आईसीसीले भन्यो–एपीएल अमान्य

विनोद पाण्डे

काठमाडौं — वैधानिकताकालाई लिएर प्रतियोगिता सुरु हुनुअघि नै विवादमा तानिएर शंकास्पद रूपमा नेपाल भित्रिएको एसियन प्रिमियर लिग (एपीएल) ट्वान्टी–२० लाई विश्व क्रिकेटको सर्वोच्च संस्था (आईसीसी) ले अमान्य घोषित गरेको छ । फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेको एपीएल सोमबारदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भइरहेको छ ।

आईसीसीले भन्यो–एपीएल अमान्य

प्रतियोगितामा इन्डियन स्टार्स, नेपाल स्ट्रोम, बंगलादेश टाइगर्स, अफगानिस्तान बुल्स, श्रीलंकन लायन्स र दुबई वारियर्सले फ्रेन्चाइज टोलीका रूपमा प्रतिस्पर्धा गर्दै छन् । भारतको चन्डीगढस्थित अल्टिमेट स्पोर्ट्स म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगिताका सबै खेलको भारतीय टेलिभिजन च्यानल सोनी सिक्सले प्रत्यक्ष प्रसारण गरिरहेको छ । 

जुलाई ११ मा नेपाली सञ्चार माध्यमलाई बोलाउँदै एकाएक एपीएलको लन्च गरिएको थियो । त्यसको भोलिपल्ट अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का सिनियर क्रिकेट अप्रेसन म्यानेजर क्लाइभ हिचककले आफ्ना सदस्य राष्ट्रलाई लेखेको (कान्तिपुरलाई समेत प्राप्त) पत्रमा भनिएको छ, ‘आईसीसी कार्यक्रम स्वीकृति नीतिअन्तर्गत यो एपीएल नपर्ने जानकारी गराउँछौं ।’ अप्रिल १० मा एसोसिएट सदस्य राष्ट्रहरूले आफ्ना खेलाडीलाई एपीएल आयोजकले खेल्न प्रस्ताव राखेपछि आईसीसीसँग यसबारे सोधखोज गरेका थिए । एपीएल लन्च भएको भोलिपल्टै जुन १२ मा आईसीसीले एपीएल अनधिकृत प्रतियोगिता भएको जनाएको हो । आईसीसीले आफ्ना सबै सदस्य राष्ट्रलाई खेलाडीलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिनु भनेको छ । त्यसको मतलब खेलाडीलाई आईसीसीको सदस्य राष्ट्रले 
स्वीकृति नदिनु हो । 

