१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

रुसको विजयी सुरुआत

एएफपी

सेन्ट पिटर्सबर्ग — आयोजक रुसले अन्तरमहादेशीय कपमा शनिबार विजयी सुरुआत गरेको छ । फेडोर स्मोलोभको दोस्रो हाफको गोलले प्रतियोगिताको उद्घाटन खेलमा रुसलाई न्युजिल्यान्डमाथि जित दिलाएको हो ।

रुसको विजयी सुरुआत

समूह ‘ए’ को खेलमा रुस पहिलो हाफमै अग्रता लिन पुगेको हो । उक्त गोल न्युजिल्यान्डका रक्षक माइकल बोक्सलको नाममा आत्मघाती दर्ज भयो । गत सिजनमा रसियन लिगको सर्वाधिक गोलकर्ता स्मोलोभले ६९ औं मिनेटमा गोल थपी जित सुनिश्चित गरेका हुन् ।

नयाँ क्रेस्टोभ्स्की रंगशालामा भएको खेल रुसका लागि गजबको प्रेरणा साबित भएको छ । खेल सुरु हुनुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फिफा अध्यक्ष जियानी इन्फाटिनोले सम्बोधन
गरेका थिए ।

समूह ‘ए’ को अर्को खेलमा आइतबार क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगल र मेक्सीको भिड्नेछन् । रुसले अबको खेल पोर्चुगलसँग बुधबार मस्कोमा खेल्नेछ । आउने वर्ष रुसले आयोजना गर्ने विश्वकपको तयारीको हैसियत प्रस्तुत गर्ने मौकाका रूपमा यो प्रतियोगितालाई लिइएको छ ।

रुसमा हुने विश्वकपका सन्दर्भमा दंगा र सुरक्षालाई चिन्ताको विषयका रूपमा चर्चा गरिंदै आएको छ । अन्तरमहादेशीय कप रसियन प्रशिक्षक स्टानिस्लाभ चेर्चेस्कोभ र उनको टोलीका लागि पनि आफ्नो क्षमताको संकेत गर्ने अवसर हो । तर न्युजिल्यान्डभन्दा धेरै कडा प्रतिद्वन्द्वी मानिन्छन् पोर्चुगल र मेक्सिको । ‘मलाई न्युजिल्यान्ड टोली मन पर्‍यो तर हामीले उनीहरूलाई क्षमताअनुसार खेल्न दिएनौं अनि हाम्रो विजय भयो,’ चेर्चेस्कोभले भने ।

क्रेस्टोभ्स्की रंगशाला निर्माणाधीन अवस्थामै चर्चित रह्यो । यो योजना गरिएभन्दा ढिलो तयार भयो, बजेट पनि बढी लाग्यो । खेल्ने मैदानको गुणस्तरका विषयमा पनि धेरै समस्या देखिए ।

जुलाई २ मा फाइनल खेल आयोजना हुने यो मैदानमा शनिबारको खेल दौरान कुनै समस्याचाहिँ देखिएन । तर थुप्रै सिट खाली देखिनुचाहिँ नमज्जा लाग्दो थियो ।

चेर्चोस्कोभको टोलीले न्युजिल्यान्डको औसत टोलीलाई सुरुदेखि नै दबाबमा पार्न सफल भयो । तर आधा घण्टा समय बित्नुअघि मात्र रुसको आक्रमण पंक्तिको प्रयास सफल भयो । कमजोर न्युजिल्यान्ड रक्षापंक्तिबाट फुुत्केको बलमा अलेक्जेन्डर येरोखिनले दिएको पासलाई पोलोजले डेनिस ग्लुसाकोभको दिशामा मोडिदिए ।

ग्लुसाकोभले वान टु वानमा ल्फिक गर्दै पोस्टको दिशा दिंदा न्युजिल्यान्ड रक्षक बोक्सलले गोललाइनमै स्लाइडमा क्लियर गर्न खोज्दा गोल भयो । ‘मलाई लाग्छ पहिलो गोल मैले गरेको हुँ । त्यो कसको नाममा गयो भन्ने कुरा गौण हो,’ ग्लुसाकोभले भने, ‘हामी अझ राम्रो खेल्न सक्छौं । हामीले धेरै गल्ती पनि गर्‍यौं । अझ मिहिनेत गर्नुपर्ने देखियो ।’

न्युजिल्यान्ड गोलरक्षक मारिनोभिकले दोस्रो हाफमा निकै राम्रा बचाउ गरे । उनी जर्मनको तल्लो लिगबाट खेल्छन् । उनले पोलोज र येरोखिनका प्रयासलाई विफल पारे ।

रसियाले दोस्रो गोल गर्दा राम्रो मुभ देखायो । स्मोलोभले सामेडोभलाई दायाँतर्फ पास फाले । सामेडोभको क्रस भेट्न फेरि बक्समै आइपुग्दा उनलाई कसैको छेकवार थिएन । सहजै गोल गरे । ‘पक्कै पनि पहिलो खेलमा हामी यो भन्दा राम्रो नतिजा निकाल्न चाहन्छौं । हामी हारे पनि टिमले राम्रो स्पिरिट देखायो,’ न्युजिल्यान्डका प्रशिक्षक एन्थोनी हडसनले भने ।

प्रकाशित : असार ५, २०७४ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?