वान डे प्रतियोगिता जेठ ९ देखि आयोजना गर्न लागेको हो ।

कुल आठ टिमको सहभागिता रहने प्रतियोगिता विजेताले २० लाख रुपैंया जित्नेछ । उपविजेता हुनेले १० लाख रुपैयाँ हात पार्नेछ । 

एक करोड रुपैयाँ हाराहारीको बजेटमा चल्ने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ ले एक लाख तथा बेस्ट ब्याटसम्यान र बलरले ५०–५० हजार रुपैयाँ पाउने छन् । यस्तै इमर्जिङ प्लेयरले २५ र प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ ले पाँच हजार पाउने छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर सुरुमा लिग चरणका खेल हुनेछन् । समूहका शीर्ष दुई स्थान हातपार्ने टिमले सेमिफाइनल यात्रा गर्नेछ । लिग चरणको प्रत्येक खेल विजेताले २५ हजार रुपैयाँ पनि पाउने छ । 

प्रतियोगिताबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले भने, ‘यो प्रतियोगितालाई हामीले ठूलो महत्त्व दिएका छौं । यसपल्ट कम समयको तयारीका कारण केही समस्या हुनसक्छ । आउने वर्षमा यसको आकार अझ ठूला हुनेछ, बजेटदेखि पुरस्कार राशिसम्म पनि । भविष्यमा यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय प्रतियोगिताको पनि स्वरूप दिने योजना छ । नेपाली क्रिकेटका लागि यो कोसेढुंगा प्रतियोगिता हुनेछ ।’ 

प्रतियोगिताका सहभागीमा पाँच विकास क्षेत्रसहित तीन विभागीय टिम हुनेछन् । यो आईसीसी वल्र्ड क्रिकेट लिगअन्तर्गत हङकङविरुद्ध हुने खेलका लागि छनोट चरणको रूपमा पनि रहनेछ । पत्रकार सम्मेलनका अवसरमा नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले यो प्रतियोगिता नयाँ प्रतिभाशाली खेलाडी खोजीका लागि आधार हुने पनि बताए । प्रतियोगिताको मुख्य प्रायोजक रुस्लान क्रिकेट र बैकिङ पार्टनर सिटिजन बैंक छन् । यस्तै व्यवस्थापन भने काठमाडौं क्रिकेट ट्ेरनिङ सेन्टरले सम्हाल्ने छ ।

प्रकाशित : वैशाख २९, २०७४ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?