प्रतियोगिताको विजेताले ४० लाख नेपाली रुपैयाँ, उपविजेताले १६ लाख र तेस्रो हुनेले ८ लाख पाउने भनिएको छ । तर फ्रेन्चाइज टोलीका मालिकहरू को हुन् र कहाँका हुन् भनेर आयोजकले खुलाएको छैन । आयोजक प्रमुख आरएस डन्डीवालले नेपाल स्ट्रोमका मालिक न्युजिल्यान्डका म्याथ्यु लिम रहेको जनाएका थिए । लिमको इनकोर इन्फ्रास्टक्चर प्रालि कम्पनी छ । त्यसबाहेक उनी र अन्य मालिकबारे केही बताइएको छैन । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रतिस्पर्धा सुरु हुनुअगावै प्रतियोगिताको अस्तित्वबारे प्रश्न उठाएको थियो । नेपाली राष्ट्रिय टोलीका कप्तान एवं सिप्यानका महासचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको थियो, ‘प्रतियोगिता हुनु राम्रो हो, तर हामीलाई यसबारे खासै जानकारी छैन ।’ ‘नेपाली खेलाडी र अफिसियल यसमा सहभागी हुनेछैनन् । यो प्रतियोगितालाई आईसीसी र एसियाली क्रिकेट परिषद्को स्वीकृति पनि छैन । प्रतियोगिता पारदर्शी रूपमा हुनुपर्छ तर हामीलाई फ्रेन्चाइज र अन्य आर्थिक पक्षबारे थाहा छैन,’ विज्ञप्तिमा भनिएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एपीएल आफूले आफ्नो प्राविधिक टोलीसँग बुझेर आयोजना गर्न स्वीकृति दिएको बताएका थिए । त्यसबापत आयोजकले प्रतिदिन कीर्तिपुर मैदानको भाडा शुल्क २५ हजार रुपैयाँ बुझाउनुपर्ने राखेप सदस्यसचिव केशवकुमार विष्टले बताएका थिए । एपीएल नेपालमा आयोजना भएको बारे आईसीसीले पत्रमा भनेको छ, ‘आईसीसीले नेपालमा आफ्नो सम्पर्कमा रहेकासँग समन्वय गरिरहेको र यस विषयमा उनीहरूलाई पनि निकै कम जानकारी रहेको पाइएको छ । तर राष्ट्रिय खेलकुद परिषद् संलग्न रहेका कारण उसले नै एपीएल आयोजकलाई त्रिवि क्रिकेट मैदान प्रयोग गर्न अनुमति दिएको देखिन्छ ।’ एपीएल आयोजकले राखेपसँग सुरुमा स्वीकृति लिँदा एसियन क्रिकेट प्रिमियर लिग (एसीपीएल) का रूपमा लिए पनि नेपाल भित्रिँदा प्रतियोगिता एसियन प्रिमियर लिग बनेर आएको थियो । त्यसपछि राखेपले आयोजकलाई पुन: एसीपीएल राख्न भने पनि अधिकांश स्थानको ब्रान्डिङमा एपीएल नै भनेर प्रतियोगिता सञ्चालन भइरहेको छ । 

नेपाल क्रिकेट संघ आईसीसीबाट निलम्बनमा रहेको अवस्थामा नेपाली क्रिकेट सर्वोच्च निकायविहीन रहेको छ । नेपालका प्रमुख खेलाडी यसमा सहभागी छैनन् । नेपालका ५ स्थानीय खेलाडी मात्र सहभागी छन् । अक्सनबाट उनीहरू नेपाल स्ट्रोममा छानिएका थिए । आयोजकले पूर्वओपनिङ ब्याट्सम्यान नेपाल स्ट्रोमको आइकोनिक खेलाडी सञ्चार माध्यमसामु प्रस्तुत गरेको थियो । भूपेन्द्र थापा १ लाख, सिद्धान्तराज सिंह ७० हजार तथा अमरसिंह राउटेला र राजवीर सिंह ६०/६० हजार भारु बोली लगाउँदै नेपाल स्ट्रोमले आफ्नो टोलीमा राखेको आयोजकले जनाएको थियो । आइकोनिक खेलाडीको भाउ त्योभन्दा बढी हुने भए पनि आयोजकले रकम खुलाएका थिएनन् । भूपेन्द्रले पहिलो खेलमै अविजित अर्धशतक बनाउँदै टोलीलाई जिताइसकेका छन् ।

इन्डियन स्टार्सको कप्तानी श्रीलंकाका पूर्वखेलाडी तिलकरत्ने दिलसानले, नेपाल स्ट्रोम यूएईका ब्याट्सम्यान स्वप्निल पाटिलको नेतृत्वमा हुने, बंगलादेश टाइगर्सको कप्तानी अल अमिन हुसैन, श्रीलंकन लायन्सको कप्तान फरवेज महारुफ, दुबई वारियर्सका कप्तान अब्दुल शकुर र अफगानिस्तान बुल्सको कप्तान राना नावेद उल हसन रहेको आयोजकले जनाएका थिए । त्यसमा दक्षिण अफ्रिकाका रुस्ती थेरोन श्रीलंकन लायन्सको, इंग्ल्यान्डका डिमिट्री मास्केरान्होज नेपाल स्ट्रोमको, दक्षिण अफ्रिकाका जस्टिन केम्प बंगलादेश टाइगर्सको, पाकिस्तानका पूर्वइमरान नाजिर अफगानिस्तान बुल्सको, भारतका पूर्वविकेटकिपर अजय रात्रा इन्डियन स्टार्सको, जिम्बावेका चाल्र्स कोभेन्ट्री दुबई वारियर्सको मेन्टरका रूपमा रहने आयोजकले बताएका थिए ।

