१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेपाल र भारत मुम्बईमा भिड्दै

काठमाडौं — एसियन कप २०१९ छनोटको तयारीमा रहेका नेपाल र भारत अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार मुम्बईस्थित अन्धेरी स्पोर्टस कम्प्लेक्समा प्रतिस्पर्धा गर्दै छन् ।

नेपाल र भारत मुम्बईमा भिड्दै

लेबनानसँगको मैत्री खेल रद्द भएपछि भारतले नेपालसँग खेल्न लागेको हो । यी दुई टिम २०७२ पुसमा त्रिवेन्द्रममा खेलयता पहिलोपल्ट भिड्न लागेका हुन् । त्यसबेला साफ च्याम्पियन बन्ने बाटोमा भारतले नेपाललाई ४–१ ले हराएको थियो । भारतलाई उसकै भूमिमा नेपालले हराएको छैन ।

उन्नाइस पल्टको भेटमा नेपालले तीन जित (पेनाल्टी सुटआउटसहित) हात पारेको छ भने तीन खेल बराबरीमा टुंग्याएको छ । बाँकी खेलको नतिजा भारतको पक्षमा छ ।

‘भारतसँग खेल्न गाह्रो छ । सँधैं गाह्रो हुन्छ । यसपालि पनि सजिलो हुने छैन,’ नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले मुम्बई जानुअघि भनेका थिए । पन्ध्र महिनाअघि टिम सम्हालेका उनको नेतृत्वमा नेपालले भारतसँग पहिलोपल्ट खेल्न लागेको हो । उनले मिडफिल्डर हेमन्त थापामगर र लेफ्ट–ब्याक विमल बस्नेतलाई पहिलोपल्ट राष्ट्रिय टिममा अवसर दिएका छन् । उनीहरूसँगै २० सदस्यीय टिमका गोलकिपर विशाल श्रेष्ठ पनि अन्तर्राष्ट्रिय खेलमा ‘डेब्यू’ गर्ने प्रतीक्षामा छन् ।

फरवार्ड नवयुग श्रेष्ठ, डिफेन्डर देवेन्द्र तामाङ र मिडफिल्डर सुमन लामाले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । त्यसैले प्रशिक्षक कोजीले टिमको पहिलो रोजाइमा केही परिवर्तन हुनसक्छ । फिफा वरीयतामा भारत १ सयौं स्थानमा छ भने नेपाल १ सय ६९ औंमा । तर यी दुई चिरपरिचित प्रतिद्वन्द्वी हुन् । त्यसैले सँधैं रोमाञ्चक खेलको अपेक्षा गरिन्छ ।

नेपालले एसियन कप छनोटको दोस्रो खेल ३० जेठमा यमनसँग हलचोकमा खेल्नेछ । त्यही दिन भारतले बेङ्लोरमा किर्गिस्तानको सामना गर्नेछ । त्यसका लागि दुवैको गल्ती सच्याउने अवसर पनि मुम्बईको खेल बन्नेछ । महादेशीय फुटबलको सर्वोच्च प्रतियोगिताको छनोटको पहिलो खेलमा नेपाल मनिलामा फिलिपिन्ससँग ४–१ ले हारेको थियो । भारतले म्यानमारमाथि १–० को ‘अवे’ जित हात पारेको थियो ।
नेपालका पूर्वप्रशिक्षक स्टेफेन कन्स्टेन्टाइनले सम्हालेको भारतले पछिल्ला पाँचै खेल जितेको छ भने नेपालले तीन जित, एक हार र एक बराबरी नतिजा बेहोरेको छ ।

प्रकाशित : जेष्ठ २३, २०७४ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?