१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

शान्तिदीप बोकेर धावक सगरमाथातर्फ

माधव ढुंगाना

भैरहवा — मे २९ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरमा हुने एभरेस्ट म्याराथन प्रतियोगिताका लागि सोमबार बुद्ध जन्मस्थल लुम्बिनीको शान्तिदीपको ज्योति त्यसतर्फ लगिएको छ ।

लुम्बिनी र सगरमाथालाई खेल पर्यटनको माध्यमबाट आपसमा जोड्न गत वर्षदेखि थालिएको अभियान निरन्तर बनाउन यस वर्ष पनि एभरेस्ट म्याराथनको आयोजना गरिएको हो । शान्तिदीपको ज्योति लिएर धावक वैकुण्ठ मानन्धर, भारत उडिसाका युवा म्याराथन धावक बुधिया सिंह, अमर सुब्बा (लिम्का बुक अफ रेकर्डस होल्डर एन्ड म्याराथन म्यान अफ सिक्किम) र पूर्व राष्ट्रिय धाविका सहाबानु खान सगरमाथाको आधारशिविरतर्फ लागेका हुन् । 

एडभेन्चर स्पोर्टस नामक संस्थाले विगत १४ वर्षदेखि प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीको नाममा विश्वकै सर्वोच्च स्थलमा तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन आयोजना गर्दै आएको छ । संस्थाका संरक्षक तथा पर्यटन व्यवसायी विक्रम पाँडेले गत वर्षदेखि यो म्याराथनमा लुम्बिनीलाई पनि समेटेका हुन् । 

‘लुम्बिनीलाई अब धार्मिक पर्यटकको मात्र गन्तव्य बनाइनु हुँदैन,’ सोमबार लुम्बिनीमा आयोजित शान्तिदीप प्रज्वलन समारोहमा व्यवसायी पाँडेले भने, ‘लुम्बिनीलाई अब खेल पर्यटनको पनि गन्तव्य बनाइनु जरुरी छ । विश्वको कुल जनसंख्यामध्ये करिब ३० प्रतिशत खेलकुदप्रेमी रहेकाले त्यो हिस्साको केही भाग नेपालले पनि लिन सक्नुपर्छ ।’ 

यसका लागि उनले मायादेवी सुत्केरी मार्गको अवधारणा अगाडि ल्याउँदै कार्यान्वयनमा जुटेका छन् । उनका अनुसार कपिलवस्तुको तिलौराकोट दरबारबाट माइत हिँडेकी मायादेवीले बाटोमा पर्ने लुम्बिनीमा पुग्दा बुद्धलाई जन्म दिएकी थिइन् । बुद्ध जन्मेपछि बुद्धका बुवा राजा शुद्धोधनले भव्य अबिरजात्रासहित मायादेवी र नवशिशु बुद्धलाई विभिन्न स्थानको परिक्रमा गराउँदै तिलौराकोट दरबार फर्काएका थिए । त्यही पदमार्गलाई खेल पर्यटनको माध्यमबाट जोडेर प्रचार गर्न सकिए लुम्बिनी र सगरमाथामा अथाह पर्यटक आउने विश्वास अध्यक्ष पाँडेको छ । 

गत वर्ष सुरु भएको यो अभियान यस वर्ष पनि जेठ १ मा बुद्धजन्मस्थल लुम्बिनीबाट सुरु भएको हो । लुम्बिनी विकाश कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले शान्तिदीपको ज्योति कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरसहितको टोलीलाई हस्तान्तरण गरे । यस क्रममा लुम्बिनीस्थित विभिन्न स्वदेशी तथा विदेशी बिहारका भिक्षुहरूले बुद्ध बन्दना तथा परित्राण पाठ गरेका थिए । 

ज्योतिलाई लुम्बिनीबाट मायादेवी सुत्केरी मार्ग हुँदै कपिलबस्तुको कुदान, तिलौराकोट हुँदै बाणगंगा, देवदह, रामग्रामबाट काठमाडौं स्वयम्भूनाथ, बौद्धनाथ र त्यसपछि सगरमाथा आधारशिविरमा मा २७ मे मा पुर्‍याइने पूर्व धावक वैकुण्ठ मानन्धरले बताए ।
एभरेस्ट म्याराथनमा सयौं विदेशी धावकमाझ शान्तिदीपको ज्योति परिक्रमा हुने हुँदा विदेशी धावकले लुम्बिनी र बुद्धबारे थप जानकारी पाउने भएकाले लुम्बिनी र सगरमाथा जोडिन लागेको हो । 

प्रकाशित : जेष्ठ २, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?