अक्सनपछि कप्तानका रूपमा श्रीलंकाका दिलसान, पाकिस्तानका नाजिर र राना नावेद लगायतलाई आयोजकले पत्रकार सम्मेलनमा प्रस्तुत गरेको थियो । तर खेल सुरु हुँदा पूर्व तीव्र बलर राना नावेद र बंगलादेशका अमिन हुसैनबाहेक प्रतियोगितामा कोही खेलेका छैनन् र आयोजकले भनेको अन्य परिचित अनुहार कीर्तिपुर मैदानमा देखिएका पनि छैनन् । इंग्ल्यान्डका मास्केरान्होज नेपाल स्ट्रोमको मेन्टर भने पनि भारतका अतुल वासनसँगै टेलिभिजन लाइभ कमेन्ट्रीका क्रममा दक्षिण अफ्रिकाका केम्पले आफू नेपाल स्ट्रोमको मेन्टर रहेको र आफ्नो टोलीको पहिलो खेलबाट आफू उत्साहित रहेको बताएका थिए । ५ नेपाली खेलाडीमध्येका राजवीर सिंहले सोमबार नै एपीएल त्यागिसकेका छन् । गत वर्षको जनवरीमा नेपालबाट बंगलादेशमा आईसीसी यू–१९ विश्वकप खेलेका राजवीरले पत्याउनै नसकिने हिसाबमा एपीएल अगाडि बढेकाले आफूले नाम झिकेको बताए । ‘हाम्रो टिमको प्रशिक्षक, कप्तान को हो केही थाहा हुँदैन । पहिलो दिन कप्तान स्वप्निल पाटिल, दोस्रो दिन हसिब अमजद र अनि तेस्रो दिन स्टुवार्ट म्याकगिल क्याप्टेन भनियो । प्रतियोगिता अगाडि सुरुमा अभ्यास, मिटिङ केही छैन,’ राजवीरको आरोप छ, ‘डान्डीवाल आफैं मनलाग्दी गरिरहेका छन् ।’

‘म भर्खर यू–१९ बाट आएको खेलाडी हुँ, यसमा आईसीसी र एसियाली क्रिकेट परिषदको केही भूमिका नदेखेपछि मेरो करियरका बारेमा सोचेर नखेलेको हुँ । मलाई आफ्नो करियर अगाडि बढाउनु छ,’ उनले भने, ‘हामी जसरी क्रिकेट खेल्छौं, यसमा त्यस्तो केही देखिनँ । यसको प्रतिफल के हो मैले बुझिनँ ।’ डन्डीवालले यूएईको शारजहाँमा हुन लागेको प्रतियोगिता नेपालमा सारिएको र स्वामी चीनमायानन्दाले नेपालमा प्रतियोगिता ल्याउन भूमिका खेलेको जनाएका थिए । एसियाका प्रमुख क्रिकेट खेल्ने राष्ट्रमा पाकिस्तानको मात्र टिम रहेको छैन । पाकिस्तानी टिमलाई राख्दा ब्रोडकास्ट पार्टनर सोनी सिक्सलाई भारतबाट स्वीकृति लिन अप्ठ्यारो हुने भएपछि पाकिस्तानी प्यान्थर्सको स्थानमा अफगानिस्तान बुल्सलाई लिएको आयोजकको भनाइ थियो । 

निजी क्षेत्रले गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामा ठूलो रूपमा खेल मिलेमतो हुँदै गरेकाले आईसीसीले आफ्ना सदस्यता राष्ट्रका खेलाडीलाई आधिकारिक प्रतियोगितामा मात्र खेल्न दिने गरेको छ । मान्यता नपाएको प्रतियोगितालाई विद्रोहीका रूपमा हेरिन्छ । एपीएलमा खेल्ने भनेर आयोजकले घोषणा गरेका परिचित अनुहारहरूमा प्राय: अन्तर्राष्ट्रिय खेल टुंग्याइसकेका खेलाडी छन् । 

प्रकाशित : असार ९, २०७४ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?